मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

गणतन्त्र हत्यारालाई मुक्ति दिन ल्याइएको हो?

गणतन्त्र हत्यारालाई मुक्ति दिन ल्याइएको हो?


जनताको त्याग र वलिदानको बलमा निरङ्कुश, जाहाँनिया र सामान्ती राजतन्त्रको समुल अन्त्य गर्दै स्थापित गणतन्त्रको वर्ष गाँठ मनाउँदै गर्दा जनताको मनमा हर्ष, उल्लास र सन्तुष्टिको भावना हुनुपर्ने हो।
 
गणतन्त्र कुनै अमुक शव्द मात्रै नभएर जनताको सार्वभौमसत्ताको सुनिश्चितता भएको अनि जनताको इच्छा र चाहनाको व्यवहारमा सम्मान भएको र जनताको सपनाहरु साकार भएको देखिने शासन व्यवस्था हो। तर, के आज ११ गणतन्त्र दिवश मनाउँदै गर्दासम्म जनताले देखेको सपना साकार हुने दिशातर्फ काम भएका छन त? के जनताले जे कुराको निम्ति त्याग र वलिदान गरे , त्यसको ग्यारेण्टी हुने ढङ्गले काम भैरहेको छ त!
 
स्वाभाविक रुपमा जनताको इच्छा चाहना अनुसार शासकीय संरचनाहरु त निर्माण भएका छन, जनताको सपनाहरु अनुसारको अधिकारलाइ लिपिवद्ध गरेर संविधान निर्माण पनि  भएको छ ! यद्धपि त्यसका कार्यान्वयनको पक्षहरुमा देखिएका आशाहरु विश्वासमा परिणत हुन अझै धेरै काम गर्न बाँकी नै छ भन्दा अन्यथा हुनेछैन। पछिल्लो निर्वाचन मार्फत गठित वर्तमान सरकारले अगाडि सारिरहेका नीति र कार्यक्रमले जनतामा एक प्रकारको आशा जगाएको जरूर छ , नीति तथा कार्यक्रमहरुको कार्यान्वयन मार्फत आशाहरु विश्वासमा वदलिने हो भने गणतन्त्र स्थापनाको समयमा देखिएको विकास र सम्वृद्धिको सपनालाई न्याय हुनेछ। तर, विकासले मात्रै लोकतन्त्रको मर्मलाइ वोक्न सक्दैन। लोकतन्त्र नभएर तानाशाही व्यवस्था भएको मुलुकमा समेत विकास भएका छन्, देश र त्यस देशका नागरिकहरु सम्पन्न पनि रहेका छन्।
 
लोकतान्त्रिक शासनको अर्को प्रमुख पाटो भनेको कानुनी राज्य र मनावअधिकारको प्रत्याभूति हो जुन विषय चाहीँ लोकतान्त्रिक गणतन्त्र नेपालमा कता कता खड्किँदै आएको छ र अहिलेसम्म पनि ती कुराहरुमा समस्या देखिएकै छन।
 
आफूलाई लोकतन्त्रको मसिहा ठान्ने कांग्रेस होस वा कांग्रेसलेभन्दा आफूले लोकतन्त्र र कानुनी शासनको मर्म बुझ्ने र अङ्गीकार गरेको दाबी गर्ने वामपन्थीहरु हुन् सबैले लोकतन्त्रको मुख्य आधार हुनुपर्ने कानुनी शासन र मानवअधिकारको प्रसंगलाई आफु अनकुल व्याख्या र व्यवाहार गर्ने गरेको देखिँदै आएको छ।
 
निष्ठा र इमानका साथ न्याय सम्पादन गर्ने तत्कालिन प्रधानन्यायधीशलाई महाभियोग लगाउने तत्कालिन कांग्रेस-माओवादी गठबन्धनको  खेल होस वा अहिले प्रधानन्यायधीश नियुक्तीलाई टुंगो नगरेर गरिएको अलमल होस यी दुवै संगतिपूर्ण कदम होइनन्।
 
त्यसको अलावा पनि अन्य कतिपय कामहरु छन् जसले लोकतन्त्र प्राप्तिको दौरान जीवन दिने शहिदहरुको सपनालाई गिज्याउने गरेको छ।
 
उदाहरणको निम्ति हत्या जस्तो गम्भीर अपराधिक गतिविधिमा संलग्नले  निर्वाचनमा भाग लिन पाउने, जनआन्दोलन दमनको राजनीतिक प्रशासनिक नेतृत्वकर्ताले अवसर पाउने, हचुवामै लेखिएको भए पनि संविधानमा उल्लेख भइसकेका कुरालाई व्यवहारमा उतार्न पनि नचाहने अनि हचुवा प्रावधानको संशोधन पनि  गर्न नचाहने जस्ता प्रवृति आफैंमा लोकतन्त्र र कानुनि राज्यको सिद्धान्तसँग मेल खाने खालका छैनन्।
 
त्यसभन्दा पनि अझै महत्वपूर्ण चाहिँ अपराध र अपराधीलाइ राजनीतिक आँखाले हेर्ने र व्यवहार गर्ने जुन प्रवृति देखिएको छ त्यसले आन्तरिक रुपमा नैराश्यता र आक्रोशको अवस्था सृजना भएको छ भने वाह्य संसारका सामु देशको परिचय नै धमिलो हुँदैछ।
 
दर्जनौ सुरक्षाकर्मीदेखि नावालक बच्चासमेतको हत्याको अभियोग लागेका रेशम चौधरीलाई सांसदको रुपमा काम गर्न दिनुपर्छ भन्ने आरण्य रोदन मिश्रित मागलाइ वुलन्द गर्ने, कथित आन्दोलनहरुको नाममा मच्चाइएको हिंशा र आतंकमा सहभागी अपराधीको मुद्दालाई राजनीतिक रुपमा फिर्ता लिने घृणित कार्य गर्ने मात्रै नभएर संगिन अपराधमा संलग्न भए रहेको प्रष्ट देखिएका पात्रलाई प्रहरीले गिरफ्तार गर्दा लज्जास्पद ढंगले पार्टीहरू जुलुस गर्दै सडकमा आउने जस्ता  विकृत दृश्यहरु  पनि देख्नुपरेकै छ गणतन्त्रमा।
 
जो गणतन्त्रको मुहारमा दाग लगाउने  र गणतन्त्र विरोधीलाई हसाउने माध्यम मात्रै बन्दै आएका छन्।
 
हुँदा हुँदा अब त निर्दोष, निहत्था नागरिकको हत्यारा रहेको प्रमाणित भएर जेल परेको बालकृष्ण ढुङ्गेललाई गणतन्त्र दिवश पारेर कैद मिनाहा गर्ने  निर्णय गरिएछ।
 
गणतन्त्र दिवशको दिन राजनीतिक आवरणमा सजिएर एउटा निर्दोष र निहत्था नागरिकलाई हत्या गर्ने व्यक्तिको कैद मिनाहा हुन्छ भने त्यसले के गणतन्त्रवादीको शिर उचो होला?
 
सत्तापक्षीय राजनीतिक दल निकट भएकै कारण हत्याराको रिहाइ हुँदा दण्डहिनता विरोधी र मानवअधिकार रक्षाको निम्ति व्यक्त देशको प्रतिवद्धताको कस्तो अर्थ लाग्ला?
 
थाहा छैन निर्णयकर्ताको मनमा यो प्रश्न आयो वा आएन तर जनताको मनमा यसको उत्तर जरूर आयो र यो विकृत दृश्य हेर्दै गरेको हरेकको मनले भनिरहेको छ- ‘गणतन्त्र ज्यानमाराको कैद मिनाहा गर्न होइन उनीहरूलाई थप सजायँ गर्नको निम्ति हुनुपर्थ्यो।
 
विकास र सम्वृद्धिको आशा जागृत भएको अवस्थाको यो ११ औँ गणतन्त्र दिवशको दिन हत्याराको कैद मिनाहा गर्ने जुन  काम भएको छ यसले लोकतन्त्र र कानुनी राजको मर् माथि गम्भीर प्रहार गर्नुको अलावा सत्तासिन राजनीतिक शक्तीको आशिर्वाद हुँदा जस्तोसुकै अपराध गर्दा पनि केही फरक नपर्ने रहेछ भन्ने सन्देश दिएको छ।
 
यसले सत्तामा आसिन केही व्यक्ती अनि सत्तामा रहेको दलको सानो पङ्क्तिलाई आफ्ना सहयोद्धालाई सहयोग गर्न सकेकोमा सफलताको अनुभूति दिएको होला तर समग्रमा यसले वर्तमान सरकारको छवि धमिलो पार्ने अनि  सरकारको नेतृत्व गरिरहेको दलको अत्याधिक नेता कार्यकर्ताले मन अमिलो पार्ने अवस्था सिर्जना गरेको छ।
 
त्यसभन्दा पनि ज्यादा गणतन्त्र स्थापनाको निम्ति त्याग र  वलिदान दिने हरेकको मनमा, ‘के गणतन्त्र सत्ताका सारथीहरु निकट रहेका हत्यारालाई राहत दिनको निम्ति हो?’ भन्ने जवर्जस्त सवाल छ।