जीवन एक - मोड अनेक

भाषा, संस्कृति र समुदायप्रति हुरुक्क यी नेपाली

2584 पटक पढिएको

हिमालयखबर | 8th Aug 2018, Wednesday | २०७५ श्रावण २३, बुधवार ०६:१८
(जीवन अचम्मको छ । साधारण लाग्छ हेर्दा । तर बुझ्दै जाँदा यो गहिरो र रहस्यमयी  लाग्छ । सामान्य लाग्ने मानिसका पनि जीवनमा अनेक असमान्य घटना घट्छन् । कुनैबेला कसैको जीवनका ती अनुभवहरू अरुकालागि उदाहरण र प्रेरणा श्रोत बन्न सक्छन् । मानिसको जीवन त एउटै हुन्छ तर त्यहाँ धेरै मोडहरू पार गर्नु पर्ने हुन्छ । जीवनभित्र संघर्षका कथाहरू हुन्छन् । खुशी र उन्मादका क्षणहरु आउँछन् । आफूले कल्पनै नगरेका सफलताका मोडहरू फेला पर्छन् । यिनै सेरोफेरोमा हामीले, प्रवासमा बसेर समयसँग कुस्ती खेल्दै जीवनको यात्रालाई डोर्याइरहेका नेपालीहरूको खुशी अनि कथा व्यथा प्रस्तुत गर्ने  गरेका हौ  - सम्पादक )
 
वाशिङ्टन राज्यको सुन्दर शहर सियाटल । त्यहाँबाट पन्ध्र माइलको दूरीमा लेक फरेष्ट पार्क, प्राकॢतिक छटाले रम्रिएको स्यानो शहरको १७१७१ बोथेल वे शपिङ्ग सेन्टरमा अवस्थित The Everest Kitchen - त्यहाँ पुग्दा अन्दाजि दिउँसोको दुई बजिसकेको थियो ।  मसंगै पत्रकार मित्रहरु गौतम दाहाल, सुजन पण्डित र मेरी श्रीमति विटु केसी भित्र पस्यौं । बिहान सबेरै देखिको घुमघामले थकान र भोक पनि संगसंगै पस्यो हामीसंग । रेष्टुँरा भित्र नेपाल सम्झाउने दॣश्यहरु आँखा अघि थिए । मूल ढोकाबाट छिर्दै गर्दा बुध्द मूर्तिले स्वागत गर्यो । 
 
भित्ताभरी नेपाल थियो । कतै अन्नपुर्ण हिमाली शॣंखला, कतै लुम्बिनी, कतै थान्का चित्रहरु अनि कतै नेपाली स्वादको वासना ! 
त्यो सुन्दर रेष्टुँरा, नेपालीपन र आत्मियतासंगै बोकेर हामीलाई बिहानैदेखि सियाटल घुमाउन निस्केका मोहन गुरुङको हो । उनको सौजन्यले सियाटलका घुम्नै पर्ने केही स्थान हामी पुग्यौं । त्यसपछि उनकै आग्रहमा स्वादिलो नेपाली खाना खान हामी सबै त्यहाँभित्र पसेका थियौं । भित्र पसेका मात्रै थियौं एकजना शालीन महिलाले हार्दिक स्वागत गरिन् । उनी मोहन गुरुङकि अर्धाङ्गिनी होनीमाया गुरुङ थिइन् । 
 
भोक त मलाई पनि नलागेको हैन तर मेरो ध्याउन्न भने मोहनको जीवन यात्राका मोढहरू बुझ्नतिर थियो । उनको नाम सुनिराखेको , उनलाई बेलाबेलामा खबरहरुमा पढिराखेको हुनाले उनको बारेमा अझै जान्ने उत्सुकता मभित्र थियो । मेरो यो स्तम्भकोलागि नयाँ उपयुक्त पात्रको खोजीमा थिएँ म , सियाटलमा फेला पारेँ मोहन गुरुङलाई । 
 
खाना खायौं सबैले । मलाई भने अर्कै हुटहुटी थियो ।  खाना खाइसकेर चुठेको चिसै हातमुख लिएर मोहनसंग कुराकानी गर्न उनको स्यानो अफिस कोठाभित्र पस्यौं हामी । मसंगै गएका साथीहरु भने श्रीमति गुरुङसंग गफ गर्नतिर लागे । 
 
मोहनको बारेमा धेरै बुझ्नु थियो । उनका उकाली ओराली र हरेक मोडहरूलाई नजिकबाट नियाल्नु थियो । उनीसंग कुरा गर्दै जाँदा मलाई लाग्यो - यिनी त व्यापार व्यवसाय गर्ने मानिस हैनन् , सरल र इमान्दार सामाजिक अभियन्ता रहेछन् । आफ्नो समुदाय र समाजकाप्रति समर्पित एउटा गतिलो दॢष्टान्त रहेछन् । रेष्टुँरा त उनको जीवन यापनको एउटा माध्यम मात्रै रहेछ भन्ने मैले बुझेँ । 
 
स्याङ्ग्जादेखि सियाटलसम्म 
नेपालको पश्चिमी जिल्ला स्याङ्ग्जाको गैरीस्वाँरा गाउँमा सामान्य परिवारमा जन्मिएका मोहन गुरुङको प्रारम्भिक शिक्षा त्यहींको विध्यालयमा भयो । पिताजी सर्वसिंह गुरुङ बैध्य थिए, गाउँघरमा मानिस बिरामी पर्दा उपचार गर्न उनैकोमा पुग्थे ।  उनले नाडी छाम्ने बित्तिकै रोग चट् हुन्छ भन्ने विश्वास थियो गाउँमा । छोरो मोहन पनि स्वास्थ्य उपचार पेशा मै लागोस् भन्ने पिताको इच्छा थियो ।  मोहन सानैदेखि पढाइमा तेज थिए । स्याङ्ग्जा  सदरमूकामको हाइस्कुलबाट उनले एसएलसी पास गरे । 
 
आफ्नो पिताको  इच्छा र मोहन स्वयमको पनि डाक्टर बन्ने धोकोले उनलाई टिचिङ्ग अस्पताल, महाराजगंज पुर्यायो । त्यहाँ हेल्थ एसिस्टेन्ट पास गरेपछि एमवीवीएस पढ्न प्रयास गरे । भाग्यमा नभएर हो वा सोर्सफोर्स नपुगेर, डाक्टर बन्ने उनको धोको पूरा भएन । तर मोहन कहाँ हार मान्थे र ! आइएस्सी पढ्न वि .स. २०३३ अमॢत साइन्स कलेज भर्ना भए । त्यहाँ पनि उनको भाग्यले धोका दियो । राम्रो अंक आएन , आइएस्सी पूरा नगरी उनको यात्रा अरुतिरै मोडियो । मोहन गुरुङ  हेल्थ एसिस्टेन्ट त छँदै थिए , लेप्रोसी क्लिनिकमा काम गर्न शुरु गरे । 
 
मोहनमा युवा जोश थियो , त्यहाँ धेरै बसेनन् । त्यसपछि साझा स्वास्थ्य सेवामा सहायक प्रमुख भएर दुईवर्ष काम गरे । उनको काम गराई थाहा पाएर अनुसन्धानमूलक संस्था न्यू एराले बोलायो । त्यहाँ फ्रेन्च सहयोगमा संचालित गोर्खा आयुर्वेदमा अनुसन्धानको काममा होमिए ।
 
सोचे अनुसारको बजेट व्यवस्था थिएन त्यहाँ । मोहनलाई जसरी पनि  राम्रो काम गरेर देखाउने अठोट थियो । औषधिको बारेमा विस्तॢत जानकारी दिने MiMS भन्ने किताब १५० रुपियाँमा किनेर पढ्न थाले । त्यसको अध्ययन सकेर औषधिको मूल्य , प्रभावकारिता र साइड इफेक्टबारे अनुसन्धान रिपोर्ट बुझाए । त्यसले उनको लगन र अनुसन्धानमूलक कार्यको प्रशंसा भयो । त्यतिबेला डा. सुरेशराज शर्मा नयाँ शिक्षा योजनामा सदस्यसचिव थिए । मोहनले डा. शर्माको सामिप्यमा बसेर काम गर्ने मौका पाए । 
 
उनको जागिरे यात्रा त्यतिमै थामिएन , केही समय अमेरिकन पीसकोरमा हेल्थ एसिस्टेन्टको काम गरे । धेरैतिर जागीरमा घुम्दा घुम्दा थाकेपछि स्थायी हुने लालसाले मोहनलाई मुलुकको सबैभन्दा पूरानो र भरपर्दो संस्था वीर अस्पताल पुर्यायो । 
 
पद हेल्थ एसिस्टेन्ट कुर्सी डाक्टरको 
सन् १९८० मा वीर अस्पताल छिरेका मोहनले त्यहाँ १३ वर्ष बिताउँदा धेरै मीठा, केही नमिठा अनुभवहरु भोगेका छन् । उनकै सक्रियतामा वीर अस्पतालको सर्जिकल ओपिडीमा माइनर सर्जरी युनिट शुरु गरेको कुराले अहिले पनि मोहनलाई खुशी दिन्छ ।  डाक्टर द्वय  सुन्दरमणि दीक्षित र ध्रुव मुडभरीसंग काम गर्दाको उर्जा अहिले पनि उनी सम्झिन्छन् । विरामीलाई पहिला मोहनले जाँच गरेपछि मात्र डाक्टरहरुले हेर्ने गर्थे ।
 
मोहन गुरुङले आफूले स्वास्थ्य क्षेत्रमा काम गर्दा गर्वले लिने नाम डा. रामबहादुर विसीलाई हाम्रो कुराकानीमा धेरैचोटि सम्झे । उनी भन्दै थिए - मलाई डाक्टरको कुर्सीमा बसेर काम गर्न उहाँले नै प्रोत्साहित गर्नु भयो । 
आफूलाई असजिलो लाग्थ्यो तर उहाँको आदेश र प्रोत्साहनले कर र रहर दुबै जगाउँथ्यो - शायद मोहनको डाक्टर बन्ने सपनामा यो प्रशंगले धेरै अर्थ राख्छ । 
 
मोहनले वीर अस्पतालको  १३ वर्षे स्थायी जागीरे कालमा गर्वले नाम लिने व्यक्तिहरुमा डा. दामोदर पोख्रेललाई सम्झना गर्न बिर्सेनन् । मोहनको आफ्नो कामप्रतिको आस्था , इमान्दारिता र सक्रियताले उनलाई अहिले पनि नेपालमा डाक्टर साहेब भन्नेहरु धेरै छन् । 
 
उनी गैरीधारामा भाडामा बस्थे, धेरैले मोहन दाई भन्थे , कसैले डाक्टर दाई भन्थे । भाटभटेनीमा उनको औषधि पसल थियो । 
 
आफ्ना समकालीन साथीहरु कोही डाक्टर , कोही इन्जिनियर त कोही राम्रो सरकारी ओहदामा पुगेको देख्दा मोहनलाई औडाहा हुन्थ्यो । त्यही औडाहाले डाक्टरी पढ्न रुस जाने तयारीमा लागे । त्यतिबेला रुस पढ्न जानलाई नेपाली रसियन कम्युनिष्ट नेताको सिफारिस चाहिन्थ्यो । नेताले ६० हजार रुपियाँ मागे । त्यत्रो पैसा बुझाउने हैसियत उनीसंग थिएन । 
 
उनलाई लाग्यो अब नेपालमा बसेर भविष्य बन्दैन । उनले सुनेका थिए , अमेरिका अवसरहरुको देश हो । मोहनले निर्णय गरे - अमेरिका जाने । फ्लोरिडामा मित दाईका छोरा थिए । 
 
अमेरिकी पीसकोरमा काम गरिसकेको र वीर अस्पतालका आफ्ना हाकिमको सिफारिस पत्रले काम गर्यो , उनले भीसा पाए । १९९३ मा मोहन सपनाको देशको राजधानी वाशिंटन डिसी उत्रे ।
 
 
सोचेजस्तो सजिलो कहाँ हुन्थ्यो ! केही साथीहरुसंग अपार्टमेन्ट सेयर गरेर बस्न थाले । डंकिन डोनट्समा काम पनि पाए । डाक्टरको कुर्चीमा बसेर बिरामी जाँचेजस्तो सजिलो थिएन काम, सकेनन् छोडे त्यहाँ । साथी आमोद कटुवालको सहयोगमा सववेमा अर्को काम शुरु गरे । त्यहाँ दुइ महिना पनि टिकेनन् । सन् १९९४ मा मोहन सियाटल पुगे । त्यहाँ टेकेपछि उनले आजसम्म पछाडि फर्किनु परेको छैन । सियाटलमा पनि सववेलगायत अन्य अमेरिकी रेष्टुराँले छोडेनन्  ,राम्रो अनुभव बटुले । त्यतिमात्र हैन चार वर्ष स्वास्थ्यसंग सम्बन्धित Silent care Nursing Home मा काम गरे । 
 
मोहनको दिमागले  सोच्न थाल्यो - कति अरुकोमा काम गर्नु ! आफ्नै व्यापार व्यवसाय गर्न पाए अरुलाई रोजगारी पनि दिन सकिने आफ्नो खर्च पनि सजिलै चल्ने । दुइ छोराछोरीलाई पढाउन वर्षको ४० हजार डलर खर्च लाग्थ्यो । साझेदारीमा ग्यास स्टेसन चलाए आयोवामा । त्यो साझेदारी १८ महिना मै भत्क्यो । फर्केर नेब्रास्का पुगेर फुड कोर्ट चलाउन थाले । तर सोझो गुरुङलाई आफ्नै साथीले धोका दियो , सबै छोडेर फेरि सियाटल आए । 
 
यो सुन्दर शहरले मलाई धेरै दिएको छ, अब यहाँबाट बसाँइ सर्ने सोच छैन - मोहनले यसो भनिरहँदा सियाटलासंगको आत्मीय सम्बन्ध उनको अनुहारमा स्पष्ट देखेँ मैले । 
 
उनले हिमालयन शेर्पा रेस्टुराँ किनेर दुइवर्ष चलाए । उनको  आफ्नै योजना थियो , सन् २००४ मा The Everest Kitchen स्थापना गरे । अहिलेसम्म त्यही रेस्टुराँको व्यवसायमा लागेकै छन् मोहन । तर उनको यो व्यवसायलाई सामाजिक अभियन्ताको सक्रियरुपले ओझेल पार्दै गरेको देखिन्छ । 
 
समाज , भाषा र संस्कॢतिप्रति इमान्दार नेपाली 
प्रवासमा बस्दा आफ्नो भाषा , संस्कृति र समुदायबाट अलग हुन कुनैपनि नेपाली चाहदैनन् । आफ्नो पहिचान र पहुँच आफू बसेको मुलुककको मुलधारले चिनोस् भन्ने धेरैको आशा हुन्छ ।  तर त्यो पूरा गर्ने इमान्दार प्रयासमा थोरै मात्र मानिस लाग्ने गर्छन् । धेरैजसो नेपालकै राजनीति र सामाजिक परिवेशबाट निस्कन सकेका छैनन् । मोहन गुरुङ थोरै  नेपाली अमेरिकी भित्र पर्छन् जस्ले आफ्नो समुदाय , भाषा र संस्कृतिको उत्थानमा आफूलाई समर्पित गरेका छन् । 
 
उनकै सक्रियतामा सन् १९९८ मा नेपाल सियाटल सोसाइटिको स्थापना भयो । आफ्नै घरमा स्थापित उक्त संस्थाको मोहन अध्यक्ष भए । त्यसपछि उनको सामुदायिक सक्रियता ह्वात्तै बढ्यो ।  नेपाली त आफ्नै भैगयो ,भारतीय , अमेरिकी र  भियतनामी समुदायसंग उनको उठबस चल्न थाल्यो । कहिले सिटी अफिस , कहिले गभर्नर अफिस जान थाले । मोहनको सम्पर्क बढ्न थाल्यो , साथीभाई बढे । अमेरिकी राजनीतिले पनि तान्न थाल्यो । डेमोक्र्याटिक पार्टीको स्थानीय कार्यक्रमहरुमा जान थाले । अर्थ संकलन कार्यक्रमहरुमा मन लागी नलागी सहभागी हुनथाले मोहन ।
सियाटलामा मोहनको परिचय एकजना सक्रिय र सामुदायिक नेपालीको बन्न थाल्यो । King Five Channel मा काम गर्ने एकजना जापानी महिलासंग उनको परिचय थियो । एउटा कार्यक्रममा तीनै जापानी पत्रकार उद्घोषक थिइन् । मोहन श्रोता दिर्घामा थिए । अकस्मात तीनले नेपालको प्रतिनिधि भनेर मन्चमा बोलाइन । मन्चमा सिटी मेयर र सिनेटरसंगै मोहन बस्न पुगे । त्यसपछि मेयर र सिनेटरसंग उनको सम्बन्ध बाक्लो हुनथाल्यो । 
 
सन् २०१३ मा मोहन गुरुङ नेपाल सियाटल सोसाइटीको पुन: अध्यक्ष भए । सोसाइटीको कार्यक्रममा सियाटलका मेयर माइक मिकेनलाई प्रमुख अथितिमा निम्त्याए । स्थानीय संचार माध्यमले समाचार प्रकाशित प्रचारित गरे । मोहनको परिचयमा त्यस्ले उर्जा भरिदियो । सियाटलमा एउटा असल र सहयोगी नेपाली अमेरिकनको नाम लिनु पर्दा मोहन गुरुङ पहिला आउँछ । नेपाली समुदायका हरेक कार्यक्रममा उनको सहयोग र सद्भाव गाँसिएको देखिन्छ ।
 
गएको जुलाई महिनामा सम्पन्न  नेपाल अमेरिका पत्रकार संघको अधिवेसन सियाटलमा  आयोजना गराउन त्यहाँको स्थानीय समुदायको राम्रो सहभागिता मोहन कै सक्रियतामा भएको कुरा बताइन्छ । अमेरिकामा संचालित नेपाली मिडियालाई सियाटलको नेपाली समुदायसंग नजिक बनाउने त्यो अधिवेसन एउटा राम्रो माध्यम हुनसक्छ भन्ने मान्यता मोहन गुरुङको थियो त्यो सन्दर्भमा  अधिवेसनको आयोजनाले सहयोग पुर्याएको कुरामा त्यहाँका नेपालीहरु सहमत देखिन्छन् । 
 
सम्मान पाउने पहिलो नेपाली र भाषा मान्यता 
अमेरिकी राजनीतिक प्रशासनमा सम्मान पाउने मोहन गुरुङ पहिलो नेपाली हुन् । सन् २०१३ मा वाशिङ्टन राज्यका गभर्नर जे इन्सलीले उनलाई एशिया प्रशान्त अमेरिकी मामिला सम्बन्धी आयोगमा(AsianPacificAmericanAffairs Commission) आयुक्त  नियुक्त गरे । यो आयोगले वाशिङ्टन राज्यका विविध एशियन प्यासिफिक अमेरिकन समुदायको आवाज मुखरित गर्दछ । यसले ती समुदायको शिक्षा, स्वास्थ्य र आर्थिक क्षेत्रमा सहयोग पुर्याउने गरेको छ । यो आयोगमा आयुक्तको कार्यकाल तीन वर्षको हुन्छ , गभर्नरले मोहनलाई अरु थप तीन वर्षकोगि पुन: नियुक्त गरेका छन् । 
 
आयोगमा पुगेपछि मोहनले निक्कै सक्रियता बढाए समुदायको हित प्रवर्धन गर्न । आफ्नो भाषा र संस्कृतिको पहिचान जरुरी छ भन्ने दॢढ आस्था  बोकेर हिड्ने उनी  नेपाली भाषालाई राज्यस्तरमा कसरी मान्यता दिलाउन सकिन्छ भनेर अभियानमा लागे । त्यसमा आफ्नो समुदायका साथीहरु , अमेरिकन मित्रहरु र त्यहाँका राजनीतिकर्मीहरुलाई सक्रिय बनाए । परिणाम प्राप्त भयो - सन् २०१५ मा वाशिङ्टन राज्यमा संचालित स्कुलहरुमा प्लस टू सम्म नेपाली भाषाले मान्यता पायो । यो उपलब्धी लरतरो थिएन । यसले नेपाली भाषी विध्यार्थीहरुलाई दोश्रो भाषाकोरुपमा आफ्नो मातृभाषा छान्न पाउने अधिकार प्राप्त भयो । यो एउटा उदाहरण हो अरु राज्यमा बस्ने नेपालीहरुका निम्ति । यसले उत्प्रेरित गर्नसक्यो भने अरु राज्यका नेपालीहरुले पनि आफ्नो मातृभाषालाई मान्यता दिलाउने अभियान थाल्नेछन् । 
 
मोहनको रुची साहित्य र संगीतमा पनि छ । राम्रा गीत र कविता लेखेका छन् । शायद त्यसैले पनि नेपाली भाषा भनेपछि हुरुक्क हुन्छन् उनी । उनलाई एउटा चिन्ताले सधैं पिरोल्छ - अमेरिकामा जन्मिएका नेपाली नयाँ पिडीको, हाम्रो पहिचानको, परम्परा र संस्कृतिको । 
 
खुशी परिवार/आध्यात्मिक सोच 
आफ्नो बुबाले मोहनलाई भन्ने गरेको एउटा कुरा उनी सधैं सम्झिन्छन् - थोरै पढ्नु धेरै गुन्नु । 
उनले त आफूले चाहेजस्तो पढ्न सकेनन् तर आफ्नी श्रीमति र छोराछोरीलाई पढ्नमा सधैं उत्प्रेरित गरिरहे । छोरीलाई उच्च शिक्षा दिएर स्वावलम्बी बनाउनु पर्छ भन्ने मान्यता बुबाले सिकाए , त्यसैको अनुसरण श्रीमति होनीमाया गुरुङले गरिन् , छोरीले पनि । एउटा छोरा र एउटी छोरीकि आमा होनीमाया स्थानीय स्कुलमा शिक्षिका छिन् । छोरा छोरी दुबै आफ्नो खुट्टामा उभिने भएकाछन् । शायद त्यसैले आजकाल मोहन गुरुङ अध्यात्मतिर तानिएका छन् । उनीसंग कुरा अघाडि बढ्दै जाँदा मलाई लाग्यो - आध्यात्मिक ज्ञानले मोहनलाई अझै परिष्कॢत गर्दै लगेछ । रूढीवादी धर्मभन्दा उनलाई अध्यात्मवादले आकर्षित गर्दोरहेछ । 
 
पत्रकार ठकुराठीको ज्यान कस्ले बचायो ? 
शायद ४२/ ४३ सालतिरको कुरा हो ,  अबेर राती वीर अस्पतालको आकस्मिक कक्षमा बन्दुकको गोली लागेर अचेत भएका एकजना व्यक्ति ल्याइए । मोहन ड्युटीमा थिए । शरीर रक्ताम्य थियो । कन्चटमा गोली लागेको थियो । मोहनको पहिलो कर्तव्य तुरुन्त गोली निकालेर रक्तश्राव रोक्नु थियो । उनले दर्ता रजिस्टर मगाएर घाइतेको परिचय हेरे । नाम र पद पढेर मोहन एकछिन स्तब्ध भए । दर्ता किताबमा नाम लेखिएको थियो - पदम ठकुराठी , पत्रकार । हरेक शुक्रबार उनले चाख मानेर पढ्ने साप्ताहिक विमर्शका प्रधानसम्पादक ठकुराठी यीनै रहेछन् । उनले चिनेका थिएनन् । मोहनको अन्तर आत्माले भन्यो - यस्तो चर्चित पत्रकारलाई कुनै हालतमा पनि बचाउनु पर्छ । 
 
उनले होशियारीपुर्वक गोली निकाले , आकस्मिक उपचार गरे । अब ज्यान बाँच्ने भो भन्ने विश्वास लागेपछि मोहनले आफूलाई धन्य सम्झे , भगवानलाई स्मरण गरे । 
 
तर तत्कालीन प्रशासनले उल्टै उनीमाथि शंका गर्नथाल्यो । भरत गुरुङको नाम त्यो गोलीकाण्डमा जोडिएको हुँदा मोहनलाई शंकाको घेरामा राखेको रैछ । कतिपल्ट प्रहरीमा बयान दिनु पर्यो उनलाई । अर्कोतिर घटनामा संलग्नहरुको पनि धम्की आउँथ्यो । धेरै समय उनी मानसिक तनावमा बाँचे । बुझ्नेहरुले मोहनलाई ठकुराठीको ज्यान बचाएकोमा प्रशंसा पनि गरे । पछि विषेश अदालतमा पदम ठकुराठीले बयान दिंदै भनेछन् - मलाई जीवन दान दिने मोहन गुरुङ हुन् । त्यसपछि प्रशासनले मोहनलाई दुख दिन छोड्यो । 
 अहिले पनि पदम ठकुराठी बेलाबेलामा फोन गरेर सम्झिन्छन् र भन्छन् -मलाई दोश्रो जिन्दगी दिने मानिसलाई म कसरी बिर्सन्छु डाक्टर साहेब ! - मोहनले यसो भनिरहँदा उनको आँखामा गजबको चमक थियो । 
 
ॠण त तिर्न बाँकी छ 
म किन यहाँ आएँ ? म के हुँ ? मैले कति जानेको छ ? यी प्रश्नहरुले  मोहन गुरूङलाई घोचिरहन्छ । 
 
तथापि आफ्नो समुदायकोलागि अलिकति भएपनि असल काम गर्न सकेंजस्तो लाग्दा मन शान्त हुन्छ - मोहनको यो भनाइ उनको आत्मासंतुष्टि थियो । 
 
नेपालको मायाले सधैं घचघच्याउँछ उनलाई । वीर अस्पताललले बोलाइरह्न्छ । अहिले त्यो अस्पतालको अवस्था देखेर मोहनलाई रुन मन लाग्छ । आफूले आफ्ना बुबा आमाकोलागि केही गर्न नसकेको तर प्रवासमा सबैथोक गरेको सम्झिंदा उनको मन चसक्क दुख्छ । 
 
मातॢभूमि नेपाल गएर केही गर्न नसके त्यहाँ रिटायर्ड जिन्दगी मात्र बिताउन किन जानु भन्ने मान्यता राख्ने मोहनलाई भने वीर अस्पताल सुधार गर्ने काममा भविष्यमा आफूले योगदान दिन सक्ने विश्वास छ । 
 
कुनै न कुनै रुपमा मातॢभूमिको ॠण त तिर्नै पर्छ - उनले आफ्नो प्रतिज्ञा यसरी सुनाए । 
आफ्नो उमेर उकालो लाग्दै गरेको संकेत गर्दै मोहनले भने - अब मलाई खासै केही चाहिंदैन । बुढेसकालमा लौरो, टाउको दुख्दा सिटामोल, खोकीको औषधि, चस्मा र चारजनालाई खुशी बनाउन सकेहुन्थ्यो । 
 
Email: tbaral09@gmail.com