मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

सुन तस्करी र सनम हत्याबारे तयार पारिएको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

सुन तस्करी र सनम हत्याबारे तयार पारिएको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो


काठमाडौँ । सनम शाक्य हत्याकाण्ड र साढे ३३ किलोग्राम सुन तस्करीको छानबिनका लागि गठित समितिले सुन तस्करी र हत्याबारे तयार पारेको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको छ । 
 
गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले तयार पारेको प्रतिवेदन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ प्रधानमन्त्री ओलीलाई बुझाएको हो । 
 
सुन तस्करी र संगठित अपराधका विभिन्न पाटालाई केलाएर तयार पारिएको सो प्रतिवेदन ७५२ पृष्ठको छ । समितिले सुझाव, घटना विवरण, तथ्य र सम्भावनासहितका विषय समेटेर चार महिनासम्म गरेको अनुसन्धानलाई समेटेको छ । 
 
गत माघमा दुबईबाट नेपाल आएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हराएको र फागुनमा सनम शाक्यको हत्या भएपछि विसं २०७४ चैत २० गते मन्त्रिपरिषद्को बैठकले छानबिनका लागि समिति गठन गरेको थियो । 
 
जेठ ३० गतेसम्म अनुसन्धान सक्ने गरी गठित टोलीले अनुसन्धान समयमा नसकेपछि सरकारले असार ३२ गतेसम्म म्याद थपेको थियो । 
 
समितिले अनुसन्धानका क्रममा सुन तस्करीका मुख्य अभियुक्त चुरामणि उप्रेती ‘गोरे’, भुजुङ गुरुङ, राजेन्द्रकुमार शाक्य, छिरिङ वाङदेललगायतलाई पक्राउ गरेको थियो । 
 
यस्तै प्रहरीबाट पूर्वप्रहरी नायब महानिरीक्षक गोविन्दप्रसाद निरौला, प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी, श्याम खत्री, प्रहरी उपरीक्षक विकासराज खनाल, प्रहरी नायब उपरीक्षक प्रजित केसी, प्रहरी नायब निरीक्षक बालकृष्ण सञ्जेललगायतलाई पक्राउ गरेको थियो । 
 
सुन तस्करी र सनम हत्यापछि ७५ जनाविरुद्ध अभियोजन मुद्दा दायर भएको छ भने ४५ जना पक्राउ परिसकेका छन् । रासस