मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नयाँ दिल्लीमा एकै परिवारका ११ जनाको शव, हत्या कि आत्महत्या ?

नयाँ दिल्लीमा एकै परिवारका ११ जनाको शव, हत्या कि आत्महत्या ?


नयाँदिल्ली । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीको उत्तरी क्षेत्रमा रहेको एक निजी आवासमा एघार जनाको शव भेटिएको छ । बुरारी भन्ने ठाउँमा रहेको एउटा घरभित्र ती शवहरु भेटिएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । 
 
प्रहरी अधिकारीका अनुसार ११ जनामध्ये १० जनाको शव झुण्डिएको अवस्थामा भेटिएको थियो भने एकजना ७५ वर्षीय महिलाको शव भने घरको भूइँतल्लामा थियो । 
 
झुण्डिएको अवस्थामा भेटिएका ती सबैको आँखामा पट्टी बाँधिएको छ । यहाँको एक स्थानीय इन्डिया टुडे टिभि च्यानलले सो जानकारी दिएको छ । मृत्यु भएकामा सात जना महिला र चार पुरुष रहेका छन् । 
 
यसरी मृत्यु हुने सबैजना नयाँ दिल्लीमै प्लाइउडको व्यापार गर्दै आएका ललित भन्ने व्यक्तिको परिवारका सदस्य हुन् । उनीहरु विगत दुई दशकभन्दा बढी समयदेखि त्यही घरमा बस्दै र व्यापार गर्दै आएका थिए । 
 
उनीहरुले सञ्चालन गरेको पसल बन्द भएको देखेपछि छिमेकीहरुले सोधखोज गरेका थिए । त्यसपछि मात्र आइतबार बिहान घटना सार्वजनिक भएको हो । तर पनि घटना केहीदिन पहिले नै भएको हुन सक्ने अनुमान गरिएको पनि सो समाचारमा जनाइएको छ । 
 
दिल्ली प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको जनाएको छ । प्रहरीले सामुहिक आत्महत्या या उनीहरुलाई झुण्याएर मारिएको हुनसक्ने दुवैको प्रारम्भिक अनुमान गरेको छ । 
 
उनीहरुको शव घरको सिलिङमा रहेको फलामको डण्डीमा झुण्डिएको अवस्थामा थियो । प्रहरीले अनुसन्धानका लागि छिमेकीहरुसँग सोधपुछ गर्ने र सिसिटीभीको फुटेजहरु अध्ययन गर्ने काम गरिरहेको प्रहरी अधिकारीहरुले बताएका छन् । 
 
प्रहरीले यसलाई एउटा ठूलो रहस्यमय घटनाका रुपमा लिएको छ । उसले यस घटनाको गम्भीर रुपमा अनुसन्धान थालिएको जनाएको छ । एएफपी