मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

चीनलाई उपहार पठाइएका गैँडाको चितवनबाट बिदाइ

चीनलाई उपहार पठाइएका गैँडाको चितवनबाट बिदाइ


चितवन । नेपाल सरकारले चीनलाई उपहारस्वरुप दिन लागेका दुई गैँडालाई मंगलबार चितवनबाट बिदाइ गरिएको छ । काठको खोरभित्र राखिएका गैंडालाई स्काभेटरको सहायताले ट्रकमा राखेर काठमाडौं पठाइएको हो ।
 
यही असार २८ गते गैंडालाई विशेष कार्गो एयरमार्फत चीन पठाउने कार्यक्रम छ । गैंडालाई काठमाडौं लगेर सदर चिडियाखाना जाउलाखेलमा राखिने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदबहादुर ढकालले जानकारी दिए । 
 
नेपालभित्र नै गैंडा वा अन्य जनावर स्थानान्तरण गरेको जस्तै गरी काठमाडौं लगिएको उनले बताए । गैंडाको बिदाइका लागि सौराहामा एक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
 
गैंडासँगै २ जना चिकित्सक, ३ जना अन्य प्राविधिकसहित १४ जनाको टोली चीन जाँदैछ । निकुञ्जका वरिष्ठ चिकित्सक डा। कमल गैरेको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोषका एक प्राविधिक र तीन सहयोगीसहित गैंडा चीन पठाइन लागेको हो ।
 
चीनले आगामी असार २८ बिहीबार गैंडा बोइङमा राखेर ४ बजे नेपालबाट लैजाने कार्यक्रम छ । चीनबाट एकजना भेटेरेनरी चिकित्सक, दुईजना किपर र विमानचालक आउने छन् । चीनलाई दुई जोडी गैंडा पठाउने सरकारको निर्णयअन्तर्गत पहिलो चरणमा डेढ वर्षको भद्र र २ वर्षकी रुपसीलाई चीन पठाउन लागिएको हो । 
डेढ महिनाअघि निकुञ्जबाट ल्याइएका गैंडालाई ल्याएर एक विशेष प्रकारको काठको खोर (पिट बुमा) मा राखेर बाहिर वातावरणसँग अभ्यस्त बनाउने काम गरिएको थियो ।
 
एकै वर्षमा एक जोडीमात्रै पठाउन मिल्ने कानुनी व्यवस्था रहेकोले अर्को एक जोडी गैडालाई अर्को वर्षमात्रै पठाइने छ । चीन पठाउने थप दुई गैंडालाई पनि बुमामा राखिएको छ । उनीहरुलाई चीनको चिमेलाङ पार्क र सांघाई वाइल्ड एनिमल पार्कमा राखिने भएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट अहिलेसम्म विभिन्न देशमा २६ गैंडा उपहारस्वरुप पठाइएको छ ।
 
कुन कुन देशलाई दिइयो गैँडा उपहार ? 
 
सरकारले चितवन राष्ट्रिय निकुञ्जबाट ३० वटा गैँडा विभिन्न देशलाई उपहारस्वरुप दिएको छ । विगत ३४ वर्षको अन्तरालमा ११ वटा देशलाई ३० वटा गैँडा उपहार दिइएको हो । 
 
सन् १९८४ मा भारतलाई ४ वटा, सन् १९८७ मा अमेरिकालाई ४ वटा, सन् १९९० मा जर्मनीलाई २ वटा, सन् १९९० मै अमेरिकालाई २ वटा, सन् १९९३ मा बंगलादेशलाई २ वटा, १९९८ मा बेलायतलाई २ वटा गैँडा उपहारस्वरुप दिइएको थियो । 
 
त्यसैगरी, सन् २००२ मा जापानलाई २ वटा, सन् २००६ मा अष्ट्रियालाई २ वटा र त्यसयता बर्मा, थाइल्यान्ड र पाकिस्तानलाई दुई–दुईवटा गैँडा उपहार दिएको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए ।