राजनीति / समाज

देशमा लगानीका लागि वातावरण सुरक्षित : प्रचण्ड

69 पटक पढिएको

7th Aug 2018, Tuesday | २०७५ श्रावण २२, मंगलवार ०८:४७
पर्सा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक भित्र लगानीका लागि सुरक्षित वातावरण छ भन्ने सन्देश दिनुपर्ने बताएका छन् । 
 
जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले लगानीकर्ताको पूँजीको सुरक्षा, उद्योगको सुरक्षा, नाफा कमाउने स्वतन्त्रतालाई सुरक्षित गर्नुपर्ने बताए । 
 
राज्यले लगानीको सुरक्षा गर्छ भन्ने विश्वास नभएसम्म ठूला वैदेशिक लगानी नेपाल भित्र्याउने तथा समृद्धि हासिल गर्ने विषय कृतिम कुरा मात्र हुने भन्दै उनले मुलुकभित्र रहेका लगानीकर्तालाई राज्यले ढुक्क बनाउनुपर्ने बताए । 
 
व्यापारीले घुस खुवाउनु पर्ने अवस्थाको अन्त्य र व्यापारीमाथि रहेको अनावश्यक झन्झट अन्त्य नभए देशभित्रको पूँजीसमेत पलाएन हुने जोखिम बढ्ने भन्दै अध्यक्ष प्रचण्डले भ्रष्टाचारको अन्त्य र लगानीमैत्री वातावरण बनाएरमात्रै विकास तथा समृद्धिको लक्ष्य हासिल गर्न सकिने धारणा राखे । 
 
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले उद्योगी व्यपारीलाई ढुक्क भई लगानी गर्ने वातावरण सरकारले निर्माण गर्नुपर्नेमा जोड दिए । 
 
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले एउटै वस्तुमा दोहोरो तथा तेहरो कर लाग्न नदिने संघीय सरकारले धारणा बनाएको जानकारी दिँदै करका विषयमा विवाद गर्नुपर्ने अवस्था छैन भने । 
 
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सकरारले व्यापारमैत्री कानून तथा वातारण निर्माण भए मुलुकको विकास र समृद्धि  हासिल गर्न निजी क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरे । रासस