मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

देशभर रोपाइँ गरी १३औँ राष्ट्रिय धान दिवस मनाइयो

देशभर रोपाइँ गरी १३औँ राष्ट्रिय धान दिवस मनाइयो


काठमाडौँ । काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा रोपाइँ गरी शुक्रबार १३औँ राष्ट्रिय धान दिवस मनाइएको छ । 
 
‘व्यावसायिक धानखेतीको आधार, सामुदायिक नर्सरीको विस्तार’ नाराका साथ खाद्य सङ्कट उत्पन्न हुन नदिन भातबाहेक अन्य खाद्यान्नलाई पनि खानाका रुपमा प्रयोग गर्न सुझाउँदै उक्त दिवस मनाइएको हो । 
 
कृषि विकास मन्त्रालयका अनुसार धानखेती हुने करिब १५ लाख हेक्टर क्षेत्रफलमध्ये आजसम्म १८ प्रतिशत रोपाइँ भइसकेको छ । तराईमा ७० प्रतिशत, पहाडमा २६ तथा हिमाली क्षेत्रमा ४ प्रतिशत धानबाली लगाइन्छ । मन्त्रालयका अनुसार आव २०७२र७३ मा करिब १४ लाख हेक्टरमा ४३ लाख मेट्रिक टन धान उत्पादन भएको छ । 
 
धान विज्ञ भोलामानसिंह बस्नेतले बिहानबेलुकी नै खानामा भात खाने बानीमा सुधार गर्दै गहुँ, फापरको रोटी, आलुलाई खानामा समावेश गर्न सके नेपालमा चामलको अभाव नहुने दाबी गरे । कृषकले बीउ तथा मल छनोटमा ध्यान पु¥याए अहिले भन्दा २० प्रतिशत बढी धान उत्पादन गर्न सकिने उनको भनाइ छ । 
 
सन् २०३० सम्म वार्षिक साढे छ लाख मेट्रिक टन धानको माग हुने भएकाले त्यसको आपूर्तिका लागि कम्तीमा पनि १६ प्रतिशत धान उत्पादनमा वृद्धि गर्नुपर्ने हुन्छ । पछिल्लो १० महिनामा नेपालले रु १८ अर्ब ८६ करोडको चामल आयात गरेको छ । 
 
यसैगरी आज राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको भातृ सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक किसान सङ्गठन नेपालले काठमाडौँको चन्द्रागिरि नगरपालिकाको सतुङ्गलमा धान रोपाइँ कार्यक्रमको आयोजना गरेको छ । 
 
उक्त कार्यक्रममा भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बा, राज्यमन्त्री विक्रमबहादुर थापा, सहायकमन्त्री दिनेश श्रेष्ठ, सङ्घीय मामिला र स्थानीय विकास सहायकमन्त्री रेशम लामालगायतको उपस्थिति रहेको थियो । 
 
चितवनमा ११ प्रतिशत रोपाइँ 
 
राम्ररी वर्षा नहुँदा मध्यअसार लाग्दासमेत चितवनमा पर्याप्त मात्रामा रोपाइँ हुन सकेको छैन । सिँचाइ अभावले जिल्लामा अघिल्लो वर्षभन्दा आधामात्रै रोपाइँ भएको छ । जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख सुधीर श्रेष्ठले यसवर्ष मौसम सक्रिय नहुँदा जिल्लामा ११ प्रतिशतमात्रै रोपाइँ भएको जानकारी दिए । यतिखेर किसान आकाशको पानी पर्खिएर बसेका छन् ।
 
अघिल्लो वर्ष असार १५ सम्म २० प्रतिशत रोपाइँ भएको चितवनमा यसवर्ष त्यसको आधामात्रै रोपाइँ भएको हो । किसानले कतिपय ठाउँमा रोपाइँका लागि खेत ठिक्क बनाएर राखे पनि वर्षाको अभावमा धान रोप्न सकिएको छैन् ।
 
यद्यपि चितवनको पूर्वी भेगमा अलि बढी रोपाइँ भएको छ । पश्चिम र पहाडी भेगमा रोपाइँ हुन सकेको छैन । सो क्षेत्रमा आकाशे पानीको भर पर्नुपर्ने बाध्यताले रोपाइँ हुन नसकिएको हो । कृषि कार्यालयले दिएको जानकारीअनुसार चितवनको इच्छाकामना गाउँपालिकामा रोपाइँ शुरु हुन सकेकै छैन । भरतपुर महानगरपालिकामा जम्मा तीन प्रतिशतमात्रै रोपाइँ भएको छ ।
 
सबैभन्दा बढी राप्ती नगरपालिकामा ३० प्रतिशत र खैरहनी नगरपालिकामा २५ प्रतिशत रोपाइँ भएको कृषि विकास कार्यालयका प्रमुख श्रेष्ठले बताए । रत्ननगर नगरपालिकामा १२, माडीमा १० र कालिका नगरपालिकामा तीन प्रतिशत रोपाइँ भएको छ ।
 
“अहिलेसम्म राम्ररी पानी पर्न सकेन र रोपाइँ भएन, अब मौसम सक्रिए भएको छ असार १५ पछि रोपाइँको क्रम तीव्र हुन्छ”, श्रेष्ठले भने । कतिपय किसान कहिले पानी पर्ला र रोपाइँ गरौँला भनेर बसिरहेका छन् । भरतपुर महानगरपालिका–२० चन्द्रनगरका प्रेम घिमिरेले पश्चिम क्षेत्रमा रोपाइँको तरखर नै शुरु नभएको बताए।
 
कतिपय किसानले विगतको अनुभव हेरेर बीउ नै ढिला राखेको उनको भनाइ छ । “पानी परेकै छैन, त्यसैले अन्त पनि रोपाइँ हुने कुरै छैन”, घिमिरेले भने । उनले १० कट्ठा क्षेत्रमा रोपाइँका लागि भर्खरै बीउ राखेका छन् ।
 
पूर्वी चितवनको शक्तिखोरका टीकाप्रसाद जमरकट्टेल भने धान रोप्ने तरखरमा छन्। उनका अनुसार सो क्षेत्रमा पनि फाट्टफुट्टमात्रै रोपाइँ भएको छ । अब एक दुई दिनभित्रमा भने रोपाइँ शुरु हुने उनले बताए ।
 
पूर्वी चितवनको भण्डारा र कुमरोजबाहेक अन्य क्षेत्रमा विगत वर्ष जसरी रोपाइँ हुन सकेको छैन । विगतको वर्ष यो समयमा पर्याप्त वर्षा भएकाले पनि धेरै रोपाइँ भएको थियो ।
 
जिल्लामा यसवर्ष कूल २८ हजार ६०० हेक्टरमा रोपाइँ हुने अनुमान छ । त्यसमध्ये अहिलेसम्म तीन हजार १६३ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । कार्यालय प्रमुख श्रेष्ठले वर्षेनी धान रोप्ने क्षेत्र घट्दै गएकोमा चिन्ता व्यक्त गरे। उनका अनुसार तीन वर्षअघि चितवनमा २९ हजार ५०० हेक्टरमा रोपाइँ हुन्थ्यो । गएको वर्ष २९ हजार हेक्टरमा रोपाइँ भएको थियो । यो वर्ष भने २८ हजार ६०० हेक्टरमा रोपाइँ हुने अनुमान गरिएको छ । प्रतिहेक्टर ३ दशमलव ५ मेट्रिक टन धान यहाँ उत्पादन हुन्छ ।
 
कतिपय धान खेत हुने क्षेत्रमा घडेरी र प्लटिङ भएको र कतिपय माछापालनमा समेत प्रयोग भएको कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा चैते धान चार हजार ५७५ हेक्टरमा हुने र यसबाट करीब २० हजार मेट्रिक टन धान उत्पादन हुँदै आएको छ ।
 
जिल्लाको पूर्वी क्षेत्रमा अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत ब्लक छुट्याएर धान उत्पादन गरिँदैछ । किसानलाई धानखेतीमा आकर्षित गराई धान उत्पादन बढाउन उक्त कार्यक्रम आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । तर धानखेती हुने क्षेत्र वर्षेनी घट्दै जानु चिन्ताको विषय बन्दै आएको छ ।
 
धेरै धान उत्पादन हुने चितवनको कुमरोजमा यसपालिको चैते धान रोगले सखाप पारेपछि यहाँका किसान चिन्तित छन् । राज्यले पनि धान उत्पादन गर्ने किसानलाई राम्ररी प्रोत्साहन गर्न नसकेको किसानको गुनासो छ । तस्बिर : हरि बाँस्तोला (पोखरा) / रासस