विचार / ब्लग

पीडितले पक्कै राहत पाउँछन्

1494 पटक पढिएको

हिमालय खबर | 26th Jul 2018, Thursday | २०७५ श्रावण १०, बिहीवार १८:४१

अोक्लाहोमाको अटोकास्थित ग्याँस स्टेसनमा कार्यरत नेपाली रचना श्रेष्ठमाथि लुटेराले ८ गोली हानेर घाइते बनाएको समाचार सुनेपछि मेरा एक सहकर्मी नजिकै अए । उनले मसिनो स्वरमा सोधे-‘तपाइ पनि झण्डैझण्डै त्यस्तै अक्रमणमा पर्नुभएको थियो नि । कस्तो लाग्छ यस्ता घटना सुन्दा ?’

सहकर्मीको जिज्ञासा प्रति जिस्कँदै मैले जवाफ दिए-‘कस्तो लाग्नु नि ? यतिखेर मैले तीन पिण्ड खाइसकेको हुन्थेँ । त्यतिखेर त डर लागेको थिएन । अहिले त्यो घटना सम्झिँदा धन्न बाँचेछु जस्तो लाग्छ ।‘

सन् २०१४ नोभेम्बर अन्तिम साता । म टेक्ससको उत्तरी छिमेकी राज्य अोक्लाहोमामा बस्थेँ । म अोक्लाहोमा सिटीको सामरक ग्याँस स्टेशनमा क्लर्क काम गर्थे । त्यही क्रममा दुइ बन्दुकधारी लुटेराले लुट्ने क्रममा मलाइ कुटेर सख्त घाइते बनाएका थिए । उनीहरूले मेरो कञ्चटमा पेस्तोल तेर्साएर नगद लुटेका थिए।

हरेक वर्ष नोभेम्बर २४ तारिकलाइ मैले मेरो जीवनको सबैभन्दा कालो दिनका रूपमा लिने गरेको छु । हरेक नोभेम्बर २४ तारिक अनि ग्याँस स्टेसन लुटिएको, काम गर्ने व्यक्तिको हत्या भएको खबर सुन्ने बित्तिकै त्यही घटना स्मृतिमा सररर... अाइहाल्छ ।

जुन राज्यमा मैले त्यो दुखद् घटना भोगेँ त्यही राज्यमै तीन दिनको अन्तरमा नेपालीसँग संबन्धित दुइ घटना भए । पहिलो घटना अोक्लाहोमा सिटीमै शुक्रबार अपार्टमेन्टकै स्विमिङपुलमा पाैडी खेल्ने क्रममा विद्यार्थी सुनिल सापकोटाको डुबेर निधन भयो । अर्को घटना सोही राज्यको अटोका सिटीमा ग्याँस स्टेसनमा कार्यरत रचना श्रेष्ठमाथि ८ गोली प्रहार गर्दा उनी गंभीर घाइते भइन् । उनी अहिलेसम्म वेहोश अवस्थामा उपचारार्थ अस्पतालमा छिन् ।

अहिले अमेरिकामा तीनलाख भन्दा बढी नेपालीहरू छन् । हवाइदेखि कनेक्टिकट र अरिजोनादेखि अलास्कासम्म नेपालीहरू छन् । नेपाली नपुगेको र नभएका कुनै अमेरिकी राज्यहरू छैनन् । ५० वटै राज्यहरूमा नेपालीहरू छन् । अधिकांश नेपालीहरूले सुरूवातका दिनहरूमा गर्ने रोजगारी ग्याँस स्टेसन, ग्रोसरी स्टोर, पार्लर, शपिङ मलनै हो । र अमेरिकामा असुरक्षाका दृष्टिले सबैभन्दा जोखिमपूर्ण क्षेत्र पनि तिनै हुन् । जहाँ नगदको कारोवार हुन्छ, त्यही लुटिने क्रम बढी हुन्छ ।

तीन साता अघिमात्र भर्जिनियाको हरण्डनस्थित ग्याँस स्टेशनमै काम गर्ने क्रममा लुटेराको अाक्रमणबाट नेपाली रेशम बजगाइको निधन भएको थियो । ग्याँस स्टेशनको काम नेपालीहरूका निम्ति सहज र सजिलो भएपनि सुरक्षाका हिसाबले सबैभन्दा जोखिमपूर्ण हुँदै गएको छ ।

सामान्य जानकारी नहुँदा पनि ग्याँस स्टेसन, स्टोर होस् या अन्यस्थलमा लुटिने पीडितहरूले प्राप्त गर्न सक्ने सुविधा, राहतमा पहुँच पुगेको छैन । जो व्यक्तिसँग यस्तो विषयमा जानकारी छ, तिनीहरूले समेत सही जानकारी दिने भन्दा पनि हल्का रूपमा लिने, पीडितलाइ उल्टो हतोत्साही बनाउने गरेका घटना जताततै सुनिन्छन् ।

मैले अाफूमाथि भएको त्यो घटनालाइ धक नमानि सार्वजनिक गरेँ । मलाइ पनि सुरूमा लागेको थियो-‘ह्या, त्यस्तो दुर्घटना अाफूमाथि भैहाल्यो । सार्वजनिक गरेर को बाट के सहानुभूति लिनु छ र ?’

तर मैले अाफूमाथि भएको त्यो घटनाले अरूलाइ शिक्षा मिल्न सक्छ भन्ने ठानेँ । र पहिलोपल्ट दुइ वर्ष अघि नेपाल अमेरिका पत्रकार संघ (नेजा) को स्मारिका प्रयासमा सार्वजनिक गरेँ । त्यसपछि ६ महिना अघि हिमालयखबरमै इतिवृतान्त लेखेँ । त्यसलाइ पढेर धेरैले ग्याँस स्टेशनमा काम गर्दाका क्रममा उपयोगी टिप्स भएको प्रतिकृया दिएका छन् ।

यस पटक लुटेराको अाक्रमणबाट पीडितले पाउनसक्ने सुविधा, राहतका बारेमा अफ्नो अनुभव शेयर गर्दैछु ।

लुटेराले नगद माग्ने क्रममा मैले नदिएपछि मेरो कञ्चटमा एउटा लुटेराले पेस्तोल राख्यो । अर्को लुटेराले मुड्कीले कसेर मेरो नाक र मुखमा प्रहार गर्यो । जसलाइ सहन नसकेर म स्टोरको कुनामा पछारिन पुगेँ । त्यहाँ पछारिएपछि पनि उनीहरूले मेरो शरिर (विशेषगरि ढाड र टाउको) मा लात्ति प्रहार गरिरहे । मुखमा हानेको प्रहारको पीडापछि मलाइ लाग्यो मेरा सबै दाँतहरू झरे । मुखबाट ह्वाल्ल्ल.. रगत निस्कन थाल्यो । लुटेराहरू रजिष्टर र सेफ नजिकै लुकाएर राखेको नगद निकालेर भागे ।

घटना भएको ५ मिनेटमै एम्बुलेन्स अइपुग्यो । एक दर्जन जति प्रहरीहरू अइपुगे । उनीहरूले मलाइ उठाएर एम्बुलेन्समा लगेर प्राथमिक उपचार गर्न थाले । मेरो मुखबाट रगत बगिरहेको थियो । उनीहरूले अस्पताल जाउँ भने । मसँग त्यतिखेर इन्सुरेन्स नभएकोले अस्पताल जान हिच्किचाएँ । तर प्रहरी र स्वास्थकर्मीहरूले अस्पताल जानुपर्ने, नभए रगत बग्न नरोकिने बताए ।

राति साँढे ८ बजेतिर त्यो घटना भएको थियो । एम्बुलेन्समा राखेर सामान्य प्राथमिक उपचार गरेपछि प्रहरीहरू प्रतिवेदन तयार गरेर फर्किए । मलाइ पनि विस्तारै दुखाइ थपिँदै गयो ।

अस्पताल जाउँ त इन्सुरेन्स छैन । इन्सुरेन्स बिना अस्पताल जाँदा उपचार त हुन्छ, तर पछि ढाड सेक्नेगरि बील अाउँछ भन्ने सुनेको थिएँ । त्यसैले क्लिनिक वा अर्जेन्ट केयर जस्तो ठाउँ खोजियो । अर्जेन्ट केयर पनि बन्द भैसकेका रहेछन् । मलाइ लिएर मेरा नातेदार (जो ग्याँस स्टेसनका मालिक पनि थिए) अस्पतालको इमरजेन्सीमा पुगे ।

इमरजेन्सीमा पुग्न त पुगियो । तर त्यहाँ पनि स्वास्थकर्मीको उपचार पाउनका लागि तीन घण्टा कुर्नुपर्यो । टाउकोको सिटीस्क्यान, छाती लगायत शरिरका जुनजुन अंगमा लुटेराले प्रहार गरेका थिए, ती सबै ठाउँको एक्सरे गरियो । अन्तिममा मुख लगायत शरिरका घाउमा सामान्य ड्रेसिङ गरेर बुफ्रिन जस्तो दुखाइ कम गर्ने अाैषधी लेखिदिएर किनेर खानु भने । त्यो अषधी भोलीपल्ट मात्र किनेर खाइयो ।

कुटाइले मुख पुरै सुनिएको थियो । केही चपाउन त के निल्न समेत नसक्ने अवस्था थियो। हप्ताभरि काममा जान सकिन म । विकल्प थिएन, त्यसैले अर्को हप्ताबाट काममा जान थाले । मनमा ठूलो डर हुँदाहुँदै पनि ग्याँस स्टेशनको काम वाध्यता थियो त्यतिखेर मेरा निम्ति ।

घटनाको भएको अर्को हप्तामा स्थानीय प्रहरी कार्यालयबाट पत्र अयो मेरा नाममा । पत्रमा लेखिएको थियो- तिमी क्राइम भिक्टिम भएकाले कुनै पनि परामर्श, सहयोग चाहिएको अवस्थामा सम्पर्क राख्न भनिएको थियो । पत्रमा घटनाका कारण मनमा डर, त्राश उत्पन्न हुनसक्छ । त्यसैले मानसिक परामर्श चाहिन सक्छ । रोजगारीका लागि सहयोग चाहिन्छ भने पनि सम्पर्क राख्नु भनिएको थियो । उनीहरूले पीडितहरूलाइ तालिम दिएर रोजगारीका लागि सहयोग गर्ने पनि रहेछन् ।

 

कुनै पनि सहयोग चाहिएको खण्डमा सम्पर्क राख्न पनि भनिएको थियो । साथमा एउटा फर्म पठाइएको थियो । त्यो भरेर पेश गर्न भनिएको थियो ।

मैले मनमनै सोचेँ-'अा किन फर्म भरिरहनु ? नहुनु घटना त भइनै हाल्यो । के सहयोग होला र प्रहरी कार्यालयमा गइरहनु ?' म चुप लागेर फेरि बिहानदेखि रातिसम्म ग्याँस स्टेशनकै काममा दलिन थालेँ ।

एक दिन मेलबक्समा बिल प्राप्त भयो । अस्पतालको इमरजेन्सी सेवा वापत सातसय डलर चानचुनको बिल रहेछ । बिलसँगैको पत्रमा लेखिएको थियो-अहिलेनै तिरेको खण्डमा ७५ डलर तिरे हुन्छ । क्रेडिटकार्डबाट पनि तिर्न मिल्छ ।

अस्पतालको सेवा मैले अोक्लाहोमामा लिएको भएपनि बिल टेक्ससबाट गएको थियो । मैले तुरून्तै दिइएको नम्बरमा फोन गरेँ र कार्डबाट ७५ डलर तिरिदिएँ । मलाइ लाग्यो यति तिरेपछि ढुक्क होइन्छ । किन प्रहरी कार्यालयमा फर्म भरेर गइरहनु ?

दुइ सातापछि मेलबक्समा अर्को बिल अयो । सातहजार डलरभन्दा बढीको बिल थियो त्यो । त्यतिखेर मेरो सातो गयो । ९ डलर प्रतिघण्टामा काम गरिरहेको मेरा लागि एकै पटक सातहजार डलर भन्दा बढीको बिलले होस हवास उँड्यो । एक मनले त लाग्यो-एउटा ब्रुफिन लिनका लागि बेकारमा अस्पताल गइएछ ।

म चुपचाप लागेर बसेँ । त्यो बिलको वास्तै गरिन मैले ।

अर्को महिना चानचुन २७ हजार डलरको बिल प्राप्त भयो । सिटीस्क्यान लगायतको भनिएको थियो ।

त्यो बिलले मलाइ रातभरि निद्रा लागेन । अनिदै भोलीपल्ट बिहान ५ बजे काममा गएँ । काममा दिनभरि सोचेँ, अब चाँहि प्रहरी कार्यालय गएर फर्म भर्नैपर्छ । गाडी थियो, तर लर्नर्स परमिटमात्र । एक्लै गाडी चलाएर पुलिस अफिस जाने अाँट अएन । नातेदारको सहयोगमा एक सातापछि त्यहाँबाट प्राप्त चिठी, फर्म र अस्पतालका सबै बिल बोकेर पुलिस अफिस गएँ ।

प्रहरीहरू पनि अति सहयोगी थिए । कानुन शाखामा कार्यरत एक महिला प्रहरीले ढाडस दिँदै भनिन्-‘चिन्ता नगर, हामी अस्पतालसँग कुरा गरिहाल्छैँ।‘  उनले थप सोधिन्-‘तिमी कति दिन काममा जान सकेनाै ?’ मैले एक हप्ता नगएको जानकारी दिएँ । उनले मैले प्रतिघण्टा पाउने पारिश्रमिक सोधिन् । मैले भनेँ-९ डलर ।

लुटेराको कुटाइले मेरो चस्माको फ्रेम अलिकति बाङ्गिएको थियो । उनले त्यो पनि देखिछन् । नयाँ चस्मा किन्नु र त्यसको बिल पनि लिएर अाउनु । म समावेश गरिदिउँला ।

अन्तिममा उनले हँसिलो मुख लगाएर हामीलाइ तलसम्म छाड्न अइन् । अन्तिममा भनिन्-‘तिमीलाइ चिठी अउँछ,चिन्ता नगर्नु । ग्याँस स्टेसनमा अप्ठेरो, डर लाग्यो भने तालिम दिएर अन्त काममा लगाउने अफिसहरू पनि छन् । म सहयोग गरूँला ।‘

यस्तो घटनामा परेकाहरूको सहयोगका निम्ति अलग्गै 'क्राइम भिक्टिम सेल' हुने रहेछ प्रहरी कार्यालयमा । जहाँ वकिलको  समेत व्यबस्था हुने रहेछ । 

तर त्यतिखेर मेरो मनमा के भयो कुन्नि ? उनीहरूको त्यो सहयोग लिनेतिर मनै लागेन । शायद उनीहरूले दिने कुनै प्रकारको प्राविधिक तालिम लिएको भए जीवनले अर्कै मोड लिइसक्थ्यो कि ? उनीहरूले दिने परामर्श, तालिम नलिँदा अहिले पनि मनमा थोरै पछुतो छ ।

त्यसको केही महिनापछि म पुरानो अपार्टमेन्ट छाडेर अलिपर एडमन्ट नजिक सरेँ । प्रहरी कार्यालयबाट अस्पतालको बिलका बारेमा कुनै जानकारीनै प्राप्त भएन । अस्पतालबाट थप बिल त प्राप्त भएन ।

२०१५ को जुन महिना तिर मलाइ खसखस लाग्यो र प्रहरी कार्यालयमा फोन लगाएँ । क्राइम भिक्टिम शाखामा कार्यरत व्यक्तिले अस्पतालसँग सबै कुरा छिनिसकेको र म काममा जान नसकेको एक साताको पारिश्रमिकको चेक समेत धेरै पहिलेनै पठाइसकेको बताए । तर मैले चेक पाएको थिइन । शायद ठेगाना फेरिएकोले हुनसक्छ ।

प्रहरी कार्यालयबाट थप सहयोग गर्नुपर्ने अवस्था छ कि छैन भनेर सोधियो । चस्माको बारेमा पनि उनीहरूले जिज्ञासा राखे । मैले मर्मत गरिसकेको र नयाँ किन्न जरूरी नभएको जानकारी दिए ।

मैले सबै कुरा दर्शाएपछि उनीहरूलेनै चेक नपाएको व्यहोराको फर्म पठाए । त्यसलाइ प्रिन्ट गरेर भरेर मैले फेरि स्क्यान गरेर उनीहरूलाइ इमेल गरिदिएँ । अर्को साता एक साताको पारिश्रमिकको चेक प्राप्त भयो ।

मेरा लागि ३४ हजार डलरभन्दा बढीको उपचार खर्च सरकारले तिरिदिनु ठूलो कुरा भयो । थप काममा जान नसकेको एक हप्ताको पारिश्रमिक सरकारी तर्फबाट उपलव्ध गराउनु सरकारप्रति अाशलाग्दो कदम थियो । यो ठूलो राहत थियो ।

यो घटनाका बारेमा जब मैले साथीहरूलाइ जानकारी दिन थालेँ, उनीहरूले सरकारबाट तालिम, परामर्शमा सहयोग प्राप्त हुने बताए । समय घर्किसकेको हुँदा म त्यतातिर लागिन । पीडितलाइ सरकारले साँच्चै सहयोग हुने रहेछ । तर जेन्यूइन भने जरूरी छ । ढाँट्ने, छल्ने गर्न खोजियो भने त्यस्तो गर्न खोज्ने फँस्नेछन् ।

सबैभन्दा गज्जबको विषय के रह्यो भने- अस्पतालबाट प्राप्त सातसय डलरको पहिलो बिल चुक्ता गर्न भनेर मैले त्यतिखेर तत्कालै क्रेडिटकार्डबाट तिरेको ७५ डलर समेत फिर्ता भयो । तिरेको डेढ वर्षपछि टेक्ससकै अस्पतालले चेक काटेर मलाइ फिर्ता गरेको थियो ।

धेरै ठाउँमा नेपालीहरू लुटेराहरूको अाक्रमणमा परिरहेका छन् । घाइते भएका छन् । अङ्गभङ्ग भैरहेका छन् । त्यस्तोमा सरकारी निकाय, परामर्शदाताहरू, रोजगारी दिनेहरूले धेरै सहयोग गर्ने रहेछन् । तर हाम्रो समुदायमा त्यस संबन्धि सही जानकारी दिने संयन्त्र नहुँदा, त्यहाँसम्म जाने पहुँच नराख्दा अवसरबाट हामी बञ्चित भएका छाँ ।

हाम्रो समुदायमा कसैलाइ केही समस्या पर्दा दया गरेर माछा मारेर ल्याइदिने संस्कार बढेको देखिन्छ । तर जीवन पर्यन्त काम लाग्ने माछा मार्नका लागि बल्छी वा जाल हान्ने सीप सिकाउने तिर कसैको सोचाइ छैन ।

कोही पनि यस्ता क्राइम भिक्टिम हुनुभएको छ भने निर्धक्क साथ सरकारी निकायसँग पुग्नुस् । त्यसबाट कुनै हानी नोक्सानी हुँदैन । बरू धेरै फाइदै पुग्छ । हो, जेन्यूइन डकुमेन्ट चाहिन्छ । ढाँटेर, छलेर भने हुँदैन । जति पनि नेपालीहरू पीडित भएका छन्, ती सबै जेन्यूइन केसहरू छन् । तर किन मानिसहरू सरकारले दिएको अवसर, सुविधा लिन पछि परिरहेका छन् ?

यसतर्फ नेपाली समुदायका अग्रजहरूले सोचेर चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने हो भने धेरैको कल्याणै हुनेछ ।

र, अन्तिममा । जति पनि ग्याँस स्टेसन, ग्रोसरी स्टोर लगायत जोखिमयुक्त ठाउँमा काम गर्नेहरू हुनुहुन्छ सबैले जीवन बीमा चाहि गर्न जरूरी छ । सकेसम्म कामदारहरूको बीमा रोजगारदाताहरूले गरिदिएमा ठूलै सहयोग हुनेछ । नभए रोजगारदाता र कामदार मिलेर ५०/५० प्रतिशत तिरेमा कुनै पनि प्रकारका त्यस्तै दुर्घटना भैहाल्दा ठूलै राहत मिल्नेछ । त्यसतर्फ पनि नेपाली समुदायको ध्यानाकर्षण होस् । घटना भइसकेपछि पछुताएर वा रूवाबासी गरेर कुनै उपलव्धी हुँदैन । अहिलेनै बीमा गरिदिने हो भने कमसेकम कोही पीडित भैहालेमा तिनका परिवारको त बिजोग हुँदैन ।