मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

दलालले चौथो श्रीमती बनाउने आश्वासन दिएपछि…

दलालले चौथो श्रीमती बनाउने आश्वासन दिएपछि…


भीमदत्तनगर । डडेल्धुराकी २२ वर्षीया एक युवतीलाई श्रीमान्ले पाँच वर्षदेखि वास्ता गर्न छाडेपछि बिचल्लीमा परिन् । कलिलो उमेरमै विवाह गरेकी ती युवतीलाई श्रीमान्ले छाडेपछि मानव बेचबिखनमा संलग्न समूह(दलाल)को फन्दामा परिन् । 
 
ती युवतीको अवस्थालाई नजिकबाट नियाल्दै आएका डडेल्धुरा अमरगढी नगरपालिका–८ का रुपेन्द्र पाण्डेयले अनेकौँ प्रलोभनमा पारेर भारत लग्दैगरेको अवस्थामा कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट उद्दार गरिएपछि रहस्य खुलेको हो । पाण्डेयले युवतीलाई कैलालीको धनगढीमा १२ कोठे घर र अन्य सम्पतिसमेत छ भन्दै फकाएर भारत लगिरहेको अवस्थामा प्रहरीको फन्दामा परेका हुन् । 
 
कञ्चनपुर प्रहरी हिरासतमा रहेका पाण्डेयले युवतीलाई सामान किन्ने बहानामा दिल्ली लैजाँदै गड्डाचौकीमा पक्राउ परेका हुन् । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि गड्डाचौकीमा स्थापना गरिएको ‘थ्री एन्जल्स नेपाल’ संस्थाले गत असार २३ गते ती युवतीको उद्धार गरी आफ्नो संरक्षणमा राखेको छ । 
 
“युवतीका श्रीमान् पनि भारतमै लामो समयदेखि मजदुरी गरिरहेका रहेछन्”, थ्री एन्जल्स नेपाल कञ्चनपुरका इन्चार्ज बेलु नेपालीले भनिन् । आर्थिक अवस्था निकै कमजोर भएपछि ती युवती दलाल पाण्डेयको प्रलोभनमा परेकी खुलेको छ । पाण्डेयले ती युवतीलाई विवाह गर्ने प्रलोभन दिएको नेपालीले बताइन् । विवाहपछि भारतमै बस्दै आएकी युवतीका श्रीमान् अहिलेसम्म सम्पर्कमा आएका छैनन् । 
 
लामो प्रयासपछि मानव बेचबिखनमा सक्रिय पाण्डेयलाई डडेल्धुराको पोखराबाट प्रहरीले पक्राउ गरिएको हो । “युवतीको गहनासमेत बेचेर श्रीमती भन्दै भारत लगिरहेको थियो,” थ्री एन्जल्स नेपालकी इन्चार्ज नेपालीले भनिन् । उनलाई सोधपुछका क्रममा नियन्त्रणमा लिएपछि अभियुक्त पाण्डेय भारतको बनबासातर्फ भागेका थिए । उनी भारतको झुलाघाट हुँदै बैतडीबाट डडेल्धुरा फर्किएका थिए । 
 
प्रहरीको सहयोगमा पक्राउ गरी अहिले पाण्डेयमाथि कानूनी कारबाही अघि बढाइएको छ । “अनुसन्धानका क्रममा पाण्डेयको घरमा तीनवटी श्रीमती रहेको खुलेको छ,” नेपालीले भनिन्, “दुईवटा श्रीमती घरमै छन्, अर्की श्रीमती बाहिर रहेको पाइएको छ ।” 
 
थ्री एन्जल्सले उद्धारपछि ती युवतीलाई आयमूलक सीपका लागि केन्द्रीय कार्यालय पोखरा पठाउने तयारी गरेको छ । “पोखरामा सीप सिकेर केही काम गर्ने योजनामा छु,” ती युवतीले भनिन् । पश्चिमीनाका गड्डाचौकीबाट पछिल्लो समय रोजगारीका लागि तेस्रो मुलुक जाने महिलाको संख्या बढ्दै गएको छ । घरबाट विभिन्न बहना बनाई दलालको सम्पर्कमा आएर सो नाकाबाट महिला सोझै दिल्ली पुग्ने गरेका छन् । रासस