मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

अर्जेन्टिना र आइसल्याण्डबीच १–१ गोलको बराबरी, मेस्सीले १० सर्टलाई अवसरमा बदल्न सकेनन्

अर्जेन्टिना र आइसल्याण्डबीच १–१ गोलको बराबरी, मेस्सीले १० सर्टलाई अवसरमा बदल्न सकेनन्


एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह 'डी' मा रहेको अर्जेन्टिनाले आइसल्याण्डसँग १–१ गोलको बराबरीमा चित्त बुझाउनु परेको छ ।
 
खुट्टामा बल परेपछि गोलमा परिणत गरिदिने क्षमताका विश्वचर्चित खेलाडी तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले खेलमा जादु देखाउन सकेनन् । 
 
कप्तान लियोनल मेस्सीले सुरुवाती समयमा केही आक्रामक खेल खेल्ने प्रयास गरेका थिए । तर, विपक्षी टिमका खेलाडीले विफल तुल्याइदिए । पहिलो हाफको मध्यम समयमा मेस्सीले प्रहार गरेको बल आइसल्याण्डका गोलकिपरले रोकिदिए । 
 
सटिक पास निकाले पनि मेस्सीले पहिलो हाफमा आक्रामक खेल खेल्न सकेनन् । मेस्सीले खेल अवधिभर १० वटा सर्ट प्रहार गरेका थिए तर उनको एउटा बल पनि गोलमा परिणत हुन सकेन । खेलको ८० औँ मिनेटमा मेस्सीले प्रहार गरेको बल साइडबारको नजिकैबाट बाहिरिन पुगेको थियो । एकपछि अर्को सर्ट प्रहार गरे पनि मेस्सी सफल भएनन् । 
 
यतिसम्म कि कप्तान मेस्सी पेनाल्टीमा पनि चुकेका छन् । आइसल्याण्डका खेलाडीले डिबक्सभित्र फल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो खेलको ६४ औं मिनेटमा पेनाल्टी हान्ने क्रममा मेस्सी फेरि एकपटक चुकेका हुन् ।
 
यसअघि सन् २०१६ मा कोपा अमेरिका कप फुटबलको फाइनलमा चिलीविरुद्ध पेनाल्टी सुटआउटमा अर्जेन्टिना पराजित हुँदा मेस्सीले पेनाल्टी मिस गरेका थिए । फाइनलमा चिलीसँग हार्नु र पेनाल्टीमा चुक्दा कप्तान मेस्सीले अन्तर्राष्ट्रिय फुटबल करिअरबाट सन्यासको घोषणासमेत गरेका थिए । तर, अर्जेन्टिनाका राष्ट्रपतिदेखि सबैको दबाबमा मेस्सीले सन्यास फिर्ता लिनुपरेको थियो ।
 
मेस्सीलाई विश्वकप फुटबलको उपाधि दिलाउने यो अन्तिम अवसर मानिएको छ । यसअघि सन् २०१४ को विश्वकपमा मेस्सी आफ्नो देशलाई विश्वकप फुटबलको उपाधि दिलाउन असफल रहेका थिए । सन् २०१४ को विश्वकपमा अर्जेन्टिना जर्मनीसँग १–० गोलअन्तरले पराजित हुँदै उपविजेता बनेको थियो । शनिबारको खेलमा मेस्सीले पेनाल्टी मिस गरेपछि अर्जेन्टिनाका करोडौँ फ्यानहरु निरास बनेका छन् । 
 
पहिलोपल्ट विश्वकपमा प्रवेश पाएको आइसल्याण्डसँग १–१ गोलको बराबरीमा रोकिनु अर्जेन्टिनाका लागि ठूलो चुनौतीमात्र होइन, एक हिसावले पराजय पनि हो । (तस्बिर : रोयटर्स)