मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

रत्ननगरको भानुचोकमा दुर्घटना, चार जनाको मृत्यु, १७ जना घाइते

रत्ननगरको भानुचोकमा दुर्घटना, चार जनाको मृत्यु, १७ जना घाइते


चितवन । पूर्वी चितवनको रत्ननगर –१० स्थित भानुचोकमा मंगलबार राति भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ । 
 
पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको ना५ख ५९४१ नंको ट्रक र काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको मकालु यातायातको ना६ख १७४१ नंको बस एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । सो दुर्घटनामा १७ जना घाइते भएका छन् । 
 
पूर्वपश्चिम राजमार्गको भानुचोकमा भएको उक्त दुर्घटनामा परी मृत्यु हुनेमा रौतहट चपुरका ट्रक चालक ३४ वर्षीय मोहन घिसिङ, सोही ठाउँका ट्रकका सहचालक ३० वर्षीय बुद्धिमान लामा, बसमा सवार काठमाडौँ थानकोटका ४८ वर्षीय विष्णुप्रसाद थापा र ताप्लेजुङ खुम्लिङ नगरपालिका– १ का ४२ वर्षीया तारा बराल रहेको प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । 
 
इँटा बोकेर फर्किँदै गरेको ट्रक बससित ठोक्किएको थियो । मृतक चारै जनाको उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये १३ जनाको पुरानो मेडिकल कलेजमा तथा चार जनाको चितवन मेडिकल कलेमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 
सो दुर्घटना अत्यधिक गतिका कारण भएको स्थानीयवासी गणेश पौडेलले बताए । राति नै घटनास्थल पुगेका पौडेले बस र ट्रकको आधा भाग नै ध्वस्त भएकोले तीव्र गति नै कारण हुन सक्ने बताए । 
 
सडकमा छाडिएको साँढेलाई छल्नेक्रममा दुर्घटना भएको बताइएको छ । अत्यधिक गतिका कारण बस र ट्रक दुवै अनियन्त्रित हुन गई दुर्घटना भएको हो ।