मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

फ्रान्ससँग पराजित हुँदै अर्जेन्टिना विश्वकपबाट बाहिरियो

फ्रान्ससँग पराजित हुँदै अर्जेन्टिना विश्वकपबाट बाहिरियो


काठमाडौँ- फ्रान्ससँग पराजित हुदै डिफेन्डिङ च्याम्पिएन अर्जेन्टिना विश्वकप फुटबलअन्तर्गत प्रिक्वाटरफाइनलबाट बाहिरिएको छ । विश्वकप फुटबलको पहिलो प्रिक्वाटरफाइनलमा फ्रान्ससँग ४–३ गोलअन्तरले पराजित हुदै अर्जेन्टिना विश्वकपबाट बाहिरिएको हो ।
 
खेलको १३औं मिनेटमा इन्टोइनी ग्रिज्म्यानले पेनाल्टीबाट गोल गर्दै फ्रान्सलाई १–० गोलको अग्रता दिलाएका थिए । मार्कुस रोजोले आफ्नो डिबक्सभित्र बाप्पेलाई लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट ग्रिज्म्यानले सुन्दर गोल गर्दै अग्रता दिलाएका थिए । अर्जेन्टिनाका एन्जल डि मारियाले उत्कृष्ट गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याएका थिए । उनले खेलको ४१औं मिनेटमा डिबक्स बाहिरदेखि प्रहार गरेको बल गोलमा परिणत गरेका थिए ।
 
पहिलो हाफमा दुबै टिमले १–१ गोलको बराबरी गरेका थिए । दोस्रो हाफमा फ्रान्सले ३ गोल गर्दा अर्जेन्टिनाले भने २ गोल मात्रै गर्न सक्यो ।
 
खेलको ४८औं मिनेटमा गाब्रियल मेर्काडोले गोल गर्दै अर्जेन्टिनालाई २–१ गोलको अग्रता दिलाएका थिए । उनले कप्तान लियोनल मेस्सीको पासमा गोल गरेका थिए ।
 
खेलको ५७औं मिनेटमा फ्रान्सले गोल गर्दै २–२ गोलको बराबरीमा पुर्याएको थियो । फ्रान्सका लागि बेन्जामिन पभार्डले गोल गर्दै फ्रान्सलाई बराबरीमा पुर्याएका थिए । त्यसको ७ मिनेटपछि अर्को गोल गर्दै फ्रान्सले ३–२ गोलको अग्रता बनाएको हो । यो पटक भने फ्रान्सका एमबाप्पेले गोल गर्दै ३–२ गोलको अग्रता दिलाएका थिए । एमबाप्पेले खेलको ६८औं मिनेटमा अर्को गोल गर्दै ४–२ गोलको अग्रता दिलाएका थिए । फ्रान्सले ११ मिनेटभित्र ३ गोल गरेको थियो ।
 
खेलको अतिरिक्त समयमा अर्जेन्टिनाले गोल गर्दै ४–३ गोलको अवस्थामा पुर्याएपनि फ्रान्सलाई रोक्न भने सकेन । अर्जेन्टिनाका लागि सर्जियो अगुएरोले गोल गरेका थिए ।
फ्रान्ससँग पराजित हुदै अर्जेन्टिना विश्वकप फुटबलदेखि बाहिरिएको छ । फ्रान्स विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । एजेन्सी