मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कम्युनिष्टको हातमा लोकतन्त्र दिँदा संकट आयो : देउवा

कम्युनिष्टको हातमा लोकतन्त्र दिँदा संकट आयो : देउवा


हेटौँडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टको हातमा लोकतन्त्र दिँदा मुलुक संकटमा परेको बताएका छन् । जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले नेपाली कांग्रेसलाई चुनौतीसमेत थपिएको बताए । 
 
सरकार सर्वसत्तावादी चरित्रतर्फ उन्मुख भएको भन्दै उनले भने, ‘बाघ शाकाहारी र कम्युनिस्ट लोकतन्त्रवादी हुन्छ भन्नु एउटै हो, त्यसैले गणतन्त्र, लोकतन्त्र, संघीयता अहिले जोखिममा परेका छन् ।’ सभापति देउवाले केपी शर्मा ओलीलाई लम्पसारवादी भएको आरोप लगाए । 
 
उनले नेपाली कांग्रेसले जनताको अधिकार कहिल्यै खोस्न नसक्ने बताए । सभापति देउवाले चुनावी समीक्षालाई एउटा लडाइँ हारेको, मैदान हारेको होइन भने । 
 
उनले पार्टी कमजोर हुनुमा पार्टीका केही असन्तुष्टि स्वाभाविक भए पनि कतिपय आरोप अतिरञ्जित र अशोभनीय ढंगले उठेको आरोप लगाए ।
 
संविधानले राज्यको शासकीय प्रबन्ध र संघीय संरचनामा परिवर्तन भएकोे भन्दै पार्टीलाई त्यही ढंगमा लैजान विधान संशोधन हुने उनको भनाइ थियो ।
 
यसैगरी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेता तथा कार्यकर्ताहरुको पार्टीमा गुटबन्दीको अन्त्य हुनुपर्ने माग राखे पनि बाहिरीरुपमा देखिएजस्तो एक हुन समस्या रहेको बताए । उनले पार्टीमा एक हुँदा एकताको आधार तय गरिनुपर्ने भन्दै निष्पक्षता, पारदर्शी हुनुपर्ने बताए । 
 
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेस अब मिलेर जानुको विकल्प नभएको बताए । महामन्त्री कोइरालाले वामपन्थीदेखि उत्तर कोरिया र अमेरिकासम्मको एकता हुँदा गुट÷उपगुटको एकता किन नगर्ने ? भन्दै राजनीतिमा चासो राख्नेहरुको ध्यान हेटौँडाको कांग्रेस जिल्ला सभापतिहरुको भेलामा भएको बताए । 
 
नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेला हेटौँडामा जारी छ । भेलामा निर्वाचनमा पराजयलगायतका समसामयिक राजनीतिक विषयको पनि समीक्षा भइरहेको छ । भेलामा कांग्रेसका केन्द्रीय सदस्य तथा ७७ वटै जिल्लाका सभापति उपस्थित भएका छन् । पार्टी संगठन, विधान र भावी रणनीतिलगायतका विषयमा भेलामा छलफल चलिरहेको छ ।