राजनीति / समाज

प्रचण्डले अस्थिरता निम्त्याउन खोजे : नेता पौडेल

97 पटक पढिएको

10th Jun 2018, Sunday | २०७५ जेष्ठ २७, आईतवार २१:५१
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी प्रतिपक्षमा भए पनि देशमा स्थिरता, शान्ति र समृद्धि चाहेको बताएका छन् ।
 
भानुभक्त अयोध्यादेवी स्मृति प्रतिष्ठानले आयोजना गरेको प्राध्यापक पीताम्बर शर्मा दाहालको ‘मेरो रिमरिमे सम्झना’ जीवनीमूलक चम्पूकाव्य कृतिको विमोचन गर्दै उनले सत्तामा भए पनि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान विपरीत कार्यकारी राष्ट्रपतिको विवाद निकालेर अस्थिरता निम्त्याउन खोजेको बताए ।
 
“छ वर्षसम्म संविधानका अक्षर र शब्द छलफल गरेर बनाइयो, अहिले सत्तारुढ दलकै नेता यस विपरीत कुरा गरेर अस्थिरता ल्याउन खोजिरहेका छन्, यो प्रश्नले विवाद र अस्थिरता निम्त्याउँछ, संविधान विपरीतको कुरा काँग्रेसका लागि मान्य हुँदैन”–उनले भने । 
 
सत्तारुढ दलले दुई तिहाईको गठबन्धन बनाउन खोज्नु र कार्यकारी राष्ट्रपतिको विषय उठाउनु वनमा बाघ कराउनु र खोरबाट बाख्रा हराउनुजस्तै भएको नेता पौडेलको भनाइ थियो । लोकतन्त्र अझै सुनिश्चित नभएकाले सजग रहन पनि उनले सचेत नागरिकलाई आह्वान गरे । 
 
काँग्रेस नेता अर्जुननरसिंह केसीले सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लागि बजेटको ११ प्रतिशत राखेर शक्तिशाली बनाउन खोज्दा शंका उपशंका उब्जिएको बताए । 
 
शक्तिशाली सरकारी निकाय पनि प्रधानमन्त्री कार्यालयअन्तर्गत राख्न खोजी सरकार अधिनायकवादतर्फ जान लागेको उनको विचार थियो । 
 
परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले विदेश मामिला र समृद्धिका लागि सत्तापक्ष एवम् प्रतिपक्षका बीच एकमत हुनुपर्ने विचार राखे । शक्तिशाली नभई जनताप्रति उत्तरदायी शासकको आशामा नेपाली जनता रहेको उनले सुनाए ।
 
कार्यक्रममा पूर्वमन्त्री अच्युतराज रेग्मी, प्रा डा मोहनप्रसाद तिमल्सिना, प्रा प्रयागराज भट्टराई, वरिष्ठ अधिवक्ता एवम् नेपाल विद्यार्थी संघका संस्थापक देवेन्द्र नेपाली, चलचित्र निर्देशक यादव खरेल, प्रा डा धनप्रसाद पण्डित लगायतले लेखक दाहालले पुस्तकमा इमान्दारीपूर्वक जीवनका घटना उतारेको बताए ।