मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विश्वकप फुटबलको उपाधि फ्रान्स र क्रोयसियामा कसले चुम्ला ?

विश्वकप फुटबलको उपाधि फ्रान्स र क्रोयसियामा कसले चुम्ला ?


हिमालयखबर संवाददाता- 
काठमाडौँ । फिफा विश्वकप फुटबलको २१औं संस्करणको उपाधि कसले चुम्ला ? यही कौतुहलता आम फुटबलप्रेमीमा बढेको छ ।
 
उपाधि भीडन्तमा रहेका फ्रान्स र क्रोयसियामध्ये कसले मार्ला त बाजी ? प्रतीक्षाको घडी नजिकिँदैछ । यही असार ३१ गते आइतबार विजेताले चुम्नेछन् संसारकै महंगो ट्रफी र थप्नेछन् स्टार । 
 
विश्वकपको ट्रफीबाट एक कदम पछि रहेको फ्रान्स दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुम्ने दाउमा छ । यता, विश्वकपको फाइनलमा पहिलोपटक पुगेको क्रोएसिया आफ्नो फुटबल इतिहासमा स्वर्णिम काल बनाउन आतुरमात्रै छैन, आफ्नो जर्सीमा एउटा स्टार चम्काउने प्रतीक्षामा छ । 
 
विश्वकपको उपाधि उचाल्ने राष्ट्रले १६ क्यारेट सुनको ट्रफीसहित ३८ मिलियन अमेरिकी डलर हात पार्नेछ । दोस्रो हुने टीम पनि निरास हुनुपर्ने छैन । किनकि उसले पनि १० मिलियन अमेरिकी डलर कम अर्थात् २८ मिलियन अमेरिकी डलर हात पार्नेछ । 
 
सन् २०१४ मा ब्राजिलमा आयोजित विश्वकपको विजेताले ३५ मिलियन डलर प्राप्त गरेको थियो भने दोस्रो हुनेलाई फिफाले २५ मिलियन डलर प्रदान गरेको थियो । तेस्रो हुने टिमले २४ मिलियन डलर हात पर्दा चौथो स्थानमा चित्त बुझाउने टोलीले २२ मिलियन अमेरिकी डलर पाउनेछ । 
 
विश्वकपको क्वार्टरफाइनलमा पुग्ने ८ वटा देशलाई पनि फिफाले पुरस्कृत गर्नेछ । अन्तिम ८ मा पुग्नेले प्रतिटोली १६ मिलियन डलर पाउँछन् । 
 
यस्तै, राउन्ड १६ मा पुग्ने टिमले पनि खाली हात फर्किने छैन । उत्कृष्ट १६ ले प्रतिटिम १२ मिलियन डलर प्राप्त गर्छन् । विश्वकपमा समूह चरणमा खेल्ने टिमलाई पनि फिफाले रित्तो हात घर फर्काउँदैन । समूह चरणबाटै घर फर्किने टिमले पनि ८ मिलियन डलर हात पार्छन् । 
 
फिफाले ४ सय मिलियन डलर पुरस्कारमा मात्रै खर्च गर्दैछ । ब्राजिल विश्वकपमा ३५८ मिलियन डलर पुरस्कारमा मात्रै खर्च भएको थियो । 
 
विश्वकप खेल्ने प्रत्येक टिमलाई खेलको तयारीका लागि १.५ मिलियन डलर दिइने गरिन्छ । त्यस्तै, विश्वकप खेल्ने हरेक खेलाडीको १३४ मिलियन डलरबराबरको बिमासमेत गरिएको हुन्छ ।
 
सन् १९७० सम्म विश्वविजेता टीमले ‘जुल्स रिम’ अर्थात ट्रफी पाउने गरेकोमा ब्राजिलले लगातार तीनपटक १९६४, १९६६ र १९७० मा विश्वकप जितेर ट्रफी आफैँले राखेको थियो । जसको तौल ६ किलो १७५ ग्राम रहेको छ । ट्रफीको तलतिर हरियो पट्टी रहेको हुन्छ । सूर्यको किरण त्यसमा पर्नासाथ त्यो यति तेजले चम्किन्छ कि त्यसले आँखाको चमक नै बन्द गरिदिने शक्ति राख्छ । 
 
सुनबाट निर्मित ट्रफी छुन पाउनु संसार जित्नु बराबरै मानिन्छ । त्यसैले ३२ देशका खेलाडीहरु ज्यान फालेर ट्रफी चुम्ने प्रयास गर्छन् । अब फ्रान्स र क्रोयसिया को भाग्यमानी बन्छ, त्यो थाहा पाउन भने फाइनल खेल हेर्नैपर्छ ।