मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

आयोगद्वारा गंगामायाको स्वास्थ्य रक्षाका लागि सरकारलाई पत्राचार

आयोगद्वारा गंगामायाको स्वास्थ्य रक्षाका लागि सरकारलाई पत्राचार


काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले छोरा कृष्णप्रसाद अधिकारीको हत्याको छानबिन र दोषीउपर कानूनी सजायको माग गर्दै अनशनरत गंगामाया अधिकारीको जीवन रक्षाका लागि संवेदनशील भई तत्काल कार्य प्रक्रिया अगाडि बढाउन सरकारलाई पत्राचार गरेको छ ।
 
आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा यही जेठ १५ गतेदेखि वीर अस्पतालमा पुनःअनशन बस्दा र पटकपटकको अनशनका कारण उनको स्वास्थ्य अवस्था अत्यन्त कमजोर र नाजुक बन्दै गएकोप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
 
आयोगले सर्वोच्च अदालतको आदेशानुसार दोषीउपर कानूनी कारबाही प्रक्रिया अगाडि बढाउन र निजको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई निजको जीवन रक्षाका लागि तत्काल आवश्यक पहल गर्न आजै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको हो ।
 
साथै आरोपित व्यक्तिलाई कानूनी कारबाही गर्ने सम्बन्धमा के–कसो भएको छ, त्यसको सम्पूर्ण विवरण तीन दिनभित्र उपलब्ध गराउन प्रहरी प्रधान कार्यालयलाई समेत आजै पत्राचार गरेको छ । 
 
गंगामायाको स्वास्थ्य अवस्था सम्बन्धमा आयोगका सदस्य प्रकाश वस्ती र गोविन्द शर्मा पौड्याल नेतृत्वको उच्चस्तरीय टोलीले आज पुनःवीर अस्पतालमा पुगेर अनुगमन गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ ।
 
अनुगमनका क्रममा गंगामायाको स्वास्थ्य अवस्था अत्यन्त कमजोर देखिएको शरीरका विभिन्न भाग सुन्निएको तथा एउटा खुट्टा नचल्ने अवस्थामा रहेको आयोगले जनाएको छ । रासस