मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकारको अधिनायकवादी क्रियाकलापविरुद्ध कांग्रेसले देशभर आन्दोलन चर्काउने

सरकारको अधिनायकवादी क्रियाकलापविरुद्ध कांग्रेसले देशभर आन्दोलन चर्काउने


हिमालयखबर संवाददाता–
काठमाडौँ– नेपाली कांग्रेसले देशभर सरकारविरुद्ध आन्दोलन चर्काउने भएको छ । 
 
मंगलबार पार्टी कार्यालय सानेपामा बसेको पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारीहरुको बैठकले वर्तमान सरकारको अधिनायकवादी एवं जनविरोधी क्रियाकलापविरुद्ध विरोध प्रदर्शनका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।
 
कांग्रेस बैठकले साउन ३, ५ र ८ गते दिउँसो १ बजे काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ । सो क्षेत्रलाई केपी ओली सरकारले निषेधित क्षेत्र घोषणा गरेको थियो । 
 
प्रमुख प्रतिपक्ष कांग्रेसले सरकारका जनविरोधी क्रियाकलापको विरोध गर्दै यही साउन १५ गतेदेखि देशका ७७ वटै जिल्लाका सदरमुकाममा देशव्यापी आन्दोलनसमेत प्रदर्शन गर्ने भएको छ । 
 
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारका जनविरोधी क्रियाकलापका विरुद्ध साउन १५ गते सदरमुकामहरुमा विरोध प्रदर्शनका लागि जिल्ला कार्यसमितिहरुलाई निर्देशन दिएको जानकारी दिएका छन् । 
 
जिल्लाका भ्रातृ तथा शुभेच्छुक संस्था, क्षेत्र, गाउँ नगर इकाइहरुलाई समेत सरकारका अधिनायकवादी र जनविरोधी क्रियाकलापका विरुद्ध सक्रियताका साथ जनताका बीचमा लगेर विरोध प्रर्दशनमा सहभागी हुन निर्देशन दिएको उनले बताएका छन् । 
 
संघीय सरकार तथा प्रदेश सरकार निर्वाचित भएर आएपछि जनताको प्रतिनिधित्व गर्दै लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक संविधानको भावना र मर्मअनुसार अगाडि बढ्नुको सट्टा सरकार कानुनी शासनको खिल्ली उडाउँदै मनोमानी ढंगबाट अघि बढिरहेको कांग्रेसले ठहर गरेको छ । 
 
डा केसीको स्वास्थ्यबारे छलफल 
 
कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीसँग डा. केसीको स्वास्थ्य स्थिति थप गम्भीर बन्दै गएको विषयमा छलफल गरेका छन् । कांग्रेस सभापति देउवाले मंगलबार प्रधानमन्त्री ओलीलाई भेटेरै केसीको स्वास्थ्य अवस्थाप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका हुन् । 
उनले प्रधानमन्त्रीसँगको भेटमा तत्काल वार्ताका माध्यमबाट डा केसीले उठाएका माग पूरा गरी उनको जीवनरक्षा गर्नु सरकारको कर्तव्य भएको बताएका छन् । 
 
ओलीसँगको भेटमा सभापति देउवाले कांग्रेसले ल्याएको अध्यादेशलाई हुबहु विधेयकका रुपमा नल्याए विरोधको सामनाका लागि तयार रहन प्रधानमन्त्री ओलीलाई चेतावनीसमेत दिएका छन् । 
 
देउवा प्रधानमन्त्री भएको बेला विधिसम्मत् तरिकाबाट गरिएका नियुक्तिहरु गैरकानूनी तरिकाबाट खारेज गरिएको, वृद्धभत्ता पाउने उमेर सत्तरी वर्षबाट घटाई ६५ वर्षमा दिने निर्णय गरेको र मृगौला, स्पाइनल इन्जुरी, क्यान्सर तथा मुटु रोगका गम्भीर बिरामीलाई  मासिक ५ हजार भत्ता दिने निर्णय कार्यान्वयन नगरेको भन्दै कांग्रेसले कडा आपत्ति जनाएको छ ।
 
मुलुकका समस्यालाई गम्भीरताका साथ लिनुभन्दा प्रधानमन्त्री केपी शर्मा ओली गैरजिम्मेवार तरिकाबाट प्रस्तुत भएको भन्दै कांग्रेसले स्वतन्त्र प्रेसको अधिकारलाई कुण्ठित गर्ने, निजी क्षेत्र तथा राष्ट्रिय जीवनका विभिन्न क्षेत्रहरुले कानून मान्दै आफ्ना क्रियाकलापहरुलाई अगाडि बढाउने स्वतन्त्रतामाथि बन्देज लगाइएको विरोधस्वरुप सडक आन्दोलन गर्न बाध्य हुनुपरेको जनाएको छ । 
 
आजको बैठकमा नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु: सुरेन्द्रराज पाण्डे, मीन विश्वकर्मा, रामकृष्ण यादव, प्रवक्ता विश्वप्रकाश शर्मा, लक्ष्मी परियार लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।