अन्तर्वार्ता

व्यवसायसँगै रोजगार र सीप दिन पाउँदा गर्व लाग्छ : युवराज क्षेत्री

267 पटक पढिएको

(डाईरेक्टर जनरल, कालिका कन्सट्रक्सन प्रालि)

रवि रोषी | 12th Jun 2018, Tuesday | २०७५ जेष्ठ २९, मंगलवार ०२:५१
चितवनको भुवनवस्तीमा ०२२ साल मंसीरमा जन्मिएका युवराज क्षेत्री हाल भरतपुर महानगरपालिका वडा नं ६ वैदिकनगरमा स्थायी बसोबास गर्दै आएका छन् ।
 
भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा मानविकी संकायअन्तर्गत स्नातक तह पूरा गरी स्नातकोत्तर तह पढ्दापढ्दै बाँकी अध्ययनलाई थाँती राखी कालिका कन्सट्रक्सन प्रालिमा सुपरभाइजरको जिम्मेवारी, प्राविधिक क्षेत्र तथा कम्पनीको कुशल प्रशासकको रुपमा जिम्मेवारी सम्हालेका छन् ।
 
प्रस्तुत छ, कालिका कन्सट्रक्सन प्रालिका डाईरेक्टर जनरल युवराज क्षेत्रीको संघर्ष, अनुभव र सफलताको जीवन यात्राबारे हिमालय खबरका लागि पत्रकार रवि रोषीले गरेको संवाद-
 
१) मानविकीशास्त्रको विद्यार्थीकालीन अवस्था छोडेर प्राविधिक विधाको जागिर खान पुग्नुभएछ । यहाँलाई सहजता र कठिनाइँ कस्तो अनुभूति भयो ?
 
–स्कुल कलेजको अध्ययनकालीन क्षणजस्तै मेरो लागि कालिका कन्सट्रक्सन प्रालिको जागिर पनि शिक्षा ग्रहण गर्ने शिक्षालयको रुपमा नै लिएर पसेको थिएँ । प्रवेशकालीन क्षणमा सुपरभाईजरबाट आफ्नो जागिरको अनुभव सुरु गरे पनि मैले प्राप्त गरेको अवसरलाई जागिरकै रुपमा मात्र हेरिनँ । विषयगत रुपमा नमिलेको प्राविधिक पाटोलाई पनि व्यावहारिक रुपमा अनुभव बटुल्दै, स्वअध्यनलाई निरन्तरता दिँदै लगनताका साथ काम गरेकै कारणले प्राप्त चासोयुक्त विविधताले मेकानिकल सेक्सन इन्चार्ज भएँ । त्यसपछि प्रोक्युरमेन्ट अफिसर भएँ । त्यसपछि कम्पनी महाप्रबन्धक भएँ । त्यसपछिको दक्षतालाई मूल्यांकन गर्दै मलाई नेसनल कन्ट्रयाक्टको एसिस्टेन्ट प्रोजेक्ट म्यानेजर हुँदै प्रोजेक्ट म्यानेजरको जिम्मेवारी दिइयो । मेरो जागिरे यात्रामा इन्टरनेसनल कन्ट्रयाक्टको प्रोजेक्ट म्यानेजर र प्राविधिक तथा व्यवस्थापकीय क्षमताको मूल्यांकनको आधारमा हाल डाईरेक्टर जनरल भएको छु ।
 
असहजता र असम्भवजस्ता लाग्ने काममा पनि सम्भाव्यता खोज्ने सामथ्र्य राखियो भने आत्मविश्वास र लगनशीलताका साथ लागि परियो भने उद्देश्य प्राप्त गर्न त्यति गाह्रो हुन्न भन्ने मेरो स्पष्ट अनुभव छ ।  सानो पद भए पनि त्यसलाई सानो नठानी आफूलाई त्यसैमा सन्तुष्ट राख्दै जिम्मेवारीलाई इमान्दारिताका साथ व्यावहारिक कसिमा उतार्दै निरन्तरता दिएकै कारण आज यो  स्थानसम्म पुग्न सफल भएको हुँ भनेर आफूलाई गर्व लाग्दछ ।
 
२) निर्माण कम्पनीमा काम गर्दा प्रविधि, प्रशाशन र व्यवस्थापन यावत पृथक विधामा अनुभव एकैपटक कसरी प्राप्त गर्नुभयो ?
 
-माथि नै भनिसकेँ नि, मेरो जागिर यात्रा, निर्माण कम्पनीमा काम गरिसकेपछि अफिसमा मात्र बस्छु भनेर पनि नपाइने । निर्माण विषयअन्तर्गतको अतिमिहीन कुरामा पनि ध्यान दिनुपर्ने, सामान्य कामको डिजाइनमा पनि आफ्नो प्रत्यक्ष निर्देशनमा गराउनुपर्ने तथा हेर्नुपर्ने, कामदारदेखि प्राविधिक इन्जिनियरलगायत उच्च तहको जिम्मेवारी सम्हालेका कर्मचारीसँग प्रत्यक्ष सम्पर्कमा रही प्रगति प्रतिवेदनको बारेमा जानकारी राख्नैपर्ने, कन्ट्रयाक्ट डकुमेन्ट र कन्ट्रयाक्ट स्पेसिफिकेसन स्पेशल कण्डिसन अफ कन्ट्रयाक्टको पूर्ण जानाकारी राख्नुपर्ने र एकै निर्माणस्थलमा मात्र  सीमित नरही विभिन्न निर्माण क्षेत्र र देश विदेश पनि गइरहनुपर्ने भएको कारणले गर्दा यस्ता विविध पाटाहरुमा जानकार राख्नु अनिवार्य भएकोले नै विविध विधाहरुमा अनुभव र दक्षता हासिल भएको हो । 
 
फेरि अर्को कुरा, पदीय जिम्मेवारीलाई तलब पकाउने साधन नठानी शिक्षालय मानेर साधना गर्ने हो भने ज्ञान र अनुभवसँगै स्वभाविक रुपमै व्यावहारिक उद्देश्यमा पुग्न कठिन छैन भन्ने मलाई लाग्दछ ।
 
३) अक्सर नेपालीहरु कुनै जागिरको लागि धाउँदै गर्दा चुज गर्ने र चान्स लिने २ वटा मानसिकता बोकेर लागेका हुन्छन् । तपाईं पनि निर्माण कम्पनीमा काम गर्न प्रवेश गर्नुहुँदा दीर्घकालीन जागिरे सोच बनाएर प्रवेश गर्नुभएको थियो कि चान्स र चुजको मुड लिएर प्रवेश गर्नुभएको थियो ?
 
–मैले कालिका कन्सट्रक्सनमा प्रवेश गरिसकेपछि अर्को प्रयास नै गरिनँ । जागिरलाई मैले आर्थिकोपार्जन गर्ने साधनको रुपमा कहिल्यै हेरेकै थिइनँ र छैन पनि ।  म आफू पनि सानैदेखि हरेक विषयवस्तुप्रति सुक्ष्मरुपमा नियाल्ने र जिज्ञासु स्वभावको हुनाले यसबाट मैले केही सिक्नु पनि पर्छ भनेर साधना गरिरहेँ । आफूले गरेको काम नै अब्बल व्यवसाय हो । आफूले गरेको जागिर नै अब्बल जागिर हो भनेर अन्र्तमनदेखि सोचेर गरियो भने सफलता नमिल्ने भन्ने कुरै आउँदैन । धैर्यता र लगनका साथ काम गर्दै गएको खण्डमा एकै कम्पनीमा २-४ वर्षभन्दा धेरै समय बसेर काम गर्यो भने आफ्नो परफरमेन्स, अनुभव, प्रविधिको ज्ञान अगाडि बढाउन सकिन्न भन्ने अन्धभ्रम मेटिएर जान्छ र कहिल्यै असफल हुनु पर्दैन ।
 
यसै कारणले गर्दा मैले यस निर्माण क्षेत्र र कम्पनी छोडेर अन्यत्र जाने इच्छा कहिल्यै राखिन र कल्पना गर्न पनि सक्दिनँ । मेरो जीवनको शेष जागिरकालीन क्षण यसैमा सन्तुष्ट भएर निवृत्त जीवन बिताउने संकल्पमा छु ।
 
४) तपाईं कार्यरत निर्माण कम्पनीले देश र नागरिकलाई के दिएको छ ? के दिन सक्यौं भनेर गर्व लाग्छ ?
 
–हाम्रो निर्माण कम्पनीले सामाजिक उत्तरदायित्वलाई मध्यनजर राखी विकास निर्माणका कामहरु जस्तै पुल, नहर, विद्युत, सडक निर्माणका कामहरु  गर्ने हो । राज्य र निर्माण कम्पनीबीच द्विपक्षीय सम्झौतामा यो काम गर्ने भन्ने हुन्छ । यसबाट राज्य र नागरिकलाई के दिइयो भन्ने कुरा राज्य र नागरिकले नै सोच्ने हो । अर्को पाटोमा निर्माण कार्यका लागि चाहिने जनशक्ति शतप्रतिशत नै हामी देश भित्रैबाट लिन्छौँ । यस्ता कामहरु प्राविधिक तथा शारीरिक श्रम गर्ने मजदुरहरुसँग जोडिएको हुनाले अदक्षहरु दक्ष तथा दक्षहरु पूर्ण दक्ष बन्छन् । दक्षताका आधारमा उनीहरुले प्राप्त गर्ने पारिश्रमिकमा पनि अन्तर रहन्छ । अर्को कुरा प्राविधिक प्रभाग अर्थात् ड्राइभर, अपरेटर, सर्भेयर, ओभरसियर, इन्जिनियरहरु अनुभवमा पूर्णता पाएपछि थप अवसरका लागि वैदेशिक रोजगारीमा जानेहरुको संख्या नै ६० प्रतिशतको हाराहारीमा पुगेको छ भने सोही निर्माण कम्पनीमा कामलाई निरन्तरता दिई साइट सम्हाल्ने लिडर भएर काम गर्नेहरु पनि १० प्रतिशतको हाराहारीमा छन् ।
 
यसरी निर्माण कम्पनीमा प्राविधिक दक्षता प्राप्त गरेका आश्रितका परिवारले आफ्नो जीवनको वृत्ति विकास दैनिकीमा ठूलो परिवर्तन आएको छ र सहजरुपमा जीवनयापन गरिरहेका छन् । व्यवसाय सँगसँगै रोजगार र सीप दिन पाउँदाको अवसरले हामीलाई गर्वित तुल्याएको छ । उसो त वैदेशिक रोजगारमा गएर त्यत्तिकै कमाई त नेपालमा नै गर्न सकिँदो रहेछ भनेर आउनेहरुलाई पनि उनीहरुले हिजोको दिनमा निर्माण कम्पनीमा आर्जेको सीप र योगदानलाई कदर गर्दै पुनः रोजगार दिन पनि पाएका छौँ । कम्पनीको आवश्यकताअनुरुप उनीहरुको सीपलाई सधैं कदरका साथ अवसर दिन पाउनु नै खुशीको ठूलो पाटो हो ।
 
५) यसरी अदक्ष कामदारका रुपमा प्रवेश गरी सीप सिकेर विदेश पलायन हुने हेभी इक्युपमेन्ट अपरेटर तथा ड्राईभरहरुको कारणबाट तपाईंहरुको निर्माण कम्पनीहरुलाई असर पुग्दैन त ?
 
–असर त अवश्य नै पर्दछ । पर्दैन भन्ने कुरा होइन तर हामीले कसैको बेटर अपरच्यूनिटीलाई आफूलाई असर गर्छ भनेर रोक्ने कुरा पनि भएन । मेनेजमेन्ट गर्ने भनेकै यस्तै कुरामा हो । त्यसैले हामीले पारिश्रमिक समेतको दक्ष कामदार उत्पादन पाठशाला नै खोलेका छौँ । जस्तै इक्युपमेन्टमा हेल्पर बसेको एक अदक्ष कामदार एक वर्षमा सीप सिकेर कुशल अपरेटर बन्छ । अपरेटर बनेको केही समयमा उसले लाईसेन्स निकाल्छ र लाईसेन्स निकालेको दुई तीन महिनामा उसको विदेश जाने भिषा आइपुग्छ । यसो गर्नेहरु हाम्रै कम्पनीमा पनि ६०÷७० प्रतिशतको हाराहारीमा रहेका छन् । 
 
हामी यो मानेमा खुशी छौँ कि, एउटा अदक्ष कामदारको रुपमा कम्पनीमा प्रवेश गरेको नेपाली कामदार पूर्ण दक्ष भएर विदेशमा थप राम्रो अवसरको खोजीमा जाने हैसियत निर्माण हुनु र अर्कोतर्फबाट हामीहरुको लागि र उहाँहरुको लागि अदक्ष अवस्थाबाट पुर्ण दक्ष भई बेटर अपरच्युनिटीको लागि थप प्रगति संभावनाको मार्ग रोज्नु खुशीको कुरो नै हो । यसले निर्माण कम्पनी र राज्यलाई परोक्ष रुपमा केही मात्रामा असर परे पनि सीप सिक्न पर्खिएका अर्का पुस्ताले सीप सिक्ने अवसर प्राप्त गर्दछन् र उनीहरुले आफूलाई दक्ष प्राविधिक रुपमा स्थापित गर्न पाइरहेका छन् ।
 
६) निर्माण कम्पनीहरुलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन वा आपूर्तिमा राज्यको भूमिका कस्तो देख्नु भएको छ ?
 
–राज्यले दक्ष जनशक्ति उत्पादन त गरिरहेकै छ । तर उत्पादित दक्ष जनशक्तिलाई देश निर्माणको महान् काममै व्यवस्थापन गर्न राज्य उदासीनता नै छ । जसको कारण हाम्रो दक्ष जनशक्तिको ब्रेन विदेशतिर ड्रेन भएको अवस्था छ । त्यसैले यो अवस्थाको रोकथाम  र विदेश गई व्यावहारिक उच्च ज्ञान बटुलेका जनशक्तिलाई पनि राज्यले देशको माटोमा सेवा गर्न प्रोत्साहन गर्नुपर्ने अवस्थामा आएको छ । राज्यलाई अझै पनि ठूला आयोजनाहरु नेपाली कम्पनी र कामदारबाट हँुदैन भन्ने सोच छ जस्तो मलाई लाग्दछ । यो भनेको राज्य आफैँमा विश्वस्त नभएको अवस्था हो ।
 
अहिलेको युग प्रविधिको युग हो । निर्माण क्षेत्रमा पनि यो कुरा लागू हुन्छ । जबसम्म ठूला परियोजना नेपाली कम्पनीलाई दिइँदैन, तबसम्म नेपाली प्राविधिक जनशक्ति पूर्णदक्ष प्राविधिक हुन पाउँदैन । तसर्थ नेपाली निर्माण कम्पनी प्रविधियुक्त निर्माण मेशिनरी र पूर्णदक्ष कामदारले सम्पन्न हुन राज्यले पनि जोखिम मोली नेपाली कम्पनी र कामदारवाट ठूला परियोजनामा काम गराउने र सम्पन्न गराउने वातावरण सिर्जना गर्नु अति अनिवार्य बनिसकेको छ । जसवाट स्वदेशी सीप र पुँजीको सही सदुपयोग हुन गई सरकारका विकासका मेगा प्रोजेक्टका कुराहरु पनि सफल होलाजस्तो मलाई लाग्दछ । यतिमात्रै गर्न सकेमा पनि स्वदेशी दक्ष श्रमले थप पसिना विदेशको भूमिमा बगाउनुपर्ने थिएन ।
 
यस्ता यावत विषयमा सरकारले नागरिकमाथिको जिम्मेवारी सम्झेर अक्षुण्ण भूमिका निर्वाह गरिदियो भने रोजगारको लागि भौँतारिंदै खाडी मुलुक तथा मलेसिया लगायतको देशमा नागरिकहरु पलायन हुने सिलसिला पनि रोकिने थियो । देशका बलशाली युवा जनशक्ति बिदेसिनु देशको लागि ठूलो नोक्सान हो भनेर जबसम्म सरकारले महसुस गर्दैन, तबसम्म नेपालको सडक, नहर, भवन तथा हाइड्रोपावर निर्माणका लागि आवश्यक जनशक्ति भोलिको दिनमा विदेशबाट ल्याउनुपर्ने अवस्था नआउला भन्न सकिन्न ।
 
७) तपाईंको निर्माण कम्पनीको विशेष प्राथमिकता भित्र पर्ने कुन कुन निर्माण क्षेत्र पर्दछ ?
 
–कुनै पनि निर्माण कम्पनीको आफ्नै छुट्टै प्राथमिकता काम भने हुदैन । राज्यले निर्माणको लागि टेण्डर आह्वान् गर्दछ । आफ्नो कम्पनीको क्षमताअनुसारको आयोजना लिने र सम्पन्न गर्ने हो । कालिका कन्सट्रक्सनको निर्माण प्राथमिकतामा पुल, बाटो, सिँचाइ र विद्युत् नै हुन् । यसमा पनि अन्तर्र्रााष्ट्रयस्तरको दख्खलता र निर्माण क्षमता विशेषतः पुल र बाटो रहेको छ । अहिले पनि नेपालका विभिन्न जिल्ला गरी ३० भन्दा धेरै स्थानमा निर्माण कार्य जारी नै छ । 
 
स्टील ट्रस्ट ब्रीज बनाउने नेपालमा नै पहिलो स्थानमा हाम्रो निर्माण कम्पनी पर्दछ । नेपालमा नै सबै भन्दा लामो सिंगल स्पान ब्रीज निर्माण लेगुवाघाट भोजपुर र धनकुटा जोडने १२० मिटर वा तुम्लिङटारको सवाखोलाको १२० मिटर लामो पुल होस, संखुवासभामा पर्नेे पिलुवा खोलाको १०० मिटर पुल, कोशी नदीको उदयपुर र सुनसरी जोडने ट्रस ब्रीज आफ्नो उच्च प्रविधि प्रयोग गरी गरिएको देशकै उदाहरणीय निर्माण हो । सडक आयोजनाहरुमा हेटौँडा–फापरवारी–राई गाउँ हुँदै सिन्धुलीसम्मको १२५ किलोमिटर तथा निजगढ–काठमाडौँ द्रुत मार्गमा पनि केही खण्डको काम भइराखेको छ । सडकहरुको प्रोजेक्टमा एउटै निर्माण अभियानअन्तर्गत रहेको सडक निर्माण कार्यमा २०÷२२ वटा पुलहरु पनि पर्ने भएको हुनाले सडक र पुल निर्माण व्यवसायलाई हाम्रो निर्माण कम्पनीले कोर व्यवसायको रुपमा लिँदै आएको छ ।
 
त्यस्तै गरी सिंचाई योजनाहरुमा रानीजमरा कुलेरिया सिंचाई योजना, बबई सिंचाई योजना, सिक्टा सिंचाई योजना जो राष्ट्रिय गौरवको योजनाअन्तर्गत दर्ज भएको योजना हो । बाग्मती सिंचाई योजना, चितवन सिंचाई योजना पनि निर्माण गरी आफ्नो पूर्णप्राविधिक क्षमता प्रयोग गरी सिद्धहस्त सावित गरेको छ ।
सडकहरु निर्माण कार्य जो एसियन डेभलपमेन्ट बैंकको फण्डबाट गरेको काममा समयसीमा भित्रै सम्पन्न गरेको र गुणस्तरीय सडक निर्माण गरेको कारणले ३ वर्षसम्म लगातार नेपालको बेस्ट कन्ट्रयाक्टर अवार्डको प्रशंसा तथा सम्मानपत्र प्राप्त गरेको छ । त्यस्तै नेपाल सरकार र एडीबीकै लगानीअन्तर्गत सहरी विकासको ढल, सडक, विद्युत् लाईन तथा खानेपानी लाईन निर्माणका कामहरु विराटनगर महानगरपालिकामा, वीरगन्ज महानगरपालिकामा, नेपालगन्ज उपमहानगरपलिकामा, इनरुवा नगरपालिकामा सञ्चालन भइरहेको छ ।
 
८) तपाईंको निर्माण कम्पनीले व्यवसायिक सेवा दिँदै आए पनि देशको सर्वांगीण विकासको लागि कुन शीर्षकको निर्माणलाई सरकारले विशेष प्राथमिकतामा राख्नुपर्दछ जस्तो अनुभव संगाल्नुभएको छ ?
 
–सबैभन्दा पहिले त सडक संजालको विकास र विस्तार नै हुनु पर्दछ । त्यसपछि नेपालको जलसम्पदालाई पूर्ण सदुपयोग गर्नु पर्दछ, जसले इन्धनको परनिर्भतालाई कम गरी राष्ट्रिय औद्योगीकरणलाई सहजता प्रदान गर्नेछ । विद्युतीय शक्तिबिना उद्योगधन्दा तथा कलकारखानाको सञ्चालनको कल्पना गर्न पनि सकिदैन । त्यसैले यस कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक विक्रम पाण्डेज्यूूले सानाठूला गरी निकट भविष्यमा १०० मेघावाट आफ्नै लगानीमा विद्युत् उत्पादन गर्ने उद्घोष गरिसक्नुभएको छ । कम्पनीको नाममा दर्ता भएका  र सम्भाव्यता अध्ययन भइसकेका आयोजनालाई कार्यान्वयनमा ल्याउन कम्पनीका कर्मचारीहरु तदारुकताका साथ लागिपरेका छन् । अवश्य पनि उद्घोषअनुसार योजनाहरु सम्पन्न हुनेमा मेरो विश्वास छ ।
 
त्यसपछि रह्यो कृषि, नेपाल कृषिप्रधान देश भनिँदै आए पनि भौगोलिक विकटताको कारणले सिंचाई सुविधा प्रदान गर्न सरकारले ठूलो लगानी गर्नुृपर्नेमा त्यतातिर खासै ध्यान गएको देखिँदैन । अति नै खेतीयोग्य जमीन रहेको भित्री मधेस तथा तराईको समथर भूमिमा सरकारले सिंचाईको व्यवस्था गरिदिन सकेको खण्डमा व्यवसायिक कृषि खेतीको सम्भावना र कृषिक्षेत्रमा पूर्ण निर्भर आम्दानीको अवस्था अति उच्च छ । सिंचाईको सुविधा भयो भने फसलको उत्पादनमा बढोत्तरी हुन्छ र उत्पादित अन्नबाली तथा नगदे बालीहरुलाई किसानहरुले सुगम मार्गको प्रयोग गर्दै निश्चित बजारसम्म पुर्याउन सकिन्छ । जसवाट राष्ट्रिय उत्पादकत्वको बृद्घि भई खाद्यान्न समस्या हल हुन जान्छ ।
 
९) अन्त्यमा, सरकारलाई के भन्न चाहनुहुन्छ ?
 
–देश विकास गर्नको निम्ति धेरैभन्दा धेरै स्वदेशी जनशक्ति र आधुनिक प्रविधिको मिश्रणमा स्वदेशीलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने नीति–नियम राज्यले ल्याओस् । विकास निर्माणलाई अवरोध गर्ने वा झन्झटिलो बनाउने कतिपय नियम र कानुनलाई संशोधन गरेर व्यवसायमैत्री वातावरणको लागि सरकार चनाखो बनोस् । यस्तो अवस्था नआओस कि, हाम्रा देशका नागरिकहरु अदक्ष कामदारको रुपमा आफ्नो उर्जाशील समय खाडी र मलेसियामा बिताउनुपर्ने र हामीकहाँ कनै परियोजना सम्पन्न गर्नु पर्दा विदेशबाट महँगोमा कामदार मगाउनु परोस् ।