विचार / ब्लग

नेजाको सियाटल अधिवेशनका दृश्य

425 पटक पढिएको

- रामचन्द्र भट्ट

हिमालयखवर | 24th Jul 2018, Tuesday | २०७५ श्रावण ८, मंगलवार २०:५२
चार वर्ष अगाडि गिरीश पोखरेलले भनेको कुरा मलाई अति घत लाग्दो थियो । नेपाल अमेरिका पत्रकार संघ (नेजा) को अधिवेशन टेक्ससको सामुद्रिक शहर ह्युस्टनमा हुँदै थियो । अधिवेशनको बन्दशत्रमा सहभागीहरुले पत्रकारहरुका हकहित, अधिकारका कुरा उठाउन थाले । प्रश्न सोधाईको तरिका, प्रस्तुति देखेर संस्थापक अध्यक्ष समेत रहेका पोखरेललाई असैह्य भएछ । उनले उठेर माइक उठाउँदै भने–‘साथीहरु, नेजा भनेको पत्रकारको हकहित, अधिकारको कुरा उठाउने संस्था होइन । कोही पनि भ्रममा नपरे हुन्छ । त्यो उद्वेश्यले हामीले संस्था स्थापना गरेका पनि होइनौँ । यो नितान्त पारिवारिक क्लब टाइपको संस्था हो ।’
 
पोखरेलको जवाफले हलमा सन्नाटा छायो । उनी भन्दै गए–‘नेपालमा पत्रकारिता गरेर आएका र यहाँ आएर पनि लेखनीलाई निरन्तरता दिएका, पत्रकारिता अध्ययन गरिरहेकाहरुलाई मिलेसम्म सपरिवार वर्षको एकपटक जमघट गराएर विगतका तीतामिठा कुराहरु सम्झिने थलोमात्र हो नेजा ।’
 
असाध्यै सटिक यो जवाफलाई मैले चारवर्ष पछि पश्चिम तटीय सामुद्रिक शहर सियाटल पुगेपछि सम्झिएँ । र गिरीशजीलाई यो सम्झाएँ । उनी मुसुक्क हाँसेमात्र ।
 
नेजाको छैठौँ अधिवेशन आइतबार सियाटलमा सम्पन्न भयो । त्यहाँ पनि केही साथीहरु वृत्ति विकास, अवसरका कुरालाई उठाउन पछि परेनन् । बन्दशत्रमै नभएपनि केहीले कफी पिउँदै गर्दा र खाना खाने क्रममा हकहितका कुरा पनि उठाए ।
 
सन् २००७ मा स्थापना भएको नेपाल अमेरिका पत्रकार संघ (नेजा) अमेरिकामा रहेका नेपाली संस्थाहरुमध्य चिनिएको संस्था हो । यो किन चिनिएको छ भने पहिलो कुरा जो कोही पनि यो संस्थामा आवद्ध हुन पाउँदैन । दोस्रो लेखेर समाजलाई उपयोगी सूचना, विचार दिनसक्ने ल्याकत भएकाहरु यसमा छन् । त्यही कारणले गर्दा कस्तो नेतृत्व नेजाले पाउँछ ? भन्ने कुरामा अमेरिकामा रहेका नेपालीमुलका धेरैको चासो देखिन्थ्यो ।
 
निर्वाचन समितिले आधिकारिक रुपमा मञ्चबाट निर्वाचन परिणाम घोषणा गरिनसक्दै एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेलदेखि लिएर जनसम्पर्क समितिका पदाधिकारीहरु, प्रवासी मञ्चका पदाधिकारीहरुले सामाजीक सञ्जाल र टेक्स्ट मेसेज मार्फत निर्वाचितलाई बधाई र शूभकामना दिन थालिसकेका थिए ।
 
अमेरिकामा नेपाली भाषामा पत्रकारितामात्र गरेका भरमा टिक्ने धेरै कम सञ्चारकर्मीहरु छन् । अर्थात छँदैछैनन् भन्दा पनि अन्यथा हुँदैन । नेपाली समुदायमा पत्रकारको पहिचान भएपनि दैनिक जीविकाका लागि प्राय सबैले व्यबसाय, रोजगारी गर्छन् । त्यसबाट वचत भएको समयमा समाजमा पत्रकारिता गर्नेहरुको संख्या ठूलो छ ।
 
त्यसो हुँदा पत्रकारको हकहित, अधिकारका कुराहरु नेजाभित्र चर्को रुपमा उठ्दैन । किनकी पूर्णकालिन पत्रकार नभएको, पत्रकारको पहिचान बनाएकाहरुमध्य पनि धेरैले आफैँले मिडिया सञ्चालन गर्ने भएकाले हकहितका कुराहरु कसैले उठाउँदैनन् । हकहितका कुरा आवश्यक पनि होइन । यो काँशी जाने कुत्तिको बाटो सिवाय अरु केही होइन अमेरिकामा नेपाली सञ्चारकर्मीका हकमा ।
 
यी त भए हकहितका कुरा । अब लागौँ भरखरै सम्पन्न भएको नेजाको सियाटल अधिवेशन तर्फ ।
 
सियाटलमा अधिवेशन गर्ने निर्णयदेखिनै नेजाका पदाधिकारीहरुबीच मनमुटाव बाहिर आइसकेको थियो । त्यसमा दुई खालका धारणाहरु थिए । पहिलो धारणा–स्थानीय रुपमा सदस्य नभएको ठाउँमा कार्यक्रम गर्दा निकै अप्ठेरो र असहज स्थिती हुनसक्छ भन्ने थियो । दोस्रो धारणा थियो– क्यानडासँग नजिक भएको हुँदा थप साथीहरुलाई भित्राउन अनुकुल हुनेछ ।
 
पहिलो धारणा पुरै नभएपनि आंशीक सत्य प्रमाणित भयो । कन्भेनरको जिम्मेवारी पाएका साथी ध्रुब कुँबर, जो टेक्ससमा बस्थे । अधिवेशनकै तयारीका लागि भनेर एक महिना अघि टेक्ससदेखि ड्राइभिङ गर्दै सानफ्रान्सिस्को पुगे । त्यहाँबाट प्लेनमा सियाटल पुगेर तयारीमा पुरै खटिए । उनले स्थानीय आयोजक नभएको ठाउँमा अधिवेशन गर्दाका असहज परिस्थितीका बारेमा नेजाको स्मारिकामा अनुभव लेखे । त्यतिमात्र होइन, अधिवेशनको उद्घाटन कार्यक्रममै पनि अनुभव शेयर गरे ।
 
स्थानीय साथीहरु नभएका कारण निकै कठिन अवस्था थियो । त्यसमाथि सियाटल जस्तो व्यस्त र पर्यटकीय ठाउँमा होटलमा कोठा नपाएर महंगो तिर्नुपरेको तथ्यलाई निवर्तमान महासचिव तोया दाहालले पनि लुकाउन चाहेनन् ।
 
तैपनि आयोजक साथीहरुले अमेरिकाका बिभिन्न राज्यबाट सहभागी हुन सियाटल पुगेका सहभागीहरुको खातिरदारीमा समस्या आउन दिएनन् । विशेषगरि ध्रुब कुँबर, तोया दाहाल, अग्नी चौलागाईको खटाईको जतिनै प्रशंसा गरेपनि कमै हुन्छ ।
 
स्थानीय सदस्य नभएको ठाउँमा कार्यक्रम गर्नु कठिन रहेछ भन्ने एउटा पाठ यो अधिवेशनले सिकाएको छ ।
 
अर्को तथ्य जसरी क्यानडाका साथीहरुको सहभागीता थपिने अपेक्षाका साथ जसरी सियाटल रोजिएको थियो, त्यसमा पनि गाँसमा पक्कै ढुंगा लागेको छ । अन्तिम समयमा आएर क्यानडाका साथीहरुका लागि विधानमै उल्लेख गरेर राखिएको पदमा समेत चासो देखिएन । साथीहरु संस्थाको उद्वेश्य र मर्ममा भन्दा लोगोमा राखिएको झण्डामा अल्झिएको देखियो । 
 
यस पटकको अधिवेशनमा सहभागी हुने या नहुने भन्नेमा म अन्तिम समयसम्म अन्यौलमै थिएँ । कामबाट अनुकुलता मिलाउनुपर्ने, अधिवेशनमा सहभागी हुँदा जुन खालको मित्रता, भेटघाटको आनन्द हुनुपर्ने हो त्यसमा विगत केही वर्षदेखि साथीहरुबीच हराएर झनै दरार पैदा भएको अवस्था थियो । ह्युस्टन अधिवेशनपछि केही साथीहरु नेजालाई फर्किएरै नहेर्ने अवस्थामा पुगे । सन् २०१६ मा लसएन्जलसमा भएको अधिवेशनको ताण्डवनृत्यलाई धेरै साथीहरुले बिर्सिन सकेका छैनन् । अपमानित र हिनतावोध गर्नुपर्ने ठाउँमा किन जाने ? भन्ने प्रश्न धेरै साथीहरुको थियो । सोही प्रश्नको जवाफ नपाएपछि सदस्यता नविकरण धेरैले नगरेको महसुस मैले चाहि व्यक्तिगत रुपमा गरेको छु ।
 
निर्वाचन समितिमा संयोजक हुनुभएका तारा बराल दाइदेखि लिएर महासचिव तोया दाहाल, सचिव अग्नी चौलागाई, सदस्य लेखनाथ गौतमसम्मका झकझकाईले अधिवेशनमा सहभागी हुने निर्णय गरियो र कामबाट छुट्टी पनि मिलाइयो । ड्यालसबाट एउटै फ्लाइटमा निधो विकासराज न्यौपाने र सञ्जय घिमिरेले ग¥यौँ ।
 
शुक्रबार बिहान साढे ८ बजे सियाटलको टाकोमा विमानस्थल उत्रियौँ हामी । आयोजकको तर्फबाट शनिबार र आइतबारको मात्र बसोबासको व्यबस्था मिलाइएको जानकारी पहिलेनै इमेलबाट आइसकेको थियो ।
 
ड्यालसको ११० डिग्री फरेनहाइटको गर्मीबाट सियाटल झर्दा ५५ डिग्री फरेनहाइट तापक्रम थियो । मनमनै सोचेँ–दिउँसो कुनै स्टोरमा गएर ज्याकेट किन्नुपर्ला । तर दिउँसो हुँदै गएपछि तातो पनि छिप्पिदै गयो । ज्याकेट किन्नु नपर्ने भयो ।
 
सियाटल घुमाईका बारेमा अर्को आलेखमा लेख्नेछु । यसपटक चाहि नेजाको अधिवेशनकै बारेमा केन्द्रित हुन्छु ।
 
धेरै अग्रजहरुको अपेक्षा थियो–यसपटकको अधिवेशन र नेतृत्व सकेसम्म सर्वसम्मत रुपमा आइदेओस् । अमिलो मुख बनाएर कोही पनि सियाटलबाट फर्किनु नपरोस् भन्ने धेरैको आशय देखिन्थ्यो । त्यही भएर अन्तिम समयसम्म पनि अमेरिकाको भूगोललाई समेत समेट्नेगरि नेतृत्वमा पठाउन धेरै अग्रजहरुले राति ३ बजेसम्म मेहनत गरे । तर धेरै साथीहरुले आफ्नो व्यबहारिक कारण देखाएर अनिच्छा देखाए ।
 
जसको परिणाम अग्रजहरुको सहमति, अभ्यासभन्दा अलिकति तलमाथि भएर मनोनयन पत्र दर्ता भयो । व्यक्तिगत रुपमा भन्नुपर्दा म नेतृत्वको कुनै पनि पदमा बस्ने तयारीमा छँदै थिइन । साथीहरुले घरि महासचिव, घरि कोषाध्यक्ष पदमा रहन आग्रह गर्न थाले । टेक्ससबाट गएका हामीहरुले यसपटक सहमतिमा नेतृत्व चयन भएको खण्डमा विकासराज न्यौपानलेलाई उपाध्यक्षमा प्रस्ताव गर्ने सोच मात्र बनाएका थियौँ । तर विकासजीलाई पनि पारिवारिक दवाव थियो । सविताले पटक पटक फोन गरेर विकासजीलाई भनेको सुनिराखेको थिएँ–‘सियाटलबाट फर्किदा सँगै पद लिएर आउने होइन नि ।’ सहमति हुन्छ भने यस पटक नेतृत्वमा बसेर संस्थालाई सहयोग गर्ने इच्छा त थियो नै ।
 
निर्वाचन समितिले दिएको समयसीमाभित्र उम्मेदवारी परेन । नेतृत्वका लागि तयार र योग्य देखिनुभएका तोया दाहालले पारिवारिक र व्यबहारिक समस्या देखाउँदै उम्मेदवार हुन अनिच्छा दर्शाए । साथीहरुमा उम्मेदवार हुन रहर होइन भागाभागको अवस्था देखियो ।
 
 नेतृत्वमा आउनका लागि तयार देखिएका सुदीप पन्त पनि गतिलो टीम भएन भने एक्लैले केही गर्न नसकिने भन्दै उम्मेदवारी दर्तामा निष्कृय रहे ।
 
समिति तीनपटकसम्म समयसीमा बढाउन वाध्य भयो । अध्यक्ष लगायत मुख्य पदहरुमै उम्मेदवारी नपरेपछि निर्वाचन संयोजक तारा दाईमा तनाव थियो । ६ महिनाभित्र अर्को अधिवेशन गर्ने कि तदर्थ समिति गठन गरिदिने भन्ने अर्को तनाव सुरुभयो ।
 
अन्तिममा अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्ष लगायतमा पदमा सहमति गरेर उम्मेदवारी प¥यो । उम्मेदवारी दर्ता पुरासँगै नेतृत्व निर्विरोध निर्वाचित भयो । सुदीप पन्तजीको नेतृत्वमा उपाध्यक्षमा विकासराज न्यौपाने, महासचिवमा किरण मरहट्ठा, सचिवमा सुरज भण्डारी र कोषाध्यक्षमा मच्छेदेवी गुरुङ पदाधिकारी रहेको समिति चयन भयो । यो टिप्पणीकारले चाहि मध्यक्षेत्रको संयोजकको भूमिका पाएको छ ।
 
नेतृत्व सर्वसम्मत रुपमा चयनसँगै बन्दशत्रको थालनी भयो । अघिल्ला दुई अधिवेशनदेखि नेजामा आवद्ध साथीहरु क्रमशः घटिरहेका छन् । संख्यात्मक रुपमा तलमाथि भैरहेको छ । पुराना साथीहरु चित्त दुखाएर सदस्यता नवीकरण नगरि निष्कृय छन् ।
 
हाम्रो नेतृत्वका लागि थुप्रै चुनौतिहरु छन् । सबै साथीहरुलाई समेटेर लैजानु र संस्थालाई माथि पु¥याउन हामीबीच धेरै चुनौतिहरु छन् ।
 
हामी स्पष्ट छौँ–हकहित र अधिकारका कुराहरु हामी गर्दैनौँ । संभव नहुने ठूला कुरा गरेर भन्दा संभव रहेका साना काममा केन्द्रित हुनेछौँ ।
 
सामाजीक सञ्जाल मार्फत शूभकामना दिने क्रममा हिजो नेपालका पुराना तथा असाध्यै तिखो लेखनशैली भएका राजेश मिश्रको सटिक टिप्पणी थियो–‘मुलप्रवाहमा लैजाने कुरा हावादारी हो । राजनीतिमा लागेर समुदायको बेइज्जती नगर्नुहोला । जेहेन्दार पत्रकारलाई फेलोशीप दिनुहोला ।’
 
हामीले गर्नुपर्ने र गर्ने यी र यस्तै कामहरु हुन् । हाम्रो ध्यान आउँदो दुई वर्षसम्म यसैमा केन्द्रित रहनेछ । हामी नेजालाई सकेसम्म अमेरिकामा रहेका नेपाली संघसंस्थाहरुमध्य सबैभन्दा अब्बल बनाउन प्रयत्नशील रहनेछौँ । यो गर्न सकिएन भनेपनि नेजालाई बिगार्ने र भत्काउने छैनौँ । विवादमा ल्याउने छैनौ । सबै काम पारदर्शी गराउन गराउन मेरो पनि व्यक्तिगत रुपमा पहल हुनेछ ।
 
हामी अमेरिकामा नेपालीभाषामा लेखेर समुदायलाई सूचना सम्प्रेषण गर्छौ । समुदायका गतिविधिहरुलाई नेपालीहरु समक्ष पु¥याउन सहयोग गरिरहेका छौँ । यो हाम्रो पेशा होइन, हामीले गरेको सामाजीक काम हो । समाजमा आर्थिक रुपमा सक्षमहरुले आर्थिक सहयोग गरेर, बौद्धिक रुपमा सक्षमहरुले विज्ञता, अनुभव दिएर समुदायलाई सहयोग गरिरहेका छन् भने हामीले समुदायका गतिविधिलाई बाहिर ल्याएर सामुदायिक सेवा गरिरहेका मात्र हौँ । अमेरिकामा पत्रकारिता हाम्रो पेशा होइन, सोख र लगाव हो । जीवन निर्वाहको लागि हामीले व्यबसाय, काम गरिहेका छौँ ।
 
सबै मानिसहरु ‘दुधले नुहाएका’ हुँदैनन् । सबैका केही न केही कमि कमजोरी हुन्छन् । हामी नेतृत्वमा रहँदा कमजोरी हुन नदिन भगिरथ प्रयत्नशील हुनेछौँ । हामी कसैका पनि विगतलाई खोतल्दै अर्थात मसान उतार्दै हिँड्ने काममा समय खर्चिदैनौँ । सके भलो गर्छौ, नसके कुभलो पक्कै गर्नेछैनौँ । आफ्नो ठाउँबाट संस्थालाई ‘भाइब्रेन्ट’ गराउन कुनै कसर बाँकी राखिनेछैन ।
 
सबैको सद्भाव र सहयोगको अपेक्षा राखेका छौँ । र, अन्तिममा फेरि एउटा तथ्य नभुलौँ–‘हामी अमेरिकामा रहेका नेपाली सञ्चारकर्मीले लेखनी मार्फत सामुदायिक सेवा गरिरहेका हौँ । समय मिलाएर सामुदायिक सेवामा संलग्न भएका हौँ र हुनेनै छौँ । यो मेरो व्यक्तिगत प्रतिवद्धता पनि हो ।’
 
(लेखक नेजाका नवनिर्वाचित मध्यक्षेत्र संयोजक हुन् ।)