मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बीपीको साहित्यिक योगदान अतुलनीय

बीपीको साहित्यिक योगदान अतुलनीय


पोखरा । महामानव बीपी कोइरालाको ३६औँ स्मृति दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । प्रजातान्त्रिक समाजवादका विचारक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका उनकोे साहित्यिक योगदान पनि उत्तिकै महत्वपूर्ण छ । 
 
कवि तीर्थ श्रेष्ठका अनुसार नेपाली आख्यान विधाका शिखर व्यक्तित्व कोइराला नेपाली साहित्यमा यौन मनोविज्ञान भित्र्याउने प्रमुख व्यक्ति थिए । राजनीतिक रुपमा विशिष्ट छवि बनाउन सफल उनका साहित्य राजनीतिक विचार एवं प्रभावबाट मुक्त रहेको चर्चा गर्दै कवि श्रेष्ठले भने, “बीपीका साहित्यमा राजनीतिक गन्ध देखिँदैन तर उहाँको ‘एक रात’ कथामा राजनीतिकर्मीको पीडालाई भने सामान्य रुपमा व्यक्त गरिएको पाइन्छ ।” 
 
उत्कृष्ट साहित्य सिर्जनाका माध्यमबाट नेपाली साहित्यमा नवीनतम चिन्तन, आयाम, परम्परा एवं र शैली प्रदान गरी उनले नेपाली साहित्य जगत्मा ठूलो गुन लगाएको उनले बताए । 
 
साहित्यलाई कुनै राजनीतिक विचार कानूनले पनि नबाँध्ने बताउँदै श्रेष्ठले कोइरालाले आफ्नो जीवनको एक कालखण्डमा ‘म राजनीतिमा समाजवादी र साहित्यमा अराजकतावादी हुँ’ भनेको स्मरण गरे । 
 
आफ्नै स्वच्छन्दपन साहित्यको विशिष्टता हुने कुरामा जोड दिँदै श्रेष्ठले बीपीले आफ्नो एक अभिनन्दन समारोहमा साहित्यमा सम्राट पनि नाङ्गो हुन्छ भनेको चर्चा गरे । 
 
कोइरालाका ‘तीन घुम्ती’, ‘सुम्निमा’, ‘नरेन्द्र दाइ’, ‘हिटलर र यहुदी’ र ‘बाबु, आमा र छोरा’ उपन्यास छन् । उनका दोषी चश्मा र श्वेतभैरवी कथा संग्रहका साथै ‘आफ्नो कथा’ र ‘जेल जर्नल’ जीवनीमूलक कृति प्रकाशित छन् । कोइरालाका नेपाली र हिन्दी भाषामा गरी ३० वटा कथा छन् । 
 
साहित्यमा सोझो रुपमा कुनै किसिमको राजनीतिक प्रभाव नदेखिनु कोइरालाको विशिष्टिकृत साहित्यिक पहिचान भएको बीपी साहित्यका अध्येताहरू बताउँछन् । 
 
‘विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा विचार पक्ष’ शीर्षकमा विद्यावारिधि गर्नुभएका प्रा डा भूपती ढकाल ‘कमल’ सोझो रुपमा कुनै राजनीतिक प्रभाव साहित्यमा नदेखिनु कोइरालाको विशिष्ट साहित्यिक क्षमता भएको धारणा व्यक्त गरे । 
 
बीपीका साहित्यक रचना विभिन्न क्षेत्रसँग सम्बन्धित रहेको बताउँदै उनले ‘हिटलर र यहुदी’का साथै ‘मोदी आइन’ मानवतामूलक उपन्यास भएको बताए । 
 
यी उपन्यासमा मानवताका विविध पक्षबारे चित्रण गरिएको उल्लेख गर्दै प्रा ढकालले ‘सुम्निमा’ उपन्यास संस्कृतिमा आधारित छ भने ‘नरेन्द्र दाइ’ र ‘बाबु, आमा र छोरा’ उपन्यास नारीमूलक हुन् । 
 
बीपीले आफ्ना साहित्यलाई सोझो रुपमा राजनीतिक प्रभावबाट मुक्त राख्न सकेको बताउँदै उनले प्रतिकात्मक रुपमा भने धेरै ठाउँमा राजनीति पाइने उल्लेख गरे । 
 
“अविधा अर्थमा बिपीका साहित्यमा राजनीति देखिँदैन”, प्रा। ढकालले भने, “व्यञ्जना र लक्षणा अर्थमा भने उनका साहित्यमा धेरै ठाउँमा राजनीति घुसेको पाइन्छ ।” 
 
विश्व राजनीतिमा नै प्रभाव राख्ने बिपीको साहित्यिक योगदान पनि उत्तिकै महत्वपूर्ण रहेको उनले बताए ।