मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

छात्रा बढी परीक्षार्थी भए पनि नतिजामा छात्र अगाडि

छात्रा बढी परीक्षार्थी भए पनि नतिजामा छात्र अगाडि


काठमाडौँ (रासस) । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) मा छात्रभन्दा छात्रा बढी परीक्षार्थी भए पनि नतिजामा तुलनात्मकरुपमा छात्र बढी देखिएका छन् । 
 
परीक्षामा नियमिततर्फ कूल चार लाख ५१ हजार ५३२ विद्यार्थीमध्ये दुई लाख २७ हजार ९३१ जना छात्रा र दुई लाख २३ हजार ६०१ जना छात्र रहेकामा ग्रेड पोइन्ट एभरेज (जीपीए) ३ दशमलव ६५ देखि ४ दशमलव शून्यसम्म ल्याउने छात्राको प्रतिशत २ दशमलव ७ मात्र देखिएको छ भने सोही जीपीएमा छात्रको प्रतिशत ६ दशमलव ६ देखिएको छ । जीपीए २ भन्दा तल धेरै छात्रा देखिएका छन् । 
 
शनिबार सार्वजनिक नतिजाअनुसार ३ दशमलव २५ देखि ३ दशमलव ६ सम्म हासिल गर्नेमा करिब ९ प्रतिशत छात्रा छन् भने छात्राको प्रतिशत ११ दशमलव ६ प्रतिशत छ । 
 
शिक्षाविद् डा मनप्रसाद वाग्ले भन्छन्, ‘परीक्षामा संख्यात्मकरूपमा छात्राको संख्या बढी देखिए तापनि गुणात्मकरूपमा छात्रको उपलब्धि बढी देखिएको छ, यो सकारात्मक संकेत होइन । झण्डै ५० प्रतिशत छात्राका जिपिए २ भन्दा तल हुनुले शिक्षामा समानता ल्याउनु चुनौतीपूर्ण देखाएको छ ।’  उनले आगामी दिनमा छात्राको उपलब्धि बढाउन र शिक्षाको लगानीअनुसारको प्रतिफल ल्याउन प्रत्येक विद्यालयले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । 
 
परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक गेहनाथ गौतमले सहभागीमा छात्राको संख्या बढी भए पनि परिणामअनुसार छात्राहरु केही पछाडि परेको पाइएको बताए । 
 
प्राविधिक त्रुटि सच्चाइयो 
 
शनिबार सार्वजनिक भएको संवत् २०७४ को परीक्षाफलमा केही विद्यार्थीको नतिजाको ग्रेडमा भोलिपल्ट वृद्धि भएको विषयमा परीक्षा नियन्त्रण कार्यालयले गल्ती स्वीकार्दै प्राविधिकरुपमा सुधार गरेको छ । नतिजा वेभसाइटमा राख्दा इनपुट र आउटपुटको सूत्र प्रोसेसिङको प्राविधिक पक्षमा केही विषयको मार्जिनल केसमा जिपिए सुधार भएको हो । 
 
उपनियन्त्रक गौतमले प्राक्टिकल नम्बर जोड्न भूल भएको नभई प्राविधिक त्रुटि भएको दाबी गर्दै केही विद्यार्थीको अन्तिम ग्रेडसिटमा ग्रेड सामान्य वृद्धि भएको बताए । प्राविधिक त्रुटिको विषयमा छानबिनको माग भइरहेका बेला कार्यालयको पछिल्लो ग्रेडसिटलाई आधिकारिक मान्न आग्रह गरेको छ । 
 
सरकारी र निजीको तुलना हुँदै 
 
परीक्षाफल सार्वजनिक भएको भोलिपल्ट प्राविधिक गडबडी पत्ता लागेपछि ग्रेडसिटलाई सुधार्न प्राविधिक टोली व्यस्त भए पनि पनिकाले परीक्षाफलका विविध पक्षहरुको विश्लेषण गर्न भ्याएको छैन । सहभागीमध्ये सामुदायिक र निजी विद्यालय तथा प्रदेशगत तुलनाको आँकडा तयार भइनसकेको उपनियन्त्रक गौतमले बताए । उनले जीपीए लाई ‘ए’, ‘बी’, ‘सी’ जस्ता ग्रेड र प्रतिशतमा रुपान्तरण गर्न नसकिने पनि स्पष्ट गरे । 
 
नेपाल शिक्षक युनियनका अध्यक्ष बाबुराम थापाले विगतको तुलनामा सामुदायिक विद्यालयको नतिजामा क्रमशः सुधार आएको जनाउँदै शिक्षक नेता प्रधानाध्यापक रहेका विद्यालयमा पनि नतिजा राम्रो रहेको दाबी गरे । 
 
ललितपुरको रुद्रायणी मावि, खोकनाका प्रअ थापाले आफ्नो विद्यालयमा ‘ए’ प्लससहित सबै विद्यार्थी कक्षा ११ मा भर्ना हुन योग्य हुने गरी सफल भएको जानकारी दिए । ‘शिक्षक नेताहरुले राजनीतिमात्र गर्छन्, पढाउँदैनन् भन्ने आरोपलाई नतिजाले खण्डन गरिदिएको छ’, थापाले भने ।