मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

यी हुन् सुन तस्करीका नाइकेहरु

यी हुन् सुन तस्करीका नाइकेहरु


नेपालमा हुने संगठित  सुन तस्करीमा भुजुङ गुरुङ, मोहनकुमार (एमके) अग्रवाल र छिरिङ वांगेल घलेको मुख्य संलग्नता रहेको पाइएको छ।
 
३३ किलो सुुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिले गुरुङ, अग्रवाल र घलेलाई नेपालमा तस्करी गर्ने प्रमुख व्यक्तिका रूपमा किटान गरेको हो । समिति स्रोतका अनुसार गुरुङ, अग्रवाल र घले तस्करीको सुनमा लगानी गर्ने प्रमुख व्यक्तिसमेत हुन् ।
 
उनीहरुकै योजनामा नेपाल आएको सुन यहाँबाट रोशन अग्रवाल तथा सलमान भनिने भारतीय सुन व्यापारी र उनका सहयोगीले भारततर्फ लैजाने गरेका छन् । दुबईमा सलिम भनिने पाकिस्तानी र हरि भनिने हरिशरण खड्काले बिक्री गरेको सुनमा गुरुङ, अग्रवाल, घले र अन्य दुई भारतीय व्यापारीको संयुक्त लगानी रहने गरेको समितिको दाबी छ । खड्का ३३ किलो सुन प्रकरणका मुख्य अभियुक्त हुन् ।
 
समितिका अनुसार गुरुङ २०४० सालदेखि नै सुन तस्करीका संलग्न थिए भने एमके र घले २०६९ पछि तस्करीमा सक्रिय भएका हुन् । एमके २०७० साल असार २६ गते कोटेश्वरमा बरामद भएको ३५ किलो सुनको प्रमुख लगानीकर्ता थिए ।
 
खासाबाट ल्याइएको त्यो सुनका अर्का लगानीकर्ता आकाश बज्राचार्यसँगै एमकेलाई २०७३ चैत १६ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश ऋषिकेश वाग्लेको एकल इजलासले सफाइ दिएको थियो । सफाइ पाएपछि एमके फेरि सुन तस्करीमै फर्केको समिति स्रोतको दाबी छ । समितिका अनुसार दुबईबाट नेपाल ल्याइने सुनमा अमूल भनिने एक भारतीय नागरिकको लगानी छ ।
 
गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलेको संयोजकत्वमा रहेको समिति स्रोतका अनुसार एमके लामो समयदेखि निरन्तर रुपमा सुन तस्करीमा संलग्न छन् । २०६९ पछि उनको समूहमा गोरे भनिने चूडामणि उप्रेती, पवन अग्रवाल, सुनिल अग्रवाल र डा। डेबिट भनिने छिरिङ वांगेल घले संलग्न भए । समिति स्रोतका अनुसार तीमध्ये गोरे, घले र एमके अहिलेसम्म सोही समूहमा छन् । एमके उक्त समूहका नाइके हुन् । उनलाई सलमान भनिने पाकिस्तानी र नाम नखुलेका दुई भारतीयले सहयोग गर्दै आएका छन् ।
 
स्रोतका अनुसार दुबईबाट नेपालमा र नेपालबाट भारततर्फ तस्करी हुने सुनमा कृष्णगोपाल अग्रवाल, सुनिलकुमार अग्रवाल, चाचाजी भनिने महावीरप्रसाद गोल्यानको पनि लगानी रहने गरेको छ । चाचाजीचाहिँ भारतीय व्यापारीलाई सुन लगिदिने भरिया हुन् ।
 
समिति स्रोतका अनुसार गुरुङले गोपालकुमार श्रेष्ठ र वसन्तप्रसाद बिजुक्छेको संयुक्त लगानीमा हङकङबाट सुन किनेर बैंकक हुँदै थाई एयरलाइन्सार्फत नेपालमा ल्याउँथे । उनले त्यसरी ल्याएको सुन काठमाडौंका सुनपसलमा बिक्री गर्थे । उनले सुन खरिदका लागि नेपाली रकम संकलन गरी सो रकम हङकङ बसोबास गर्दै आएका नेपालीको नेपालमा रहेका आफन्तलाई बुझाउने गरेको स्रोतको दाबी छ ।
 
समिति स्रोतका अनुसार गुरुङले नै एमके, पवन अग्रवाललगायतलाई हङकङबाट ल्याएको सुन दिँदै आएका थिए । २०६९ सालपछि भने गोरे, घले, एमकेको छुट्टै समूह बनेको थियो । सो समूहमा गोपालकुमार श्रेष्ठ, पवन अग्रवाल, दरबारमार्गस्थित आरके डायमन्डका मालिक राजेन्द्र शाक्य पनि आबद्ध भए ।
 
सुन तस्करीका लागि एमके अग्रवालले नेपाली रकमको व्यवस्था गर्ने, सो रकम बैंकक र दुबईमा रहेका नेपालीको नेपालमा रहेका आफन्तलाई दिई सोधभर्ना बैंकक र दुबईमा पठाइदिने गरेका थिए । उनले कहिलेकाहीं आफैंले लगानी गरी बैंकक र दुबईबाट सुन किनेर थाई एयरलाइन्समार्फत त्रिभुवन विमानस्थलमा ल्याएपछि एयरलाइन्सका कर्मचारीहरु गोपालकुमार श्रेष्ठ, दोराम खत्री, वीरेन्द्रमान श्रेष्ठलगायतको सहयोगमा तस्करी गर्ने गरेका थिए ।
 
समिति स्रोतका अनुसार विगत ३५ वर्षदेखि सुन तस्करीमै काम गरेका गुरुङले तस्करीको सञ्जालमा एमके अग्रवाल र घलेलाई जोडेका थिए । भारतीय व्यापारीसँग समन्वय गर्ने भएकाले एमकेलाई गुरुङले आफ्नो समूहमा राखे पनि पछि एमके आफैं सुन तस्करीको प्रमुख लगानीकर्ता भएका थिए ।
 
समितिका अनुसार  डिल्लीबजारस्थित सिल्भर सिटीमा बस्दै आएका एमके हाल फरार छन् । सुनसरी धरान उपमहानगरपालिका–३ स्थायी घर भएका एमके ३३ किलो सुन लुटिएसँगै फरार भएका हुन् । आफ्नो लगानीको सुन हराएपछि उनले गोरेलाई कुटपिटसमेत गरेका थिए ।
 
स्रोतका अनुसार एमके यतिबेला भारतमा छन् । एमके बस्दै आएको उक्त घरमा करिब तीन महिनादेखि ताला लागेको छ । तस्करीको सुन लुटपाट प्रकरणमा सनम शाक्यको हत्यापछि प्रहरीले निगरानी बढाएको सूचना पाएसँगै एमके फरार भएका हुन् । समितिले उनीविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको छ । -एजेन्सीबाट