मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ड्यालसमा दिनदिनै घर किन्दैछन् नेपाली

ड्यालसमा दिनदिनै घर किन्दैछन् नेपाली


ड्यालस (अमेरिका) – सुरक्षित भविष्यको खोजीमा अमेरिका आएका नेपालीहरुमा पछिल्लो समयमा घर किनेर बस्ने क्रम बढेको छ । नेपालमा भन्दा पनि अमेरिकामा घर किन्न सहज भएको महसुस नेपाली समुदायका सदस्यहरुले गरेका छन् ।
 
अमेरिका आएका नेपालीहरुमध्य विशेषगरि टेक्ससको डिएफडब्लु (ड्यालस/फोर्टवर्थ) मा रहेकाहरुले ३/४ वर्षमै घर किन्ने प्रवृत्ति बढेको छ । केही वर्ष अन्य राज्यहरुमा मेहनत गरेर ड्यालस सरेर घर किन्ने क्रम पनि बढेको छ ।
 
नियमित रोजगारी र आँट भएकाहरुले नेपालबाट आएको छोटो समयमै घर किनेर आफ्नै घरमा सर्दै आएका छन् ।
 
नेपालबाट चार वर्ष अघि आएका बसन्त नेपालले यसै महिना टेक्ससको युलेसमा टाउन हाउस किने । नेपालमा सरकारी सेवामा अधिकृत रहेका नेपालले अहिले अपार्टमेन्टलाई तिरिरहेको भाडामा मासिक ४÷५ सय थप गर्दा आफ्नै घर आउने भएपछि त्यसबाट प्रेरित भएर किनेको बताए ।
 
घर खरिदकर्ता नेपालीहरुका अनुसार जति पर्खियो उतिनै घर महंगो हुँदै जाने देखिएपछि धेरै किन्नेतिर तातेका छन् । अपार्टमेन्टमा बस्दा बच्चाहरुले धक फुकाएर खेल्न पनि नपाउने भएपछि घर किन्नै पर्ने वाध्यता आएको अनुभव समेत नेपालले सुनाए ।
 
सुरुबाटै ड्यालस, फोर्टवर्थ क्षेत्रमा बस्दै आएका मात्र होइन, घर किनेर बस्नकै लागि पनि अन्य राज्यहरुबाट बसाई सर्ने नेपालीहरु पनि प्रशस्त छन् । इष्टकोस्टको कनेक्टिकट राज्यबाट बसाई सरेका एनआरएन अमेरिकाका उपाध्यक्ष रामकुमार सुवेदीले यसै साता फोर्टवर्थमा घर किने ।
 
उनले आफ्नो फेसबुक स्टाटसमा कनेक्टिकटका घरहरु बाँकी राखेर फोर्टवर्थमा सरेको उल्लेख गरेका छन् । ‘मेरो स्वास्थले पनि चिसो स्थानमा बस्न अलि अप्ठेरो पार्यो, त्यही भएर फोर्टवर्थ सरेको हुँ,’ हिमालय खबरसँग उनले भने । हालैमात्र एनआरएन अमेरिकाका सचिव होमनाथ गौतम पनि टेक्ससको युलेसमा सरेका छन् ।
 
अमेरिकाको पूर्बी तटीय राज्य न्यूयोर्क, मासाचुसेटदेखि लिएर पश्चिम तटीय राज्यहरु क्यालिफोर्निया, वासिङटनमा लामो समयदेखि बस्दै आएका नेपालीहरु टेक्सस सरेर घर किनेर बस्ने क्रम बढेको छ ।
 
टेक्ससमा दिनैपिच्छे कोही न कोही नेपालीहरुले घर किनेर सरिरहेका हुन्छन् । झण्डै २५ देखि ४० हजार नेपाली डिएफडब्लु एरियामा रहेकाले पनि कस्ले घर किन्यो र सर्यो भन्ने कुरा सामान्य जस्तै हुन थालेको छ ।
 
नेपालीहरुले पछिल्लो समयमा केलर, युलेस, कोपेल, हस्र्ट, बेडफोर्ड, अर्भिङ, फोर्टवर्थ, प्लानो, फ्रिस्को, मिकिनी, ग्राण्डपेरी लगायतका सिटीहरुमा घर किन्ने क्रम बढेको छ । उच्च आम्दानी भएकाहरुको रोजाईमा प्लानो, फ्रिस्को छन् । तुलनात्मक रुपमा यी सिटीका घरहरु अन्यत्रको भन्दा निकै महंगा छन् । सुरक्षित सिटी, राम्रो स्कुलले गर्दा महंगो भएका हुन् ।
 
मध्यमस्तरको आम्दानी भएका नेपाली समुदायका सदस्यहरुको रोजाईमा कोपेल, युलेस छन् । त्यस्तै ठीकैको आम्दानी भएकाहरुले केलर, फोर्टवर्थ, हर्स्ट, मिकिनी, अर्भिङ, ग्राण्डपेरीमा घर किनेर धमाधम सरिरहेका छन् ।
 
नेपालीहरुले सकेसम्म युलेस, अर्भिङ, हर्स्ट रोज्ने गरेका छन् । अन्तर्राष्ट्रिय विमानस्थलबाट नजिक पर्ने, नेपाली मन्दिर लगायत बिभिन्न सामुदायिक कार्यक्रमहरुका लागि पनि पायक पर्ने कारणले गर्दा नेपालीहरुको प्राथमिकतामा युलेस, अर्भिङ, कोपेल पर्र्ने गरेको छ ।
 
नेपाली समुदायसँग निकट रहन चाहनेहरुको लागि युलेस पहिलो रोजाईमा छ । तर युलेसमा घरको मूल्य अचाक्ली बढेका कारण नेपाली समुदायका व्यक्तिहरु केही पर केलर, फोर्टवर्थ, ह्वाइट सेटलमेन्टसम्म पुगिरहेका छन् ।
 
१२ वर्षदेखि घरजग्गाको कारोवारमा संलग्न डिएफडब्लु यति होम्सका रियल्टर ब्रोकर सुरज पौडेलका अनुसार नेपालीहरुले घर किन्ने क्रम निकै बढेको छ । पौडेलले नेपालीहरुको ठूलो बस्ती हुनु, रोजगारी सहज हुनु जस्ता कारणले नेपालीहरुको संख्या थपिएसँगै घर किन्ने क्रम बढेको बताए ।
 
पौडेल अन्तरगत सात जना रियल्टरहरुले काम गरिरहेका छन् । जसका ९९ प्रतिशत ग्राहक नेपालीनै हुन् ।
 
‘हरेक महिनामा कम्तिमा ४/५ वटा घरपूजामा निमन्त्रणा आएर जाने गरेको छु,’ शक्तिकेन्द्र ड्यालसका पूजारी तुल्सीराम कँडेलले भने । हिन्दु संस्कारमा घर किनेपछि साइत जुराएर ‘गृह प्रवेश पूजा’ गर्ने चलन रहिआएको छ । त्यसो हुँदा कँडेललाई अरु दैनिक जीवनका अन्य संस्कारहरुका अतिरिक्त गृह प्रवेश पूजामा निमन्त्रणा हुने गरेको छ ।
 
घरजग्गाको कारोवार गर्दै आएका रियल्टर आनन्द फुयाँल पनि डिएफडब्लु एरियामा नेपालीले घर किनेर सर्ने क्रम अत्यधिक रहेको बताउँछन् । ‘मैले मात्र सन् २०१८ को सात महिनामा झण्डै २५ वटा घरको बिक्री गराइसकेँ,’ फुयाँलले भने । अघिल्लो वर्ष झण्डै ५०/५५ वटा घरको कारोवार गरेको उनले जानकारी दिए ।
 
ड्यालस र सेरोफेरोमा झण्डै दुई दर्जनको हाराहारीमा नेपाली रियल्टरहरु छन् । घरजग्गाको कारोवार गर्ने ब्रोकर लाइसेन्सप्राप्त नेपालीहरु समेत छन् । जसले गर्दा नेपाली समुदायमा घर किन्न केही सहजता थपिएको छ ।
 
अमेरिकाका अन्य सिटीहरुको दाँजोमा डिएफडब्लु एरियामा घरहरु कम मूल्यमै पाइन्छन् । न्यूयोर्क, सानफ्रान्सिस्कोमा घर किन्नु सामान्य काम गर्ने नेपालीका लागि सोच्नै नसकिने विषय हो । तर महिनामा ४ हजार डलर कमाइ हुने परिवारका लागि ड्यालसमा भने घर किन्न अन्यत्रभन्दा निकै सजिलो छ ।
 
नेपालीहरु बढीमात्रामा रहेका सानफ्रान्सिस्को, लसएन्जलस, न्यूयोर्क, डिसी, भर्जिनियामा घरको मूल्य अचाक्ली बढिरहेको छ । कतिपय स्थानमा १०/१५ वर्ष पुराना घरहरुको पनि मिलियन डलरको आसपासमा मूल्य पर्छ । तर ड्यालस क्षेत्रमा भने ५ लाख डलरमा सिंगल परिवारको दुइ तल्ले घर भनेजस्तो स्थानमा किन्न सकिन्छ ।
 
‘अमेरिकाका धेरै सिटीहरुमा बसियो, जिन्दगीभरि अपार्टमेन्टकै बसाई हुने देखेर ड्यालस सरेको हुँ,’ हालैमात्र न्यूयोर्कबाट सरेका एक नेपालीले भने । नाम सार्वजनिक गर्न अस्विकार गर्र्दै उनले भने–‘यहाँ सरेको एक वर्ष हुनै लाग्यो । साढे दुईलाख डलरमा घर किन्ने अन्तिम तयारीमा छु ।’
 
‘किरा फट्यांग्रा, चराचुरुङ्गीको को समेत घर हुन्छ । मानिसको पनि एउटा नभै नहुने ठानेर घर किन्ने निष्कर्शमा पुगेको हुँ,’ युलेसमा दुईलाख २० हजार डलरमा टाउनहाउस किनेका बसन्त नेपालले भने । दुई वर्ष अघिसम्म एकलाख ८० हजारमा पाइने टाउनहाउसको मूल्य बढेर अहिले सवादुई लाख पुगिसकेको छ । घरको मूल्य दिन प्रतिदिन बढ्न थालेपछि राम्रो क्रेडिटस्कोर हुने र नियमित रोजगारी भएका धेरै परिवार घर किन्नेतिर अघि बढिरहेका छन् ।
 
नेपालमा जस्तो घर किन्दा सबै रकम एकैपटक चुक्ता गरिरहनु पर्दैन । खरिदकर्ताको क्रेडिटस्कोर हेरि मूल्यको साँढे ३ प्रतिशत डाउन पेमेन्ट राखेर अमेरिकामा घर किन्न सकिन्छ । अपार्टमेन्टका लागि मासिक एकहजार भन्दा बढी तिर्नेहरुका लागि थोरै भएपनि डाउन पेमेन्ट गरेर घर किन्नु फाइदाजनक हुने रियल्टरहरुको सुझाव छ ।
 
तर, नियमित आम्दानी नहुने, करकट्टी हुनेगरि चेकमा काम नगरि नगदमा प्राप्त हुने ठाउँमा काम गर्ने, क्रेडिट स्कोर राम्रो नभएकाहरु, दुई वर्षको ट्याक्स फाइल नभएकाहरुका हकमा भने घरकर्जा स्विकृत हुने संभावना अत्यन्तै कम हुन्छ । क्रेडिट कार्डको रकम समयमा नतिर्ने, बिभिन्न शिर्षकमा पहिलेनै ऋण भएकाहरुले घरकर्जा आवेदन दिनु अघि ती सबैलाई घटाएमा सजिलो हुने समेत रियल्टरहरुको भनाई छ ।
 
कति पर्छ घरको मूल्यः
 
दुई वर्ष अघि तीनलाख मूल्य पर्ने डबलस्टोरी (दुई तल्ले) घरलाई अहिले साढे तीनलाख डलर पर्छ । अर्थात डिएफडब्लु एरियामा दिन प्रतिदिन घरको मूल्य बढ्दो गतिमा छ ।
 
दुई वर्ष अघि एकलाख ६० हजारको हाराहारीमा रहेको युलेसस्थित टाउनहाउसको मूल्य अहिले दुईलाख २५ हजारको हाराहारीमा छ ।
 
चार बेडरुम भएको सामान्य नयाँ घरको मूल्य पनि अहिले युलेसमा साँढे तीनलाखको हाराहारीमा छ । फोर्टवर्थ, केलरमा चार बेडरुम भएको घरको साढे दुईदेखि दुईलाख ७५ हजारसम्म पर्छ । २० प्रतिशत डाउन पेमेन्ट गरेर किन्ने हो भने मासिक बढीमा १७/१८ सयमा आफ्नै घरमा बस्न पाइन्छ ।
 
ड्यालसमा घरको भाउमा निकै उतार चढाव आइरहेको छ । एक वर्ष अघिको तुलनाम केही स्थानका घरका मूल्य १० प्रतिशले कमि आएको रियलस्टेटको अध्ययन गर्ने वेवसाइट मोभोटो जनाएको छ । तर खरिदकर्ताहरुका अनुसार घरको मूल्य निरन्तर बढीरहेको छ ।
 
डिएफडब्लु एरियाको साउथलेकमा घरको मूल्य १० लाख डलरको हाराहारीमा पर्छ । कोपेलमा चार बेडरुमको औसत ५ लाखको हाराहारीमा पर्छ । त्यस्तै फ्रिस्को, प्लानोमा ६ लाख भन्दा माथि छ । यद्यपी घरमा प्रयोग भएका सामान, सुविधा, स्थान हेरि घरको मूल्य फरक पर्ने गरेको छ ।
 
 
(घर खरिदकर्ताका लागि  ब्रोकर / रियल्टरका उपयोगी टिप्स सहितको जानकारी र घर किनेर बसेकाहरुको अनुभव पनि क्रमशः प्रकाशित गर्दै जानेछौँ ।)