मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

सत्ताको शक्ति देखाइदिनोस्, ओली महाराज !

सत्ताको शक्ति देखाइदिनोस्, ओली महाराज !


प्रधानमन्त्री केपी ओलीज्यू, 
 
सर्वप्रथम त हरेश खाइसकेका नेपालीलाई आर्थिक समृद्धिको नारा अलापेर विश्वास आर्जन गरी सत्ताको सिंहासनमा चढ्न सफल हुनुभएकोमा ढिलै भए पनि बधाई छ । त्यसमा पनि इतिहासमै दुईतिहाइ बहुमतको शक्तिशाली सरकारको नेतृत्व गर्नु भएकोमा डबल बधाई ! सत्तामा पुगेपछि स्वभाविकरुपमा शक्ति आर्जन हुन्छ । यो विश्वमै लागू भैसकेको विषय हो । दुईतिहाइको विश्वास आर्जन भएपछि आफूले गरेका हरेक निर्णयहरु स्वभाविक लाग्छन् । आफूले बोलेका अभिव्यक्तिहरु महावाणीजस्तै महसुस हुन्छ । आफूले देखेका महत्वाकांक्षी सपनाहरु नै अन्तिम सत्यजस्ता लाग्छन् भन्नेकुरा बुद्धिमा बिर्को लागेकाहरुले चाल पाउन सकेनन् । तपाईंले पनि अहिलेसम्मका शासकहरुले गर्न नसकेका र नचाहेका कुरा पूरा गरिछाड्ने अठोट लिनुभएको छ । सपनामै सही, तपाईं त्यसलाई पूरा गर्ने अभीप्सामा लाग्नुभएको छ । म तपाईंका सपनाहरु एकसे एक पूरा भएको देख्न चाहन्छु । 
 
लक्ष्मीप्रसाद देवकोटाले भनेका थिए, उद्देश्य के लिनु उडी छुनु चन्द्र एक । उडेर चन्द्रमा छुने उद्देश्य लिए कमसे कम चन्द्रमा नै नछोइए पनि प्रगतिपथमा पुग्न त सकिन्छ । तपाईंले पनि सपना देखिसकेपछि ससानो सपना के देख्नु पानीजहाज, रेल, मोनोरेल, घरघरमा पाइपलाइनबाट ग्यास आदिआदि सपना बाँड्नुभएको छ । त्यसका लागि सबैभन्दा पहिले त देशमा समृद्धि हुनुपर्छ । तपाई देशलाई समृद्ध बनाउन कम्मर कसेर लाग्नुभएको पनि छ । त्यसैका लागि दुईचार प्रतिशत कर बढ्दैमा, आठदश प्रतिशत महंगी बढ्दैमा आकास नै खस्ने पनि होइन । कतिसम्म मूल्य वृद्धि गर्दा जनता आत्तिदैनन्, त्यहीअनुसार सबै क्षेत्रमा मूल्य वृद्धि नगरी आर्थिक समृद्धि कसरी गर्ने ? सम वृद्धि अर्थात् सबैमा वृद्धि गर्दा नै समृद्धि हुन्छ । आर्थिक समृद्धि पनि खोज्ने दुईतिहाइ सरकारले मूल्य वृद्धि ग¥यो भनेर अलाप विलाप गरेर पनि हुन्छ ? 
 
तर, प्रधानमन्त्रीज्यू, तपाईंले देखेको सपनालाई असफल पार्न अराष्ट्रिय तत्व अर्थात् तपाईंकै भाषामा अराष्ट्रवादीहरु सक्रिय बनिरहेका छन् । विदेशको समृद्धिबारे थाहा नपाएका, रेल, मोनोरेल र पानीजहाज नचढेका, विदेश सयर नगरेका, विश्वको चमत्कारबारे चाल नपाएकाहरु तपाईंको महान् वाणीबारे बहस गर्छन्, कटाक्ष गर्छन् । अहिले डा गोविन्द केसीले अनशनको आडमा सरकार हल्लाउने दुस्साहस गरेर तपाईंमाथि जोरी खोजीरहेछ । एउटा डाक्टरले खुरुखुरु आफ्नै दैनिक नित्यकर्म नगरेर, देशका जनताका लागि किन टाउको दुखाउनु परेको होला ? कस्तो लहडी मान्छे होला डा केसी पनि ? जनताको जनजीविका, स्वास्थ्योपचार, शिक्षा र आधारभूत आवश्यकताका बारेमा त सरकार गम्भीर छँदै छ नि ? बरु यसो एउटा मेडिकल कलेज खोलेर मालामाल हुने मार्ग छाडेर जुम्ला, जाजरकोटका पाखेहरुको लागि किन ज्यान धरापमा पारेको होला ? कति सन्की होला डा केसी ? डाक्टर भएपछि त अलि खान्दानीजस्तो हुनुपर्छ नि ? गरिब, दुःखी भनेर दुःख बेसाएको देख्दा म त छक्कै पर्छु । 
 
हेर्नुस्, तपाईको ओजस्वी सान र बन्दुकको गोलीजस्तो बोली सहन नसकेर अहिले प्रतिपक्ष कांग्रेस, विवेकशील साझालगायतका दल, केही थान डाक्टर, मानवअधिकारवादी, नागरिक समाज र ठेट्ना विद्यार्थीहरु त्यसै अर्थ न व्यर्थ कुर्लिरहेका छन् । ओली सरकारले चमत्कार गर्ने भयो, हाम्रो पालो नै नआउने भयो, ओलीका आसेपासेहरु मालामाल बन्ने भए भन्ने त्रासले अहिले विचराहरु कुरै नबुझी डा केसी भन्दै बुर्कुसी मार्दैछन् । जाबो रेलको कुरा के गर्नुभाथ्यो भाउन्न भएर तिनले रेल आउने बाटोमा अवरोध ल्याइसके ।
 
काठमाडौँमा मेलम्चीको पानी ल्याउँछु भनेर पूर्वप्रधानमन्त्री सन्तनेता कृष्णप्रसाद भट्टराईलाई कति उल्लीबिल्ली पारेका थिए ? अहिले आउने भयो त मेलम्चीको पानी । असम्भव भन्ने केही छैन । खाली नकारात्मक टिप्पणी गर्नेले मात्रै रेल र पानीजहाजको कुरालाई हावादारी भनेका हुन् । अन्डरलाइन रेलमार्ग खुलिसकेको कुरा बुध्दुहरुलाई के थाहा ? फेरि त्यत्रो लगानी कसरी सम्भव छ भनेर चिन्ता मान्छन् । एकपटक ब्ल्याक मनीलाई ह्वाइट बनाउने मौका दिने हो भने त्यही पैसाले पुग्छ, पानीजहाज र रेल किन्ने पैसा । एनआरएनसँग अकूत पैसा भए जनविद्युतमा लगानी गरोस्, फ्लोर खुल्ला छ ।  
 
सत्तामा पुगेपछि मात चढ्यो भनेर अल्पबुद्धि भएकाहरुले आरोप लगाउने गर्छन् । सत्ता भनेको के हो ? सत्ताको शक्ति कस्तो हुन्छ ? भन्ने कुरा सबैले बुझ्नु आवश्यक पनि छैन । जनताको काम खुरुखुरु भोट दिने हो । कहाँ बस्छ ? के खान्छ ? कुन ब्राण्डको पिउँछ ? भनेर चिन्ता लिने नै होइन । एकपल्ट मार्सी चामलको भात खानुभएको फोटो सार्वजनिक हुँदा कतिका टाउको दुख्यो । कतिलाई पखाला लाग्यो । मार्सी तपाईंले के ज्युनार गर्नुभएको थियो, डेढसय किलोको चामलको मूल्य बढेर दुईसय पचास पुग्यो । कति होटलले आफ्नो मेनुमै मार्सी थप गरे । के यो समृद्धि होइन ? मार्सी उत्पादन गर्नका लागि प्रोत्साहन होइन ? खोइ कुरा बुझेको ? भेडा जनतालाई केही थाहा छैन ।
 
अहिले सामाजिक सञ्जालमा तपाईंका विषय जोडेर ट्रोल, ठट्यौली र आलोचनाहरु भइरहेका छन् । आलोचना कसको भएको छैन र संसारमा ? अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्प आलोचनामुक्त छन् र ? जो ठूलो छ, शक्तिशाली छ, सत्तामा छ, शक्ति छ उसैको बढी आलोचना हुने त हो । दुई/चारजना ठेट्नाहरुले तपाईंको विरोध गर्दैमा, तपाईंको केही हल्लिदैन । तपाईंको पावर त देखिइसके नि ! डा केसी मरिगए नि जुम्ला छाड्दिन, वार्ता गर्न काठमाडौँ जान्न भन्थे नि ! तपाईंले आफ्नो पावर देखाइदिनुभयो । अब जबर्जस्ती अन्नपानी खुवाएर त्यो पात्तिएको बूढोलाई ठीक पार्न लगाउनु होला । निषेधित क्षेत्रमा विरोध गर्नेलाई च्याप्प समात्दै खोरभित्र जाकिदिनुपर्छ । विरोध गर्नेलाई खोजीखोजी पाता फर्काएर ठेगान लगाउनुपर्छ । 
 
अहिले तपाईंलाई श्री ३ जंगबहादुरका रुपमा दाँजेर हेर्न थालिएको रहेछ । तपाईं श्री ६ भइसक्नुभयो भन्ने कुरा विकासविरोधीहरुलाई के थाहा ? यो एक्काइसौँ शताब्दी हो र समृद्धिको युग पनि भएकाले श्री ६ को उपाधि नै तपाईंका हकमा लागू हुन्छ । नेपालका कुनचाहिँ शासकले पानीजहाज र मोनो रेलको कुरा गरेको थियो ? संसारमा समुद्रमुनिबाट पनडुब्बी कुँद्छन्, ग्यास र तेलका पाइपलाइन जोडेर एक राष्ट्रबाट अर्को राष्ट्रमा पुग्छ । हामीकहाँ भने झिनामसिना कुरा गर्दा पनि विरोधीहरुले खिसी गर्छन् । हुन त तपाईं शक्तिशाली देशमा जन्मिनुपर्ने हो । तपाईंका विचार, सोच, देशलाई धनी बनाउने संकल्प हेर्दा । एकसय वर्षअगाडि बढेर सोच बनाउँदा तपाईंका मर्म कसैले बुझेनन् । तपाईंले अब छानीछानी विरोधीलाई तह लगाउनुपर्ने देख्छु म । सर्वप्रथम सामाजिक सञ्जालमा बग्रेल्ती आलोचना गर्ने उत्ताउलाहरुलाई सबक सिकाउनोस् ।
 
अनलाइन मिडियाहरुलाई सेन्सरसिप लगाउनुहोस् । अटेरी कर्मचारीलाई कान निमोठेर बर्खास्त गर्न लगाउनोस् । काम छाडेर आन्दोलन गर्ने डाक्टर र स्वास्थ्यकर्मीलाई लाठीचार्ज गरेर तह लगाउनोस् । दुईतिहाइ भएका बेला पनि शक्ति प्रदर्शन गर्न नसके फुक्लेको ढिकीजस्तै निरीह भएपछि के गर्न सकिन्छ र ? दुईचार सिटेहरुले हेप्नेछन् । संसद् कब्जामा लिएर भए पनि आफ्नो स्वार्थका निर्णयहरु गरिहाल्नोस् । तबमात्रै तपाईं समाजवादको महान् यात्रामा अघि बढ्नुहुनेछ । अरु त के भनौँ र ! सबैले कमिलाको प्वाँख पलायो भनेर व्यंग्य हानेको देख्दा मैले आफ्नो आवेगलाई रोक्नै सक्दिन । 
 
अनि मैले पनि तपाईंले जस्तै डायलग मारिदिने गरेको छु, ‘कमिलाको प्वाँख होइन कमिना हो रकेटका कुरा गर, जेट विमानका कुरा गर, अब मसँग कुरा गर्दा दुईचार हजारका होइन, दुईचार अर्बका कुरा गर !’