मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दुई अपहरणकारीलाई प्रहरीले गिरफ्तार गरेर मारेको खुलासा

दुई अपहरणकारीलाई प्रहरीले गिरफ्तार गरेर मारेको खुलासा


काठमाडौँ । काठमाडौँको सूर्यविनायकमा ११ वर्षीय बालक निशान खड्काको हत्यामा संलग्न भनिएका गोपाल गोपाल तामाङ र अजय तामाङलाई प्रहरीले इन्काउन्टरको नाममा गिरफ्तार गरेर मारेको खुलासा भएको छ । 
 
महानगरीय अपराध महाशाखाको टोलीले दुई अपहरणकारीलाई प्रहरी इन्काउन्टरमा मारिएको जनाए पनि सूर्यविनायकस्थित पाइलट बाबाको आश्रम जाने जंगलमा भएको ‘इन्काउन्टर’ नै गलत भएको स्थानीयले बताएका छन् ।
 
महाशाखाको टोलीले निशानको हत्यामा संग्लन भनिएका गोपाल र अजयको दोहोरो मुठभेडमा ज्यान गएको दाबी गरेको छ । तर, महाशाखाले सानोठिमीस्थित कोठाबाटै अजय र गोपाललाई ९९३२ नम्बरको रातो गाडीमा हालेर जंगलतर्फ लगेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । 
 
स्थानीय श्याम लावटको घरमा मासिक ५ हजार रुपैयाँ भाडा तिरेर बस्दै आएका गोपाल र अजयलाई सादा पोशाकमा आएको प्रहरीको टोलीले कोठाभित्रै कुटपिट गरी आँखामा पट्टी बाँधेर लगेको त्यहाँका दर्जनौँ बासिन्दाले प्रत्यक्ष देखेका थिए ।  
 
अपहरणकारीको डेराको घरसँगैको कोठामा बस्दै आएका स्थानीय प्रसन्न रिमालका अनुसार उनीहरु दुवैलाई प्रहरीले बाहिरबाट ल्याएको देखेको र कुटपिट गरेको आवाज सुनिएको उनले बताए । ‘कुटपिट गरेको देखेर सोध्दा प्रहरीले हामी प्रहरी हौँ, यिनीहरु अपरहणकारी हुन्’, भनिएको उनले बताए । 
 
प्रहरीले कुटपिट गरिरहँदा लावटको घरबाहिर सयौँ स्थानीय जम्मा भइसकेका थिए । महानगरीय अपराध महाशाखाको टोलीले लावटकै निर्माणाधिन घरको आडमा गाडिएको अवस्थामा बालकको शव फेला पारेको थियो । शव पनि गोपाल र अजयले नै देखाएको हुनसक्ने स्थानीयको भनाइ छ । 
 
रिमाल भन्छन्, ‘एकजनाले निर्माणधिन घरको आडमा कसैले खनिरहेको देखेँ, किन खनेको भनेर सोध्दा हामी प्रहरी हौँ, हल्ला नगर्नुस् पछि बर्दीवाला प्रहरी आए काम गर्न गाह्रो हुन्छ भने ।’
 
सोही घरमा बस्दै आएका निरज पौडेलले ९९३२ नम्बरको रातो गाडीमा उनीहरुलाई लगिएको किटान गरे । उनका अनुसार रातो गाडीसहित एउटा निलो रंगको गाडी र ३–४ ओटा मोटरसाइकलमा महाशाखाको टोली लावटको घरमा पुगेको थियो । अन्य स्थानीयले पनि प्रहरीले अजय र गोपाललाई बिहान अन्दाजी सवा दश बजेको समयमा लावटकै घरबाट लगेको बताउँछन् । 
 
स्थानीयको भनाइले प्रहरीले दोहोरो मुठभेडमा ‘इन्काउन्टर’ गरेको नभई गिरफ्तार गरेरै मारेको तथ्य खुलासा भएको छ । सबैले देख्नेगरी घरबाट पक्राउ परेका गोपाल र अजयलाई कानुनी कारवाही गर्नुको साटो मुठभेड भनेर इन्काउन्टर गर्नुले प्रहरी नियतमा शंकामात्रै होइन, कानुनी राज्यको उपहाससमेत भएको देखिन्छ ।