अन्तर्वार्ता

पशु स्वास्थ्य प्राविधिकलाई स्वदेशमै विदेशको कमाई

191 पटक पढिएको

केशव भट्टराई / हिमालय खबर | 31st May 2018, Thursday | २०७५ जेष्ठ १७, बिहीवार २१:२४
चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका ९ स्थित गणेशचोकका ३६ वर्षीय प्रेमराज घिमिरे (सविन) बिहानदेखि साँझसम्म व्यस्त हुन्छन् । बिहान मोबाइल फोनमा घण्टी बजेसँगै सुरु हुने पशुपक्षीको उपचार साँझ आठ बजेसम्म चलिरहन्छ । 
 
उनी विदेशबाट फर्किएर पशु स्वास्थ्य प्राविधिक बनेका हुन् । जेटिए–भेटेरिनरी विषय अध्ययन गरेपछि उनले भानुचोकस्थित ऊँ एग्रोभेट पनि सञ्चालन गरेका हुन् । उनले मल, बीउ, विषादी र पशुपक्षीको औषधि बिक्री वितरणका साथै पशुको उपचार पनि गर्छन् । उनकी श्रीमती सम्झना दुवाडी पनि पशु स्वास्थ्य प्राविधिक हुन् । उनी पनि एग्रोभेटमा दिनभर व्यस्त रहन्छिन् । 
 
शहीद स्मृति बहुमुखी क्याम्पस, रत्ननगरमा प्रमाणपत्र तह अध्ययन गर्दागर्दै २०६० माघ २१ गते दुवई पुगेका उनी करिब साढे ६ वर्ष काम गरेर फर्किएका युवा हुन् । ३६ घण्टासम्म लगातार विदेशमा काम गरेको अनुभव उनीसँग छ । 
‘दुवईमा जसरी मिहिनत गर्ने हो भने नेपालमै पनि प्रसस्त कमाउन सकिन्छ भनेर स्वदेश फिरेको हुँ’, उनी भन्छन् । सुरुमा विदेशमोहले भौंतारिए पनि मिहिनतले नै स्वदेशमै केही गर्न सक्छु भन्ने आत्मविश्वास बढेको उनी बताउँछन् । 
 
उनी भेटरीनरी पेसाबाट सन्तुष्ट छन् । भन्छन्, ‘यो पेसाबाट म निकै सन्तुष्ट छु । विदेशमा ६ वर्षमा गरेको आम्दानीभन्दा बढी पैसा यसैबाट कमाएको छु ।’ दुवईमा ७०० रियाल हुँदै ६ वर्ष बढी समय काम गर्दा १६ सय ५० रियाल पारिश्रमिक पाएका उनले प्राविधिक पेसाबाट स्वदेशमै श्रम गर्दा मिनेटका हिसाबले पारिश्रमिक पाइने बताउँछन् । 
 
श्रीमान् श्रीमती नै पशु स्वास्थ्य प्राविधिक भएकाले व्यवसायमा पनि टेवा पुगेको उनी सुनाउँछन् । दिगो रुपमा आम्दानी हुने र पेसाको सम्मान हुने भएकाले परिवारको साथै रहेर खुसी साँट्न सकिएको उनी बताउँछन् ।  
 
उनले यही पेसाबाटै घर निर्माण तथा घडेरी जोड्न सफल भएका छन् । युरोप, अमेरिकामा गएर कमाउने जति आकर्षक कमाइ स्वदेशमै रहेर कमाउन सकिने विश्वास उनको छ । भन्छन्, ‘विदेशमा एक वर्षमा कमाउने जति रकम तीन महिनामै कमाउन सकिन्छ ।’ आफूसँग प्राविधिक सीप र क्षमता भए कुनै पनि युवा बिदेसिनु नपर्ने उनको ठहर छ । 
 
आफ्नो सफलताको राज खोल्दै उनी भन्छन्, ‘म निकै व्यस्त रहन्छु । किसानले बोलाएको जुनसुकै समय सेवा दिने भएकाले पनि मेरो व्यस्तता बढेको हो ।’ उनी बिहान ६ बजेदेखि बेलुकी ८ बजेसम्म पशुको औषधि उपचार र परामर्शमा व्यस्त रहने बताउँछन् । 
 
उनी रत्ननगरका विभिन्न वडामा पुगेर पशुको कृतिम गर्भाधान गराउँछन् । मासिक एकसय भन्दा बढी पशुको गर्भाधान गराउँदै आएको उनी बताउँछन् । पशुपक्षीको उपचारका लागि उनी रत्ननगर ७ स्थित सेन्ट्रल नेपाल गोट फार्म र रत्ननगर ११ जिरौनामा रहेको प्राणनाथ डेरीमा स्थायी प्राविधिकका रुपमा अनुबन्धित भएका छन् । 
 
अन्य फार्महरुमा सम्पर्कका आधारमा सेवा दिँदै आएको उनी सुनाउँछन् । प्राविधिक शिक्षाको महत्व पछिल्लो समय झनै बढेर गएको उनको बुझाइ छ । भन्छन्, ‘नेपालमा डिग्री पास गरेका जनशक्ति जागिरको खोजीमा भौंतारिने गर्छन्, प्राविधिक भएकै कारण हामीलाई घरघरमा काम दिन आउँछन् ।’
 
जुनसुकै प्राविधिक सीप भएका मानिस बेरोजगार बन्नु नपर्ने उनी बताउँछन् । उनी भरतपुर १० हाकिमचोकस्थित कान्तिपुर बहुप्राविधिक शिक्षालयका प्रशिक्षकसमेत हुन् । उनले दैनिक तीनघण्टा प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिन्छन् । 
 
युवा रोजगारका लागि खाडी राष्ट्र जानुभन्दा १८ महिनेदेखि तीन वर्षे प्राविधिक विषय लिएर अध्ययन गर्न सके सबैले रोजगार पाउन सक्ने उनी बताउँछन् । प्राविधिक विषय पढ्दा खाली हात बस्न नपर्ने र दीर्घकालीन रुपमा कमाइ गर्न सकिने भएकाले विद्यार्थीलाई विद्यालय तहदेखि नै प्राविधिक शिक्षा प्रदान गर्नुपर्ने उनी बताउँछन् ।