विचार / ब्लग

डा. उपेन्द्र देबकोटासँगका केही क्षण

1234 पटक पढिएको

- विजयराज भट्टराई | 20th Jun 2018, Wednesday | २०७५ आषाढ ६, बुधवार ०९:३३

सन् २०१० को कुरा हो । मेरो दाहिने हातको नसामा समस्या आयो। कलम समाउदा, कम्प्युटरमा टाइप गर्दा कुनै कुनै बेला एकदमै नमीठो गरि दुख्ने। मैले स्वयम् कुन एङ्गलमा मेरा औँलाहरु चल्दा यो दुखाई आउँछ भनेर डक्टरको मा जानु पूर्व पत्ता लगाउन धेरै प्रयत्न गरे तर ठ्याकै पत्ता लगाउन सकिन।

सुरूमा घरायसी मालिस र 'ओभर द काउण्टर' औषधी प्रयोग गरे। ठ्याक्कै कुन नसाको कारणले दुखेको नै सम्म पत्ता लागेन। ओभर द काउण्टर र घरायसी औषधीले २० को १९ पनि ठीक भएन।  

म अमेरिकामा डाक्टरको मा जान डराउँछु। झन् सर्जरी गर्ने कुरा गर्यो भने त तर्सन्छु। यस्तो डर र तर्साइको पछाडी मेरा आफ्नै भोगाईका कथा र कारणहरु छन्।

अन्य समयमा खासै दुखेको महसुस हुदैनथ्यो तर लेख्दा र कम्प्युटर टाइप गर्दा भने कहिलेकाही त करेण्ट नै लागे जस्तो हुन्थ्यो। अन्तत: डाक्टरको मा जानै पर्ने भयो । गएर देखाए।

मालिस गर्ने र खाने दुइ थरि औषधी दिए डाक्टरले। औषधी खाए, मालिस गरे निको भएन।  फ्लोअप मा तीन पटक नै गए। डाक्टरले औषधी चेन्ज गरे तर ठीक भएन र अन्तत: सर्जरी गर्नु पर्ने बताए। म तर्सिए। घर सल्लाह पनि भयो र मैले दुखेको सहेरै बस्ने तर सर्जरी नगर्ने निर्णय गरे।

दुखाईको मात्रा क्रमश: बढ्दै गयो। जीविकोपार्जनको माध्यम नै कलम र कम्प्युटर थियो। यी दुवै हतियार चलाउन गाह्रो हुँदै गयो दुखाइले। अव कतिन्जेल यो अवस्थामा बस्ने शारीरिक पीडा मानसिक पीडामा परिवर्तन भयो।

धेरैसँग सरसल्लाह गरे। धेरै बिचारहरु आए। सल्लाहकै क्रममा एक मित्रले मेरो जस्तै समस्या भएको उसको साथीलाई डाक्टरको सल्लाह अनुसार गरिएको सर्जरी सफल नभएर दुइवटा औलाहरु नै चल्दैनन् भन्ने जानकारी पाएपछि त झनै सातोपुत्लो नै उड्यो। म निसहारा झैँ दोधारमा अल्झिरहे। हातका औलाहरु त कलम र कम्प्युटर चलाउदा मात्र दुख्थे तर मन भने २४ सै घण्टा दुख्न थाल्यो।

यही पीडा शेयर गर्ने क्रममै नेपालमा डा. उपेन्द्र देवकोटासँग उपचार गराउने सल्लाह पाए। तुरुन्त भाईलाई काठमाण्डौ फोन गरे र डा. देवकोटासँग मेरो अप्वाइण्टमेन्ट लिन भने । त्यही अप्वाइण्टमेन्ट अनुसार नेपाल जाने योजना बनाए। 

भाईले भर्खरै डा. देवकोटा को बासबारी न्यूरो हस्पिटल शुरु भएको र देवकोटासँग त्यहीको अप्वाइण्टमेन्ट सेट गरेको तिथिमिति दियो। म त्यही अनुसार उपचारलाई नै प्रमुख कारण बनाएर काठमाण्डौ हानिए। 

तुलनात्मक हिसावले ब्यबस्थित थियो अस्पताल। म आफ्नो अप्वाइण्टमेन्ट अनुसार तोकिएको दिन बिहान ८ बजे अस्पातल पुगे। डाक्टर भेट्नु पहिले एमआरआई लगायतका धेरै किसिमका ल्याब परीक्षण भए। सबै कुराको परिणाम आएपछि अन्तिममा डा. देवकोटाले हेर्ने रहेछन।

झन्डै १२ बजे तिर मेरो पालो आयो। शायद डाक्टरको लन्च ब्रेक पछिको म पहिलो पेसेण्ट थिए।  म डाक्टरको कोठामा कुरीरहेको थिए - उनी छिरे।   

'के भयो तिमीलाई?' - सहज सोधे उनले। मैले लामो कथा सुनाउन थाले। मेरो कथा मा त्यती ध्यान दिए जस्तो लागेन।

मेरा ल्याब रिपोर्ट र एमआरआई यसो हेरे । मेरो औलाका दुख्ने गरेको ठाउको वरिपरि ४/५ ठाउमा थिचे र दुखाइको मात्रा सोधे। अनि एउटा औषधी लेखिदिए। त्यस बीचमै मैले अमेरिकामा उपचार गर्दा खाएको औषधी र डक्टरले सर्जरी गर्न दिएको सल्लाह र मेरो अमेरिकाको उपचार मा रहेको त्राश सवै सुनाउन भ्याइसकेको थिए।

यो औषधी दुई हप्ता सम्म दिनको दुई पटक खानु बिस्तारै निको हुन्छ भनेर प्रिस्क्रिप्सन थमाइदिए। उनले मलाई राम्ररी ५ मिनेट पनि समय दिएनन। खै किन हो कुन्नि मलाई जुन उत्साहले डाक्टर देवकोटा भनेर चेकअप गर्न आएको त्यो रेस्पोन्स नपाएको जस्तो लाग्यो।   

पालो सकियो, म बाहिर निस्कनु पर्ने भयो तर निस्कन मनै लागेन। म अमेरिका देखि उपचारकै निमित्त गएको थिए। भिजिटिङ्ग प्रोफेसर बनेर संसार घुमेका, धेरै देशका ठूला ठूला अस्पतालमा शल्यक्रिया गर्न पुग्ने यी डाक्टरलाई म जहाँबाट उपचारको निमित्त गएपनि एउटा बिरामी मात्र त थिए।

उनलाई मेरो अमेरिकाको डाक्टरले चेक गरेको कुरा सबै मैले बताए पनि उनले भने खासै जिज्ञासा राखेर केही नसोध्नु चै अलिक असहज लागेको थियो। हुनत आफ्नो ज्ञानमा पूर्ण बिश्वास भएर हो वा उनको हेराइमा मेरो केस खासै ठूलो नभएर मतलव नहुनु स्वाभाविकै पनि हुनसक्छ।

त्यै पनि त्यति धेरै भरोसा बोकेर आएको म । डक्टरले अपेक्षा गरे जसरी उपचार नगरेको असन्तुष्टी रह्यो मनमा र मर्नु भन्दा बौलाउन निको भन्दै म  प्रिस्क्रिप्सन हातमा समाएपछि बाहिर निस्कनु पर्ने तर बाहिर जाउ कि डक्टरसँग अरु केही भनु भनेर केही सेकेण्ड दोधार मै अलमलिए।

अरु केही छ तिम्रो? शायद मेरो असमन्जस देखेर फेरी सोधे।

'डक्टरसाव म अमेरिका देखि यही उपचार गराउन कै निमित्त आएको' - मैले आफ्नो कुरा राखे।

'कलम र कम्प्युटर नै आफ्नो जीवनको बाच्ने आधार भएको र त्यही चलाउन गाह्रो भएर आएको हुँदा अलिक राम्ररी हेरिदिन अनुरोध गरें। - उनी हल्का मुस्कुराए।

कहिले सम्मको छुट्टी लिएर आएका छौ? उनले सोधे। शायद उनले मेरो असन्तुष्टि बुझे। र, भने - यो दुई हप्ताको औषधी खानु, औषधि शुरु गरेपछि बिस्तारै कम हुदै जान्छ। ठीक नभए दुई हप्ता पछि फेरि रिभिजिट गर्नु। सर्जरी गर्नु नपर्ने र डराउनु पर्ने रोग नभएको बताए।

मैले फेरी आशंका गरे - ठीक नभए डाक्टरसावको अर्को अप्वाइण्टमेन्ट पाउने बेला सम्म त म  फर्किने बेला भैसक्छ।

मलाई बिना पूर्ण उपचार फर्कनु पर्ने हो कि भन्ने लाग्यो मनमा।  शायद उनले मेरो अनुहार पढे र उनकै एक कर्मचारीलाई बोलाएर मेरो औषधी सकिने दिनको अप्वाइण्टमेन्ट लेखाए । तर ठीक नभए मात्र आउनु भने। मनमा अलिकति सन्तुष्टी लिएर म उनको कक्ष बाट निस्के।

बाहिर पट्टी झ्यालबाट औषधी किन्न पाइने सानो औषधी पसल थियो। प्रिस्क्रिप्सन दिए - पसलेले औषधी दिए। औषधी जम्मा ३० रुपैयाको रहेछ। पीठो भन्दा सस्तो औषधीले रोग कसरी निको पार्ला फेरि ? अर्को टेन्सन आयो मनमा। शायद त्यही औषधीको तीन हजार भनेको भए म दंग हुदै रोग निको हुने कुरामा अलिक बिश्वस्त हुन्थेहोला। यो मेरो मेडिकल साइन्समा भएको ज्ञानको कमीको कारणले आएको महसुस पनि संगसंगै गररहेको थिए।

मेरो मनमा डाक्टर साबका कुराले जागेको दुखाई निको हुने आशा फेरि औषधीको मूल्यको कारणले फेरी ढल्मलायो। बिकल्प थिएन, औषधी लिएर फर्के।

त्यैपनि 'तिमीलाई ठीक हुन्छ, ठीक नभए मात्र आउनु' भनेर डक्टरले नै लिन लगाएको अप्वाइण्टमेन्ट को बेला देखिएको डक्टरको कन्फिडेन्स ठीक होला भन्ने आशा पनि अर्को तिर मनमा बसिरहेको थियो।

औषधी खान थाले र सँगसँगै धेरै लेख्ने र कम्प्युटर चलाउने पनि गर्न थाले। थाहै नपाई त्यो दुखाई महसुस हुन छाड्यो। म फर्किएर उनकोमा जानु परेन मात्र हैन निर्मुल नै भयो।  

उनको त्यो आत्मविश्वास मैले अन्य डक्टरहरुमा मेरो अनुभवमा कहिल्यै देखेको थिइन्। आफ्नो ज्ञान र क्षमता मा यति बिघ्न आत्मविश्वास भएको डक्टर गुमाउनु को पीडा सुन्नेहरु भन्दा पनि भोग्नेहरुले अझ बढी महसुस गर्न सक्छन। 

आत्माको चीर शान्तिको कामना, अलबिदा डाक्टरसाब !

 


bijay.nst@gmail.com 

हाल: टेक्सासअमेरिका