मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

बोक्सी बनायौ किन ?

बोक्सी बनायौ किन ?


बोकी नीच विचार दोष यसरी बोक्सी भनी लाउँछौ
बोक्सी हुन्छ गरीव मात्र कि धनी बोक्सी कतै पाउँछौ ?
पैसा छैन धनी म छैन धनकी रोगी र दाम्री भएँ
गोरी छैन म रूपकी मखमली काली नराम्री भएँ
 
कस्तो कानुनमा छ वा नियममा बोक्सी कहाँ लेखियो ?
आँखा चिम्म गरी अचेतन हुँदा बोक्सी कता देखियो ?
तातो रक्त फलामले अधरमा डामी रुवायौ किन ?
मेरो छैन कसूर क्यै तर यसै बोक्सी बनायौ किन ?
 
बोक्सी मन्त्र सिकाउने गुरु भए बस्छन् कहाँ लौ भन ? 
जान्ने हौ यदि जाउ पक्रन उतै को सक्तछौ पक्रन ? 
सानो जात भनेर हेप्न यसरी कल्ले सिकायो ? भन 
एक्ली छे असहाय निर्धन भनी दोषी बनायौ किन ?   
 
बाँधी कुट्न जुटेर उद्यत हुँदा ईनाम के पाउँछौ ?
बोक्सी होस् तँ भनेर दोष नभए के अर्थमा लाउँछौ ? 
सक्थ्यौ पिट्न मिलेर आज कसरी बोक्सी म हुन्थेँ भने ?
बोक्सीमन्त्र जपेर फुत्त सजिलै उम्केर जान्थेँ हुँ नि 
 
मेरो हुर्मतको बसेर रमिता के स्वादले हेर्दछौ ? 
मैले अश्रु बगाउँदा भलभली कुन् स्वार्थले हाँस्दछौ ? 
नाङ्गेझार बनाउँदै अजव यो सिस्नो लगायौ किन ?
सम्झी काँतर आज एक अबला आची खुवायौ किन ?
 
 
बोक्सी हुन्छ भनेर छैन मनमा विश्वास रत्तिभर
बोक्सीको उपमा दिएर अरुले बोक्सी यसै हुन्छ र ?
यस्तो अन्ध परम्परा किन बढ्यो संस्कार भो जर्जर
बस्छौँ मूर्ख बनेर हाय कसरी मान्छे सबै आखिर ?
 
आफैँभित्र पसेर हेर भ्रमकी बोक्सी त्यहाँ पाउला
आफ्नै विम्व पिछा गरेर घरमै बोक्सी बनी आउला
यस्तै हुन्छ भनेर सम्झ मनको विश्वास अन्धो हुँदा
छिट्टै चेत खुलाउ नत्र मनले आएर तर्साउला
०००००