मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ठेकेदारलाई ठेगान लगाएपछि साइबर अपराध नियन्त्रण : गृहमन्त्री

ठेकेदारलाई ठेगान लगाएपछि साइबर अपराध नियन्त्रण : गृहमन्त्री


चितवन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले काम नगर्ने ठेकेदारलाई कानुनी दायरामा ल्याएपछि साइबर अपराध नियन्त्रणतर्फ ध्यानकेन्द्रित गर्ने बताएका छन् । 
 
चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले तेस्रो नम्बरमा साइबर अपराध नियन्त्रण प्राथमिकतामा रहेको बताए । 
 
‘गृह मन्त्रालयको पहिलो मिसनका रुपमा सिन्डिकेट अन्त्य भइसकेको छ’, उनले भने, ‘दोस्रो मिसन काम नगर्ने भ्रष्ट ठेकेदारलाई कानुनको दायरामा ल्याउने काम भएको छ, अब साइबर अपराधीलाई भटाभट कारबाही सुरू हुन्छ ।’ 
 
साइबर अपराधका कारण समाज छियाछिया परेको भन्दै उनले तेस्रो मिसनका रुपमा साइबर अपराध अन्त्य गर्ने बताए । 
 
प्रविधिको दुरूपयोग गरी अपराध गर्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको भन्दै गृहमन्त्री बादलले यसलाई रोक्न गृह मन्त्रालय कडाइका साथ लागिपर्ने बताए । 
 
गृहमन्त्री थापाले ठेकेदारहरु देशविरोधी भएको बताए । ‘सडक निर्माणमा ठेकेदारहरुले व्यापक भ्रष्टाचार गरेको पाइएको छ’, उनले भने, ‘यी ठेकेदारहरु मुलुक ध्वस्त बनाउने समूहका नाइके हुन् ।’ 
 
सरकारले ठूला आयोजना निर्माणका लागि विनियोजन गरेको बजेटमध्ये ठेकेदारले ५० प्रतिशत भ्रष्टाचार गर्ने गरेको बताए । उनले तस्करी, भ्रष्टाचारी र दलालीलाई कारबाही गरेरै छाड्ने चेतावनी दिए । गृहमन्त्री बादलले अबको पत्रकारिता विकास समृद्धिका लागि हुनुपर्ने बताए ।