मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

नारायणगढ–मुग्लिन सडक चौबिसैघण्टा खुल्ला

नारायणगढ–मुग्लिन सडक चौबिसैघण्टा खुल्ला


चितवन । लामो समयपछिको व्यग्र प्रतीक्षापछि नारायणगढ–मुग्लिन सडक बुधबारदेखि चौविसैघण्टा खुलेको छ । सो सडकखण्डको तीनवटै खण्ड कालोपत्रेबाट जोडिएसँगै सधैंका लागि सञ्चालनमा आएको हो । 
 
नारायणगढ मुग्लिन सडक विस्तार आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले केही दिनमै अहिले भइरहेको दैनिक बन्द हटाएर यो सडकखण्ड चौबिसै घण्टा सञ्चालन गरिने जानकारी दिए । हाल यो सडकखण्ड निर्माणका लागि दैनिक ४ देखि ६ घण्टा बन्द हुँदै आएको थियो । 
 
निर्धारित समयभन्दा करिब १४ महिना ढिलो सम्पन्न हुन लागेको मुग्लिन नारायणगढ सडकखण्ड निर्माणका लागि २०७२ सालको भूकम्पको मुखैमा सम्झौता भएको थियो । तर, त्यसलगत्तै भएको भारतीय नाकाबन्दीमा ईन्धन अभावको मारका कारण ढिला भएको खनालले बताए ।  
 
मुग्लिन नारायणगढ सडकखण्डको काम ९१ दशमलव ५० प्रतिशत सम्पन्न भएको आयोजनाका सूचना अधिकारी एवम् इन्जिनियर शिव खनालले जानकारी दिए । सँगै ३६ किलोमिटर लामो यो सडकखण्डको ३३ दशमलव २ प्रतिशत सडक एशियाली मापदण्डअनुसार निर्माण गरिएको हो ।
 
‘समग्रमा ३३ दशमलव २ किलोमिटरमा पहिलो तहको कालोपत्रे सकिइसकेको छ,’ उनले भने, ‘३२ दशमलव ७० किलोमिटरमा दोस्रो तहको र १२ दशमलव ७ किलोमिटरमा तेस्रो तहको कालोपत्रे सम्पन्न भएका छन् भने भौतिक प्रगति ९१ दशमलव ५० प्रतिशत पुगेको छ ।’ 
 
उक्त सडकखण्डलाई तीनवटा निर्माण कम्पनीले ठेक्का लिएर काम गरेका हुन् । पहिलो खण्ड अन्तर्गत आँपटारी–दासढुंगा खण्डको १० दशमलव ४५ किलोमिटरको लागि बिएलए एससीसी जेभीले काम गर्ने जिम्मा पाएको थियो ।
 
नयाँ बन्ने दासढुंगा पुलबाहेक पहिलो खण्डमा दोस्रो तहको कालोपत्रे भइसकेको सूचना अधिकारी खनालले बताए । ‘तेस्रो तहको कालोपत्रे पनि दुई किलोमिटर सकिएको छ,’ उनले भने, ‘यो खण्डको भौतिक प्रगति ९१ दशमलव २० प्रतिशत पुगेको छ ।’ भौगोलिक दृष्टिकोणले यो खण्ड काम गर्न अन्यको तुलनामा केही सहज देखिन्छ ।
 
वुडहिल लामा जेभीले जिम्मा पाएको दोस्रो खण्डअन्तर्गतको दासढुंगा–सिमलताल खण्डको १० दशमलव ६९ किलोमिटर तिनै तहको कालोपत्रे सम्पन्न भइसकेको छ । समग्रमा यो खण्डको भौतिक प्रगति ९७ दशमलव ५० प्रतिशत रहेको उनले बताए । 
 
यस्तै गरी सुप्रिम रौताहा जेभीले जिम्मा पाएको सिमलताल–मुग्लिन खण्डको १२ दशमलव १५ किलोमिटर सडकमा पनि पहिलो तहको कालोपत्रे सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । तीमध्ये ११ दशमलव ८० किलोमिटरमा दोस्रो तहको कालोपत्रे सम्पन्न भइसकेको छ । यो खण्डमा तेस्रो तहको कालोपत्रे भने सुरु भइसकेको छैन । अन्य दुई खण्डको तुलनामा यो खण्ड पहिरोको दृष्टिकोणले पनि बढी जोखिमयुक्त  मानिन्छ ।
 
बाँकी रहेका ठाँउमा दोस्रो र तेस्रो तहको कालोपत्रे गर्ने काम म्याद थप भएमा सोही समयभित्र र यदि म्याद थप नभएमा जरिवाना तिराएर भएपनि सहजै सम्पन्न गर्न सकिने उनले बताए । 
 
६ सेन्टिमिटर मोटो पहिलो तहको कालोपत्रे सम्पूर्ण खण्डमा सम्पन्न भइसकेकोले अब नारायणघाट-मुग्लिन सडक अवरोध नभएको अवस्थामा ३५ मिनेटमै पार गर्न सकिने आयोजनाले दाबी गरेको छ ।