मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

चेपाङ समुदायमा हटेन बालविवाह, किशोरी अवस्थामै आमा बन्नेक्रम बढ्यो

चेपाङ समुदायमा हटेन बालविवाह, किशोरी अवस्थामै आमा बन्नेक्रम बढ्यो


चितवन । सरकारले ‘बिहेवारी २० वर्ष पारि’ भन्ने अभियान चलाएको दुई दशक बितिसकेको छ । सरकारको यस अभियानलाई पटाक्षेप गर्दै चितवनको राप्ती नगरपालिका ११, चात्राङकी पार्वतीमाया चेपाङले २१ वर्षमै तेस्रो सन्तान जन्माइसकेकी छन् । 
 
नेपाली समाजमा उनको भर्खर बिहे गर्ने उमेर हो । तर, उनको अझै सन्तानको रहर मेटिएको छैन । १५ वर्षमै भागी बिहे गरेकी उनी विद्यालय पुग्न टाढा भएकाले सानै उमेरमा बिहे गर्नुपरेको बताउँछिन् । 
 
राप्ती नगरपालिकाकै २५ वर्षीया निरमाया चेपाङका चार सन्तान छन् । उनकी जेठी छोरी नै नौ वर्षकी छन् । सुत्केरी हुँदा पोसिलो आहार नपाएकी निरमाया बिरामी परिरहन्छिन् । निकै कमजोर रहेकी उनलाई चाँडै बच्चा जन्माउँदा स्वास्थ्यसम्बन्धी समस्या हुन्छ भन्ने ज्ञान छैन । उनको पनि अझै सन्तानको रहर पुगिसकेको छैन । उनको परिवारमा पाखोबारीमा उत्पादन हुने अन्नले तीन महिनाभन्दा बढी खान नपुग्ने अवस्था छ । 
 
राप्ती नगरपालिकाको लोथरसँगै जोडिएको रेन्चुरानकी २२ वर्षीया कान्छीमाया चेपाङका तीन सन्तान भइसके । काखमा दूधे बालक च्यापेकी उनको भर्खर बिहे गर्ने उमेर भएको छ । तर, विद्यालय टाढा भएकाले पढ्न नसक्दा आमाबुबाले सानैमा बिहे गरिदिएको उनी बताउँछिन् । 
 
रेन्चुरानकै सानीमाया चेपाङ बल्ल १८ वर्षकी भएकी छन् । उनी दुई सन्तानकी आमा बनिसकेकी छन् । उनका साथी सम्झनाका दुई सन्तान र सुनिताको एक सन्तान जन्मिसकेका छन् । काखमा नानी बोकेर हिँड्ने अधिकांश किशोरीको बिहे १३ देखि १५ वर्षको उमेरमा भएको छ । सन्तान जन्मिनुलाई ईश्वरको वरदान ठान्ने चेपाङ समुदायमा परिवार नियोजनबारे विभिन्न भ्रम अझै कायमै छ । 
 
अधिकांश किशोरीले पाँच कक्षाभन्दा बढी पढ्न नपाएको गुनासो गर्छन् । सानीमाया भन्छिन्, ‘बाउआमाले १४ वर्षमै बिहे गरिदिए । खोई कति वर्षमा बिहे गर्ने हो, केही थाहा छैन ।’ सधैँ साँझबिहान मेलापात गरेर जीविकोपार्जन गर्नुपर्ने उनीजस्ता किशोरी आमाहरु बच्चा बोकेरै खेतबारीमा जान्छन् । आमा र बच्चाको स्वास्थ्यबारे सचेत नहुँदा धेरैले अकालमै ज्यान गुमाउनुपर्ने नियति छ । 
 
चेपाङ समुदायका अधिकांश किशोरीले परिवारको सहमतिबेगर भागेरै विवाह गर्छन् । बिहेपछि परिवारले स्वीकृति दिन्छन् । कतिपय अभिभावकको करकापले बिहे गर्न बाध्य हुन्छन् । कलिलो उमेरमै बिहे गर्नेहरू प्रायः एक वर्षमै आमा बन्छन् । चितवनबाट मकवानपुर र मकवानपुरबाट चितवनमा भागी बिहे गर्नेहरु थुप्रै छन् । चाँडै बिहे गर्दा रोगी भएको अनुभूति गर्ने उनीहरुमा परिवार नियोजनको अस्थायी साधन प्रयोगबारे ज्ञानसमेत छैन । 
 
कलिलो उमेरमै आमा बन्नेक्रम नरोकिनुमा शिक्षा र चेतनाको कमी रहेको चेपाङ अभियन्ता केपीकिरण शर्मा बताउँछन् । चेपाङ समुदायमा बालविवाहको समस्या ज्यूँका त्यूँ रहेको उनको बुझाइ छ । भन्छन्, ‘चेपाङ जहाँका भए पनि बालविवाहको समस्या उस्तै छ । पढ्न नसक्नेले १२÷१३ वर्षमै बिहे गर्ने चलन छ ।’
 
विद्यालय टाढा हुँदा गाउँका प्रायः बालिकाले पाँच कक्षासम्म मात्रै पढेका हुन्छन् । पढाइको रहर पु¥याउन तीन वर्षसम्म कक्षा दोह¥याउने र बिहे गर्ने संस्कार नै बसिसकेको शर्मा बताउँछन् । भन्छन्, ‘अहिलेसम्म जेजति अभियानका कुरा गरे पनि चेपाङ समुदायमा बालविवाहको समस्या कत्ति हटेको छैन ।’
 
चेपाङलाई लगानी बालुवामा पानी 
 
चेपाङ समुदायका लागि भनेर विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले गरेको लगानी बालुवामा पानी हालेसरह भएको चेपाङ अभियन्ता केपीकिरण शर्मा बताउँछन् । 
 
शिक्षा र चेतनाकै माध्यमबाट बालविवाह न्यूनीकरण गर्न सकिने उनको धारणा छ । भन्छन्, ‘पहिले त विद्यालयको पहुँचबाट टाढा रहेका चेपाङलाई पढ्ने वातावरण सिर्जना गर्नुपर्छ । चेपाङ किशोरीले पनि स्टाफ नर्स पढ्न पाए भने कलिलो उमेरमै बिहे गर्नु पर्दैन ।’
 
स्थानीय निकायले बालविवाह बन्देज लगाएर अभिभावकमा रहेको अन्धविश्वास हटाउन सके किशोरी अवस्थामै आमा बन्नुपर्ने नियतिबाट छुटकारा मिल्ने शर्माको विश्वास छ । 
 
बालविवाहको समस्या विद्यमान 
 
चेपाङ अगुवा एवम् राप्ती १३ स्थित आधारभूत विद्यालय स्यामराङका प्रधानाध्यापक अतिबल चेपाङ अशिक्षा र जनचेतनाकै अभावका कारण बालविवाहको समस्या विद्यमान रहेको बताउँछन् । उनी भन्छन्, ‘राप्ती १३ को सेवा क्षेत्रभित्र मात्रै ५० प्रतिशत किशोरी आमा छन् । मेरै छात्राहरु कम उमेरमै बिहे गर्छन् । आर्थिक विपन्नता र आमाबुबाको करकापबाट यस्तो समस्या भइरहेको छ ।’
 
स्थानीय सरोकारवाला निकायले विभिन्न समूहमार्फत तालिम दिएर यो समस्या न्यूनीकरण गर्न जरुरी रहेको प्रअ अतिबल बताउँछन् । 
 
युवालाई प्रशिक्षण
 
राप्ती नगरपालिका १२ का वडाध्यक्ष अर्जुन चेपाङ एक्काइसौँ शताब्दीमा पनि बालविवाहको समस्या रहिरहनु चिन्ताको विषय रहेको बताउँछन् । भन्छन्, ‘विद्यालयसम्म पुग्न २-३ घण्टा लाग्छ । तीन-चार कक्षा पढेर १४-१५ वर्षमै चेपाङ किशोरीको बिहे गर्नेक्रम जारी नै छ ।’ 
 
वडाबाट अभिभावक र युवालाई चेतनामूलक कार्यक्रमका साथै प्रशिक्षण चाँडै सञ्चालन गर्न लागेको उनी बताउँछन् । अगुवा महिलाको नेतृत्वमा २० वर्ष उमेर नपुगी बिहे गर्न नहुने कुराको चेतना फैलाउन वडाले योजना बनाएको उनको भनाइ छ । 
 
चितवन, मकवानपुर, धादिङ र गोरखामा चेपाङ समुदायको बसोबास छ । जसमध्ये चितवन र मकवानपुरमा कलिलै उमेरमा बिहे गर्नेक्रम बढी रहेको चेपाङ अगुवाहरु बताउँछन् । किशोरी आमाहरुले सुत्केरी हुँदा पोसिलो खाना नपाउने कारण आमा र बच्चाको स्वास्थ्यसमेत जटिल बन्ने गरेको छ ।