मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

फुजेलका अधिकारी हत्याको बहस सुरू

फुजेलका अधिकारी हत्याको बहस सुरू


भरतपुर । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको बहस आइतबार सुरू भएको छ । 
 
जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासमा वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता परमेश्वर पराजुलीबाट बहस सुरू भएको अदालतका स्रेस्तेदार गहेन्द्र पन्तले जानकारी दिए । 
 
कृष्णप्रसादको विसं २०६१ जेठ २४ मा अपहरणपछि हत्या भएको थियो । प्रवेशिका परीक्षा दिएर पूर्वी चितवनको जयमंगलामा हजुरबुबा भेट्न आएका समयमा अपहरणपछि रत्ननगरको बकुलहरमा उनको हत्या भएको थियो । घटनाको जिम्मा तत्कालीन माओवादीले लिएको थियो ।
 
मृतकका बाबु नन्दप्रसाद र दाजु नुरप्रसादले हत्यारा खोजेर कारबाही गर्न माग गर्दै तत्कालै जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका थिए । 
 
लामो समयसम्म कारबाही नभएपछि कृष्णप्रसादका बुबा नन्दप्रसाद र आमा गंगामाया अनशनमा बसेका थिए । उनीहरु अनशनमा बसेको लामो समयपछि प्रहरीले २०७० साउनमा सो उजूरीबारे अनुसन्धान सुरू गरेको थियो । उजूरीमा किटिएकामध्ये केहीलाई पक्राउ गरी अनुसन्धान गरेर मुद्दा चलाउन प्रयास भए पनि मुद्दा दर्ता हुनसकेको थिएन । 
 
नन्दप्रसाद र गंगामायाले अनशन जारी नै राखेपछि अनुसन्धान पूरा भई २०७० चैत ३० गते चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । सो घटनामा १३ प्रतिवादी छन् । सबैलाई जन्मकैद सजाय माग गरिए पनि प्रमाण नपुग्ने भन्दै अदालतले दुई जनालाई धरौटीमा छाडेको थियो । 
 
सो प्रारम्भिक आदेशपछि अन्य अभियुक्तले पनि फरक फरक समयमा उपस्थित भएर अदालतमा बयान दिएका थिए । बयान दिन आएकामध्ये केही साधारण तारेख र केही सामान्य धरौटीमा छुटेका थिए । सो मुद्दाका एक अभियुक्त रुद्र आचार्य विदेशमा छन् । उनी अदालतमा अझसम्म उपस्थित भएका छैनन् । 
 
चितवन जिल्ला अदालतको प्रारम्भिक आदेशविरुद्ध तत्कालीन पुनरावेदन अदालत हुँदै सर्वाेच्च अदालतमा समेत निवेदन पुगेपछि एक अभियुक्त छविलाल पौडेललाई थुनामा राख्नुपर्ने आदेश भएको थियो । सोही आदेशानुसार गत असार २४ गते उनी सर्वाेच्च अदालतसमक्ष हाजिर भएका थिए । अदालतले सोही दिन उनलाई डिल्लीबजार कारागार चलान गरेको थियो । 
 
सो मुद्दा हालसम्म पाँच न्यायाधीशले हेरिसकेका छन् । गोरखा फुजेल बस्ने सीता अधिकारी, छविलाल, रामप्रसाद अधिकारी, अजीव भनिने परशुराम पौडेल, हिमलाल अधिकारी, मेघनाथ पौडेल, विष्णु तिवारी, रुद्र आचार्य, कालीप्रसाद अधिकारी, भीमसेन भनिने भीष्मराज पौडेल, जानुका पौडेल र सुभद्रा तिवारीलाई विपक्षी बनाई चितवन अदालतमा मुद्दा दायर भएको हो ।