मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

समाजवादी डाक्टर नचिन्नु सरकारको गलत समाजवादी चिन्तन

समाजवादी डाक्टर नचिन्नु सरकारको गलत समाजवादी चिन्तन


डाक्टर गोविन्द केसी लामो समयदेखि नेपालमा अहिंसात्मक आन्दोलन गर्ने एक पात्रको नाम हो ।  उनले व्यक्तिगत स्वार्थ भन्दा माथि रहेर शैक्षिक र स्वास्थ्य जगतको समग्र संरचनागत सुधारका विषयमा सुरुदेखि अहिलेसम्म एउटै अावाज उठाउँदै आएका छन् । 
 
नेपालका त्यस्ता विरलै डाक्टरहरू छन् जसको नत आफ्नै घर छ, नत जीवनको भावी सन्तती र शेष पछिको सम्पतिको दाबेदार नै छ । उनले चाहेमा शानसंगको सुबिधासम्पन्न जीवन जिउन सक्थे । तर उनले आफ्नो चाहनालाई थाती राख्दै नागरिकहरूको अधिकारको लडाइमा आफूलाई होमेका छन् । 
 
आजभोली धेरै ठाउँबाट समाजवाद र समृध्दीका कुराहरू उठिरहेका छन् । उनको माग पनि त्यही धारको परिपूर्णताको लागि हो । कम से कम हिजोका दिनमा त नेपालको दुरदराजको एक गरिब नेपालीले या त क्षमता या महाराजाको निगाहबाट बुढानिलकण्ठ स्कुल सम्म पढ्न पाउन्थ्यो ।
 
यसैबाट केहीले डाक्टर इन्जिनियर सम्म बन्ने मौका पाएका छन् । तर अहिलेको नेपालको प्राविधिक र मेडिकल शिक्षा पुरै निश्चित वर्गको घेरामा सीमित रहन गएको छ । जो सँग पैसा छ तिनले यो शिक्षामा पहुँच बढाउन सक्छन् । डा. के.सी. यसैलाई चिर्न चाहन्छन् । तर यहाँ समाजवादको खोल ओढेकाले नै समाजवादी केसीलाई चिन्न सकिरहेको अवस्था छैन ।
 
उनले हचुवा किसिमले विगत ६/७ वर्षदेखि चिकित्सा शिक्षाको विकृति विरुद्धमा आवाज उठाएका छैनन् । नेपालको दुरदराजमा चिकित्सा सेवाको पहुँच र गरिबका छोराछोरीलाई चिकित्सा शिक्षामा सर्वसुलभता नै उनको माग हो । जो त्रि.वि.वि. का उपकुलपति केदारभक्त माथेमाको संयोजकत्वमा गठित आयोगले समेत पुष्टि गरेको विषय हो ।
 
यो कुनै लक्षित स्वार्थमा भन्दा पनि नेपालको परिवेश र समतुल्य न्यायको लडाई विषय पनि हो। माथेमा आयोगले देखाएको विवरणमा काठमाडौँ उपत्यकामा ८ लाख र मध्यपश्चिममा ३६ लाख जनसंख्या बराबर एउटा मेडिकल कलेज रहेको र २५ लाख जनसंख्या भएको सुदूरपश्चिममा एउटै पनि कलेज नभएको लगायतका विभिन्न विषयहरूलाई औँल्याएको छ । यसलाई कसैले पनि राजनैतिक रंग दिनु भनेको मुर्खतापुर्ण सोच हो । 
 
के जुम्ला-हुम्ला र ताप्लेजुङले काठमाण्डौको जस्तै सामाजिक न्याय पाउनु पर्छ भन्दा गलत हो ? 
 
उनको लडाइमा कुनै लक्षित राजनैतिक दलको रंग लगाउनु भनेको फोहरी खेल हो । उनले विभिन्न समयमा गठन भएका काँग्रेसदेखि एमाले सम्मका सरकारसँग लडाइ लड्दै आएका छन् । यो नै उनको दलगत स्वच्छताको प्रमाण हो । नेपालका राजनेताले साँच्चै छातीमा हात राखेर बोल्ने हो भने उनको मागको दोष समतामुलक समाजको कल्पना हो । 
 
नेपालका नेताहरू पद नहुँदा र पद प्राप्ति पछि बिल्कुल फरक चिन्तनबाट अगाडी बढ्छन् । जो हिजोका दिनको पञ्चायती संस्कारको उपज हो ।  हरेक नेताले सत्तामा रहेका बेला देख्ने तीनै पार्टीका आसेपासे र नजिकको परिवार मात्र रहेछ । यो साँगुरो घेरामा केपी सरकार पनि फँसेको छ । 
 
नेताले कहिले पनि जीत र उन्मादको दम्भ देखाउनु राम्रो संकेत होइन । अहिलेको नेपालको सरकारले दुई तिहाइ र कोरा नाराले देश चलाउने प्रयास गरेको छ । दुई तिहाइको नेताले झनै समझदारीपुर्ण रूपमा पार्टी र सीमित घेरा भन्दा माथि उठ्न सक्नु पर्ने हो । डा. केसीले उठाएका जनताका मुद्दालाई आत्मसात् गर्नु पर्ने हो  तर अहिलेका नेतृत्व त्यो नभएर सीमित वर्गको नेता बन्न गएको अवस्था छ । जो हिजोका दिनका राजामहाराजाको सोचसँग मिल्दो छ । 
 
नेपाली समाजले धेरै पटक देशको समृध्दीकालागी लडाइ लड्यो । नेपालीले धेरै शासक फेरे ।  शासक फेरिँदैमा  केही हुँदो रहेनछ । हाम्रो प्रवृत्ति जो हिजो राणा कालमा थियो, केही मात्रामा पञ्चहरुले बदले र त्यसैको अंश अहिलेका शासकले उपयोग गरिरहेका छन् । 
 
सोझो तरिकाले हेर्ने हो भने गोविन्द केसीले मात्र दुईवटा कुरा उठान  गरेकाछन । उनले उठाएको एउटा पक्ष भनेको शैक्षिक संस्थाको संस्थागत विकाससँग सम्बन्धित छ । दोस्रो भनेको स्वास्थ्य शिक्षाको गुणस्तर विकास एवम् सर्वसाधारणको पहुँचसँग सम्बन्धित छ । यस एजेण्डाले ओली सरकारको समाजवाद र समृद्ध नेपालको नारालाई नै पूर्णता दिने देखिन्छ । तर किन एक-एक उनले दुई तिहाइ र बहुमतको कुरा उठाएका छन् । त्यो रहस्यपूर्ण नै छ । 
 
दम्भ र घमण्डले कसैलाई फाइदा  गर्दैन । अरूले जे बोलुन त्यसले केही परक पर्दैन । नेतृत्वमा पुग्न अघि केपी ओलीले के बोले त्यसले पनि महत्त्व राख्दैन । अहिले उनी नेकपाको नेता मात्र हैनन देशकै नेता हुन ।
 
उनमा हरेक नेपालीको नेता हुँ भन्ने किसिमले पार्टी भन्दा माथि रहेर सोच्ने शक्ति हुनुपर्छ । हामीलाई थाहा नै छ पाण्डवहरूले कौरवसँग मात्र पाँच गाउँ मागेका थिए । त्यो पनि दिएनन् । सत्ताको उन्मादले उनीहरूको वंश नै सकियो । नेपाल कै कुरा गर्ने हो भने राजा महेन्द्रले प्रजातन्त्र नमासेको भए सायद अहिले जापानको जस्तै राजतन्त्र नेपालमा हुन्थ्यो होला ।
 
यसैले डा. केसीले उठाएका मुद्दाहरू अहिले मर्लान् वा जित्लान् भन्दा पनि यसको सामाजिक धरातल हेर्नु पर्छ । यो अहिलेको सत्तारुढ दलको साझा घोषणापत्र कै आशयको समाजवादी विचारबाट विकसित छ । तर यदि यो सरकारले चिन्न सकेन भने यिनले भन्ने गरेको समाजवादको अर्थ जनताले लगाउने छन् । बल्ल त्यो एक दिन नेकपाको पनि होस खुल्ने छ र डाक्टर केसीको समाजवाद चिन्नेछ ।
 
तस्बिर: सामाजिक संजाल