जानी राखे राम्रो

गितारका जादुगर शाही

455 पटक पढिएको

साधनाले अब्बल गितारिष्ट

हिमालयखबर | 5th Jul 2018, Thursday | २०७५ आषाढ २१, बिहीवार १०:१४
उनको सङ्गीत लगावले जब पगलपनको हद पार गर्न थाल्यो तब घरमा बुबाको विद्रोह शुरू  भयो । छोरा बेकम्मा भएर गितार बजाउँदै बरालिन थालेपछि कुन बाउलाई रिस नउठला ? उतिबेला गीत सङ्गीतको बजार फष्टाएको थिएन  । घर परिवारमा सबै व्यवसायमा लागेर राम्रै आम्दानी गर्दै थिए । उन काटेर तान बुन्ने पुरख्यौली पेशा थियो उनीहरूको ।  तानबाट पश्मीना सल बुन्ने व्यापारमा अहिलेसम्म उनका ठूलो दाई संलग्न छन् । कमाई न धमाई रात दिन टोलका केटाहरुसंग छोराको गितारमा झ्याङ्ग, झ्याङ्ग देखेर बुबालाई रिस उठनु स्वाभाविक थियो । यसबाट पेट पालिदैन, छोड भनेर बुबाले दिनहु अड्डी लिन थालेपछि उनि बडो धर्म संकटमा परे  ।  
 
प्रशिध्दिको पथमा लम्की रहेका संगीतकार अनिल शाहीको जीवन गाथा हो यो ।
उनले यो पंक्तिकारसंग भने - "सङ्गीत विना म बाँच्न सक्दिन भन्ने मलाई थाहा थियो । के गर्ने ? पैसा कमाएर देखाउनै पर्ने चुनौती मेरो सामु उभियो ।"
 
सङ्गीतको माध्यमबाट कसरी कमाउन सकिन्छ भनेर उनी पिरोलिन थाले । १६ / १७ को उमेर भएपनि यो क्षेत्रमा लागेर खान सक्छु भन्ने दॢढ विश्वास अनिल भित्र थियो ।  शास्त्रीय  सङ्गीत विधामा सक्षम बन्ने उद्देश्य बोकेर तालिमको लागि भारत जाने निधो गरे । 
 
खर्च यथेष्ट थिएन । अनेक बहाना र बठ्याईँ गर्दै साथीलाई गितार र डेरा बस्ने दिदीलाई सारी किनेर ल्याइदिन्छु भनि पैसाको जोरजाम गरे ।  हुन त फर्केर आउँदा उनले आफ्नो वचन निभाएका थिए रे । 
 
त्यतिबेला आफुसङ्ग भएका आयातीत ब्राण्डका जिन्सको ज्याकेट र पाइन्टको भारतमा राम्रो माग भएकोले त्यो बेचेर पनि पैसा जुटाएछन् । 
 
सङ्गीत सिक्न गुरु फकाए 
करीव २०४३ साल तिरको कुरा हो । सङ्गीत  गुरु चन्द्रशेखरसँग वारणाशीमा उनको भेट भयो । भेट्न त भेटे, तर ४/ ५ दिनसम्म धाउँदा पनि बोल्नु त के टाउको उठाएर समेत हेरेनछन् गुरुले । एकहोरो हेरिरहने, कसैसँग नबोल्ने, कसैको नसुन्ने गुरु देखेर अनिल हैरान भएछन । भएको पैसा सकिन  लाग्याथ्यो, फर्किनु पर्ने अवस्था देखे उनले । औडाहा हुनथाल्यो । 
 
तर त्यहाँ उनलाई पठाउने मान्छेले भारतकै प्रख्यात, अब्बल सङ्गीतकार हुन्, जसरी पनि शिक्षा लिनु भनेर राम्ररी सम्झाई बुझाई गरी गुरूको सेवा गर्ने सल्लाह दिए।  कुनै कारणवश गुरु गहिरो डिप्रेशनमा परेका कुरा पछि अनिलले थाहा पाए । उनलाई गुरु चन्द्रशेखरकोमा पठाउनेको सल्लाह अनुसारनै अनिलको ध्यान अब गुरुलाई फकाउनतिर लाग्यो। 
 
लुगा धुने, चिया पकाउने, घर सफा गरिदिने  सबै काम गर्नथाले उनले गुरूको । अन्तत त्यो कठिन परीक्षा अनिलले पास गरे, गुरुले माथि राखिएको हारमोनियम निकाल्न लगाए।
 
परिश्रमको फल मिठो हुने नै भयो ।  कति दिन हुँदो हो थनक्याएको,  निकाल्दा बरर धुलो जिउभरी झरेको थियो रे। अक्सर झोक्राई रहने, दारी लामा पालेका, खाने, सुत्ने समयको ठेगान नभएका गुरुले राम्रो सङ्गीत सिकाउलान र ! मनमा आशंका थियो उनको । तर गुरुका औंलाहरु जब  हर्मोनियममा खेल्न थाले अनिलको शरीरमा एकप्रकारको रक्तसंचार भयो । 
 
गुरु चन्द्रशेखर आँखा चिम्लेर सङ्गीतमा लीन हुँदै गाउन थाले, अनिलको शरीरमा कम्पन भयो, आँखाबाट बलिन्द्र आँशुको धारा बग्यो । 
 
टेलिफोन वार्तामा यो सब  अनिलले बताउदै गर्दाको उनको अनुहारको भावभङ्गी  मैले देख्न पाइन।  कुनै  सिनेमाका कहानी भन्दा कम थिएन उनको कथा । चलचित्रको दॢश्यसरी घटनाको काल्पनिक विम्व मेरो आँखा वरिपरि घुमिरहेको थियो । 
 
उनी भन्दैथिए - "लता र किशोरकुमारलाई समेत विर्सिएँ एकछिनलाई मैले त्यतिबेला ।"
पानीले घाम, फूलले सुगन्ध, बसन्तले बहार र रोगले औषधि पाएजस्तो बडो आनन्द प्राप्तिको अनुभव भएछ उनलाई । 
 
शिक्षा लिएर फर्कने बेला गुरुले भनेछन - 
"तिमीमा केहि छ । थ्यौरिले त टल्काउने मात्रै हो । मुख्य कुरा भावको गहिराई नै हो ।"  गुरूको यही मूल मन्त्र लिएर अनिल नेपाल फर्केछन् ।
 
चौधघन्टा  गितारको रियाज 
उनको संघर्षको त सुरुवात मात्र भएको थियो । सङ्गीतलाई पेशाको रुपमा अंगाल्ने चुनौती यथावत थियो । गितारको नोटेशन सिक्दै गर्दा सङ्गीत टीचर एलबी क्षेत्रीलाई उनले प्रश्न गरे -" सर राम्रो गितारिष्ट हुन कति समय लाग्छ ?"
सरले उत्तर दिएछन् - " तिमी राम्रो बजाउछौं ।"
 
उनले फेरि जिज्ञासा राखे - " यो भन्दा राम्रो बजाउन कति समय लाग्छ होला ?
"दश वर्ष ।" - सरको उत्तर थियो ।
 
यो उत्तरले साही अति चिन्तित भए । रातभरी सुत्न सकेनन् । बिहानको करीब तीन ,चारबजेतिर मनमा एउटा कुरा आयो- यदि दिनको दशघण्टा बजाएँ भने एक वर्षमा त सिकेर पोख्त भइएला नि ! कतिखेर बिहान हुन्छ र सरलाईँ भेटेर सोधौं भएछ । सवेरै भोटेबहाल गएर सोधे सरलाई ।  सरले हुन्छ के भनेछन्, उनको खुशीको सिमा रहेन । अनि दिनको दशदेखि  चौध घण्टाको कठोर साधना शुरू भयो उनको ।
 
बिस्तारै गजल रेस्टुरेंटहरुमा गाउने बजाउने गर्न थाले । एकपछि अर्को गर्दै साङ्गीतिक मोडहरुले उनको यात्रालाई सुखद बनाउदै लग्यो । 
 
आफ्नो जिन्दगीको यो रोचक घटना अनिल साहीले हिमालयखबर मार्फत पाठकमाझ पस्केका हुन् । गत मे महिनाको अन्तिम र जुनको पहिलो हप्ता अमेरिकाको बोस्टन र मेरीलैण्डमा कार्यक्रम सकेर बसेका अनिलको थोरै फुर्सदिलो समयको केहि उपयोग गर्ने प्रयास मात्र यो पंत्तिकारको हो ।
 
सरल अनि बेजोड कलाकार 
अनिलसँग यसपाली नेपालमा कसरी भेट भयो हाम्रो ! एउटा रमाइलो प्रसङ्ग उल्लेख गर्दैछु । 
 
त्यो साँझ वास्तवमा राजा घलेसंग भेट्ने तय भएको थियो हामी बुढाबुढीको । अमेरिकाको जर्जिया एटलान्टामा बस्नुहुने  समाजसेवी , नेपाल सरकारको अवैतनिक पर्यटनदूत राजा घलेको प्रशंसा श्रीमान तारा बरालबाट धेरै सुनेको थिएँ । तर  फुर्सदिलो भेट हुन सकेको थिएन । यहि भेटको चाँजोपाँजो मिलाउदै राजा घलेले हामी दुवै बुढाबुढीलाई भेट्ने एउटा ठेगाना टेक्स्ट गरिदिनु भयो । जानकारी अनुसार एउटा कुनै रेस्टुरेन्टमा सांगीतिक साँझको मजा लिने कुरा थियो । दिएको  ठेगाना अनुसार हाम्रो ट्याक्सी सोल्टी होटल  पछाडिको एउटा टोलमा गएर रोकियो । तर त्यहाँ कुनै रेस्टुरेंटको नाम निशान थिएन । राजाले उहाँलाई अनिल साहीको नाम बताएका थिए ।
 
एकै छिनमा सामान्य टीसर्ट  र हाफ पाइन्टमा एउटा अन्दाजी ४०/ ४५  वर्षीय मानिस हामीलाई लिन आए ।  अनिल साही उनै रहेछन् ।  हामी उनकै पछि पछि  लाग्यौं ।  हैन राजा घलेले प्रशंसा गरेको सङ्गितकार यिनै हुन् त ! पत्याउन मुश्किल थियो । तर उनको घरभित्र कोठामा पसेपछि भने मन शान्त हुन थाल्यो । कोठाभरी सङ्गीत सामाग्री भरिएको थियो । भित्तामा सर्टिफिकेट र साङ्गीतिक कार्यक्रमहरुका तस्वीरहरु झुण्डिएका थिए । 
 
थाहा भयो, सङ्गीतका पुजारी अनिल र सलिना साही दम्पतिले आफ्नै घरमा सानो साङ्गीतिक साँझ आयोजना गरेका रहेछन् । 
 
एकैछिनमा राजा घले, गायिका एंजिला श्रेष्ठ  र तबला बादक पनि आइपुगे ।  त्यो साँझ साँच्चै नै सङ्गीतमय भयो । अनिल साहीका औंलाहरु गितारको तारमा के पुग्थे हामी तरङ्गित हुन्थ्यौं । नेपाली लोक, आधुनिक र शास्त्रीय सङ्गीतको फ्युजन सुनाउँदा लाग्यो यिनी त विलक्षण प्रतिभाका धनी रहेछन् । राती अबेरसम्म अनिलको सङ्गीतमा रमायौं, एन्जिलाको स्वरमा बग्यौं अनि सलिना साहीको स्वादिलो ब्यन्जनमा मुख रसायौं हामीले । 
यस्तो  अवसर जुटाइदिने सह्रदयी राजा घलेलाई मनले मुरी मुरी धन्यवाद नदिरहन कहाँ सक्थ्यो र ! 
 
बेजोड सङ्गीतकार, राम्रो गायक र  मोडल । बहुमुखी प्रतिभा छ अनिल साहीमा । अपूर्व कलाकारिताको साथसाथै उनी  सरल र मिलनसार  छन् । सङ्गीत निर्देशक र फ्यूजन गितारिष्टको रुपमा "सुल्तान अफ स्ट्रिंग्स" भनेर चर्चित छन् अनिल ।
 
काठमाण्डौ भुरङ्गखेल रक्तकालीमा २०२७ सालमा उनको जन्म भयो ।  पाँच, छ वर्षको सानै उमेरदेखि मादल र दशवर्ष पुग्दा गितार बजाउने भैसकेका थिए । काका शत्रुघन साहीबाट गितारको सामान्य ज्ञान पाएका उनले पछि बेलायतबाट पनि सङ्गीतमा तालिम लिने अवसर पाए । टोलकै देउसी भैलो  र भजन कीर्तनले गीत सङ्गीतको लगावलाई असाधारण रुपमा बढाउदै लगेको सत्य स्विकार्छन अनिल  । 
 
एक अब्बल संगीतकारको रुपमा स्थापित हुँदै गरेका अनिलले अष्ट्रेलिया, यूके र अमेरिकामा गरेर सयौं भन्दा बढी साङ्गीतिक  कार्यक्रम गरिसकेका छन् ।
 
दश भन्दा बढी नेपाली सिनेमामा सङ्गीत दिएका छन् । 
प्रित विना नै यौवन, उडाउला पछ्यौरी, बहारसँगै उड्यो मन उनका गीति एलबम हुन् ।
 
माया मन्त्र, राघिनि, भैरव र अन्य मिश्रित फ्यूजनका इस्ट्रुमेंटल एलबमहरु उनकै हुन् ।
सन २००६ मा ताइवानमा सम्पन्न ७० देशको विश्व  प्रतिस्पर्धामा बेस्ट फ्यूजन गितारिष्टको अवार्ड जितेका छन् उनले  ।
कुनैबेला कुमार कान्छाले गाएको सुपर हिट "प्रित विना नै यौवन अफाप नै भयो ...." गीत मैले नै सङ्गीत भरेको हुँ भनेर उनले भनिरहँदा अनिलभित्र असाधारण प्रतिभा रहेको मैले अनुभव गरें ।  ।
 
हजुरबुबा रामबहादुर साहीको प्रेरणाले कडा परिश्रममा विश्वास गर्ने हुँदा पुष माघको जाडोमा पनि पानीमा हात डुबाएर गितार बजाउन रियाज गरेको बाल्य स्मरण सुनाउछन् अनिल । 
 
देश विदेशमा हुने परफमेन्सले गीत सङ्गीतको क्षेत्र फराकिलो हुदै गएको र यसमै लागेर जीवन धान्न सक्ने अबस्था भैसकेको बताए ।
आफु जति नै उचाईमा पुगेपनि  टेकेको जमीन विर्सिन हुन्न भन्ने मान्यतालाई आत्मसात  गरेका छन् उनले । 
 
भन्छन् -" एउटा सानो निर्णयले मान्छेको जीवन बदल्छ । यदी सही ठाउँमा सही निर्णय गर्न सक्यो भने जीवन सफल हुन्छ ।"
अनिल साही त्यत्तिकै गितारका नेपाली जादुगर भएका हैनन् । उनको लगन, निरन्तरता, सरलपन र सङ्गीत मोहले उनलाई यहाँसम्म पुर्यायो । उनका औंलाहरुमा जादु नै देखिन्छ । लाग्छ, अब त गितार नै अनिलको फ्यान भएको छ ।
भिडियो हेर्नुहोस :
 
(यो कथा होइन - दुःख बाँड्दा घट्छ । सुख बाँड्दा बढ्छ । हामी मानिस मन शान्तिकोलागि प्रयत्नरत छौँ । गुम्सिनु दुःख हो, पीडा हो ।  प्रस्फुटन प्राप्ति र आनन्द । कुनै त्यस्ता घटना छन् जुन तपाईँ भित्र उकुसमुकुस भएर बसेका छन् । तपाईँको स्मरणमा बारम्बार आउने गर्छन् । रूवाउँछन् , हसाउँछन् ,  अचम्भित पार्दछन् । वा त्यस्तो घटना जसले तपाइको वा कसैको जीवन बदलेको छ । कसैको मन छुन सक्छ ।  कसैलाई मार्ग निर्देश गर्छ । हो यस्ता शतप्रतिशत सत्य घटनालाई हामीले ससम्मान प्रकाशित गर्ने जमर्को गरेका छौँ । आफ्ना मूल्यवान ती पलहरू बाँड्न तपाँईको अन्तरआत्मा सहमत हुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् ।  www. Himalyakhabar.com / bitubaral@yahoo.com )