विचार / ब्लग

धुर्मुस सुन्तलीलाई खुल्ला पत्र

1124 पटक पढिएको

हिमालयखबर | 1st Jun 2018, Friday | २०७५ जेष्ठ १८, शुक्रबार १६:५७
प्रिय कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’
 
सादर नमस्कार ।
केहि दिन पहिले बिहानको खाना खाँदै गर्दा मेरी १३ वर्षकी छोरीले अकस्मात सोधिन्–‘बाबा, हिजोआज ‘मेरीबास्सै’ मा धुर्मुसे आउँदैन नि । किन हो, कहाँ गयो धुर्मुसे ?’
 
प्रायः शनिबार बिहानको खाना परिवारका चारैजना सँगै बसेर खान्छौँ । त्यही क्रममा छोराले टिभीको युटुब च्यानलमा ‘भद्रगोल’ लगाउँछ । भद्रगोलको केन्द्रिय पात्र ‘जिग्री’ अर्थात कुमार कट्टेल धुर्मुसको भाई भन्ने कुरा मेरी छोरीलाई जानकारी छ । जिग्रीलाई देखेपछि मेरी छोरीले धुर्मुसलाई याद गरेकी हुन् ।
 
छोरीको जिज्ञासालाई शान्त बनाउँदै मैले धुर्मुस हिजोआज विकासका काममा लागिरहेकोले हाँस्य सिरियलहरुमा नखेलेको हुनसक्ने बताएँ । ‘ए...’ भन्दै छोरीले जिग्रीको अभिनय तिर ध्यान दिइन् ।
 
आदरणीय सीतारामजी,
मैले यो माथिको प्रसङ्ग किन उठाएको भने, मेरी छोरी जो नेपालमै जन्मिइन् । जसले नेपालका हाँस्य सिरियलहरु हेरेर बढ्दै आइन् । ती सबैको मन मस्तिष्कमा तपाईको जीवन्त अभिनयका दृश्यहरु गडेर बसेका छन् । गाउँकै फटाहा पात्र धुर्मुस होस् या खड्का काजी, गाउँले प्रमुख हुन् या षडानन्द बाजे । यात रेलको चक्कामा हावा हाल्ने जागिर दिलाउने डोटेली हुन् । यी सबै जीवन्त अभिनयले तपाई एउटा असाधारण कलाकार हो भन्ने कुरा अब कतै कसी लगाइरहनु पर्दैन ।
 
सन् २०१५ को भुकम्पको समयमा तपाई अमेरिकामै हुनुहुन्थ्यो । शायद त्यतिखेर तपाई कार्यक्रम देखाउने सिलसिलामा ड्यालसमै हुनुहुन्थ्यो जस्तो लाग्छ । भुकम्प लगत्तै अमेरिकाका सबै कार्यक्रमहरु छाडेर मातृभूमि फर्किनुभयो । उद्धार र राहत कार्यमा सरकारलाई साथ दिँदै अग्रसर हुनुभएको खबर म र हामीजस्ता धेरैले त्यतिखेरै पढेका हौँ ।
 
भुकम्पले ध्वँस्त भएको अवस्थामा सिन्धुपाल्चोकको गिरान्चौरमा आधुनिक घरहरु बनाएर गरिब परिवारलाई हस्तान्तरण गर्नुभयो । त्यसपछि पाँचखालको पहरीवस्ती, बर्दीबासको मुसहरवस्तीदेखि लिएर रौतहटको सन्तपुर नमूना बस्तीसम्म खडा गरेर सयौँ परिवारको मनदेखि मुहारसम्म खुशी ल्याउनुभएको छ । देशले गर्न नसकेको काम धुर्मुस सुन्तली फाउण्डेसनले गरेर स्याबासीमात्र होइन विश्वास पनि जित्नुभएको छ ।
 
आदरणीय धुर्मुस र सुन्तली,
तपाईले कसरी विश्वास आर्जन गर्नुभएको छ भन्ने एउटा सानो उदाहरण यहाँ प्रस्तुत गर्दैछु । मेरा एक आफन्त हुनुहुन्छ पुरुषोत्तम बोहोरा । एक दशकदेखि अमेरिकामा हुनुहुन्छ । केन्टकी राज्यको लेक्जिङ्गटन सिटीमा बस्नुहुन्छ । व्यबसायमा संलग्न हुनुहुन्छ ।
 
भरखरैमात्र उहाँले नयाँ घरमा सरेको अवसरमा हाउस वार्मिङ पार्टी राख्नुभएको थियो । हाउस वार्मिङ पार्टीमा आउने अतिथिहरुबाट जम्मा भएको झण्डै तीनहजार डलर नेपालमा बन्ने क्रिकेट रंगशालाका लागि भनेर उहाँले घोषणा गर्नुभयो । यो घोषणा धुर्मुस सुन्तली प्रतिको विश्वास हो ।
 
अर्को दृष्टान्त, मसँगै काम गर्ने दोलखाका विकास कार्की हुनुहुन्छ । नेपालमा हुँदा बिभिन्न सरकारी निकायमा काम गर्नुभएका विकास दाईसँग प्रायः नेपालका बारेमा कुराकानी हुन्छ । सरकार, नेता, कर्मचारीदेखि लिएर डनहरुसम्मका कुरा हुन्छन् हामीबीच । विकास दाईले गत वर्ष भन्नुभएको एउटा कुरा सम्झिरहेको छु मैले । ‘धुर्मुस सुन्तलीले त साँच्चिनै काम गरेर देखाए । हामीले सकेको सहयोग गर्नैपर्छ,’ उहाँले भन्नुभयो ।
 
देशविदेश जताततैबाट धुर्मुस सुन्तली फाउण्डेसनका कामप्रति विश्वास बढिरहेको छ । सरकारले विश्वास गुमाइरहेको अवस्थामा धुर्मुस सुन्तलीका कामले विश्वास आर्जन गर्नु निश्चय पनि सकारात्मक पक्ष हो । तरपनि धुर्मुसले त्यसमा घमण्ड नगरिकन भनेको मैले टिभीमा हेरेको छु । ‘हामी सरकारको विकल्प होइनौँ, सरकारको सहयोगीमात्र हौँ । हामीले सरकारलाई सहयोग गरेका मात्र हौँ,’ धुर्मुसले भनेको यो बाक्य अझै मेरो दिमागमा ताजै छ ।
 
आदरणीय सीताराम र कुञ्जनाजी,
तपाईहरुले जे जति काममा हात हाल्नुभयो । सबै सफल गराएरै छाड्नुभएको छ । एक वर्ष अघि हिमालयखबरका लागि अन्तरवार्ता लिने क्रममा तपाईले ड्यालसका सबै प्रतिष्ठित व्यबसायीहरुको नाम लिँदै भन्नुभएको थियो–‘लौ न दशैँमा हस्तान्तरण गर्ने भनेको यो वस्तीको काम पैसाको अभाले रोकिने भयो । त्यताका साथीहरुलाई अलिकति सहयोगका लागि झकझकाइदिनुपर्यो ।’
 
हात हालेको काममा सफलतामात्र पाउनुभएको छैन । विश्वास पनि जित्नुभयो । त्यसैले त बेलाबेलमा कुरा उठेको सुन्छु–‘धुर्मुसलाई त पुनर्निमाण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत बनाउनुपर्छ । अनिमात्र काम हुन्छ ।’
 
तपाईहरुले थाल्नुभएको काममा सफलतको उत्साहले होला शायद ठूलो लगानीको ‘नमूना नेपाल’ देखि लिएर क्रिकेट रंगशालासम्म बनाउने योजना बनाउनु भएको छ । अहिले मुलुककै सबैभन्दा पुरानो बीर अस्पतालको सर–सफाई र रंगरोगनमा तपाईहरु लाग्नुभएको छ । टाढा रहेर भएपनि तपाईहरुका गतिविधि सुन्दा बडो खुशी लाग्छ ।
 
सीतारामजी,
मैले धेरै वर्ष अघि कुनै एउटा किताबमा पढेको थिएँ –‘तपाई ९९ वटा राम्रो काम गर्नुस्, तर समाजका केही व्यक्तिहरु तपाईको एउटा गल्तीलाई कुरेर बसेका हुन्छन् ।’
 
अहिले हेर्दा यो कुरा तपाईको जीवनमा ठ्याक्कै मेल खाएजस्तो लाग्छ । अहिले बीर अस्पतालको रंगरोगनका कुरा उठेका छन् । स्वास्थ राज्यमन्त्रीले भनिसक्नुभयो–‘चन्दा उठाउन स्विकृती दिएका छैनौँ ।’
 
सञ्चारमाध्यममा आएअनुसार बीर अस्पताल सरसफाई अन्तरगत ४८ लाख खर्च भैसक्यो । अब यो रकम कसरी भुक्तानी गर्ने भन्ने विषयमा अहिले सरकार, अस्पताल अप्ठेरोमा परेको बुझिन आएको छ ।
 
नेपालमा काम गर्न निकै गाह्रो छ । व्यबहारिक रुपमा, कानुनी रुपमा काम गर्न निकै कठिनाई छ । ५ लाख रुपैयाँभन्दा माथिको काम गर्नुपर्दा सार्वजनिक टेण्डर आव्हान गर्नैपर्छ । असल नियतले कसैले भ्रष्टाचार नगरि गुणस्तरीय काम गर्छु भन्दा पनि यो प्रकृयालाई मिच्न गाह्रो छ ।
 
केही वर्ष अघिको घटना सम्झिन्छु म । जतिखेर नेपालमा पत्रकारितामा संलग्न थिएँ । संसदको सार्वजनिक लेखा समितिका बैठकहरुमा म प्राय रिपोर्टिङका लागि जान्थे ।
 
एक पटक बैठकमा एनसेलले आक्रामक रुपमा सेवा विस्तार गरिरहेको र नेपाल टेलिकम सुतेर बसिरहेको छ । टेलिकमको सेवा पनि स्तरीय छैन भनेर सांसदहरुले प्रश्न उठाए । जवाफमा टेलिकमका तत्कालिन प्रवन्ध निर्देशक अमरनाथ सिंहले भनेका थिए–‘हामीले सानोतिनो सामान किन्न, निर्माण गराउन पनि टेण्डरमै जानुपर्ने हुन्छ । एउटा टेण्डर तयार गर्नदेखि कामको सम्झौता गर्न एक वर्ष लाग्छ । टेण्डरमा जानैपर्ने गरि हाम्रो हात बाँधिएको छ ।’
 
हो, नेपालका सबै सरकारी निकायको अवस्था यस्तै छ । टेण्डर बिना कसैले पनि काम गराउन, खरिद गर्न सक्दैनन् । नभए अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परिक्षकमा उजुरी परिहाल्छ ।
 
धुर्मुसजी सुन्तलीजी,
तपाईहरुले आफ्नो पेशा (कलाकारिता) लाई स्थगित गरेर समाजसेवामा लाग्नुभएको छ । बदलामा सम्मान पनि पाउनुभएको छ । मलाई याद छ, तपाईहरुले गिरान्चौर बस्ती हस्तान्तरण गरेपछि पशुपालन गर्ने ठाउँ समेत रहेनछ भनेर समाजका केही भाँडहरुले विरोध गरेका थिए । जो आफु पनि काम गर्दैनन् र अरुले गरेको पनि पचाउन सक्दैनन् ।
 
यसपटक बीर अस्पतालको विषयमा तपाईहरुप्रति जुन शंका गरियो, चन्दा संकलनका विषयमा कुरा उठ्यो यसलाई तपाईले गंभीर रुपले लिनैपर्छ । किनकी दुनिया तपाईको एउटा गल्तीको पछि लाग्छ भन्ने गतिलो दृष्टान्त यही हो ।
 
तपाईहरुको पहिचान भनेको कलाकारिता हो । सीताराम कट्टेलका नामले भन्दा पनि तपाईलाई साराले ‘धुर्मुसे’ र कुञ्जनालाई ‘सुन्तली’ का नामले जान्दछन् । यो नाम तपाई आफुले आर्जन गरेको नाम हो । यो नामलाई जीवन्तै राख्नुहोला या निरन्तरता दिन मेरो विनम्र आग्रह छ ।
 
केही समययता तपाईको अभिनययात्रा अर्थात कलारिताले बिट मारेको हो कि भन्ने देखिएको छ । हुनतः यस्तै विकासे काममा लागेर फुर्सद नभएको पनि हुनसक्छ । तर, आफूले जुन ठाउँबाट पहिचान बनाएको हो, जुन कामले गर्दा साराले चिनेका छन् त्यसलाई चटक्कै छाडेर विकासे काममै मात्र लागिरहँदा पनि तपाईलाई समाजले बिर्सन्छ ।
 
जुनसुकै कुराको पनि एउटा पुर्णता अर्थात ‘स्याचुरेसन’ हुन्छ । तपाईहरुले बनाउनुभएको तीनवटा वस्तीसम्म असाध्यै उत्कृष्ठ थियो । तीनवटाले तपाईहरुको छबी धेरै माथि पुर्याउने काम भयो ।
 
नमूना नेपालदेखि लिएर क्रिकेट रंगशालासम्मका तपाईका अवधारणा आएका छन् । यी निकै कठिन र ठूलो राशीको कामहरु हुन् ।
 
तपाईहरुले अहिलेसम्म जे जति कामहरु गर्नुभएको छ । ती सबै देश विदेशमा रहेका शुभेच्छुकहरुको सहयोगमै सम्पन्न भएका हुन् । तपाईको इमान्दारिता र लगाव देखेर सहयोग गर्दै आएका हुन् । तर पछिल्ला प्रोजेक्टहरु निकै ठूला छन् । म भन्न सक्दिन–यति ठूला मेगा प्रोजेक्टका लागि शुभेच्छुकहरुको सहयोग प्रयाप्त होला या नहोला ?
 
अन्तिममा, मेरो सानो आग्रह कलाकारिताबाट जन्मेको धुर्मुसेको अन्त्य सीताराम कट्टेलमा पुगेर नहोस् । अर्थात, तपाई समाजसेवामा पनि लागिरहनुस् । तर तपाईको पहिचान भनेको कलाकारितानै हो । म र म जस्ता लाखौँलाई धुर्मुस र सुन्तलीलाई अझै पर्दामा हेर्ने धित मरेको छैन । समाजसेवा भनेको मुल पेशाबाट बँचेको समय र बचाउन सकेको नगदलाई लगाउने क्षेत्रमात्र हो । यो मुल पेशा होइन । समाजसेवा भन्दै लागिरहने हो भने भोलीका दिनहरुमा ‘जीवनयापन’ को आधार चाँही के हो त भनेर अरुले प्रश्न उव्जाउनेछन् ।
 
तसर्थ, मुल पेशालाई नछाड्नुस् । फेरि धुर्मुसे र सुन्तलीलाई अघि ल्याउनुस् ।
 
तपाईको शुभेच्छुक,
रामचन्द्र भट्ट
पिपल्टार, नुवाकोट
हाल, ड्यालस अमेरिका