मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

सुन तस्करीका अभियुक्त वरिष्ठ प्रहरी उपरीक्षक खत्री अदालतमा हाजिर

सुन तस्करीका अभियुक्त वरिष्ठ प्रहरी उपरीक्षक खत्री अदालतमा हाजिर


विराटनगर । सुन तस्करीका फरार अभियुक्त वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्री बिहीबार जिल्ला अदालत मोरङमा हाजिर भएका छन् । उनी जिल्ला अदालत मोरङमा उपस्थित भएको मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले  जानकारी गराए ।
 
सुन तस्करी, हत्या र सांगठनिक अपराधलगायतका विषयमा जिल्ला प्रहरी कार्यालय, मोरङद्वारा ६३ जनामाथि मुद्दा दर्ता गरिएमा उनी फरारको सूचीमा थिए । सो घटनामा अब फरार अभियुक्तको संख्या ३१ रहेको छ ।
 
खत्री आफैं अदालतमा उपस्थित हुनुअघि मंगलबार सरकारी अनुसन्धान समितिको टोलीले काठमाडौंको एक स्थानमा खत्री भएको आशंकामा छापा हानेको थियो । तर उनी फेला परेनन् । समितिका एक सदस्यका अनुसार खत्री काठमाडौंमै लुकेर बसेका थिए । 
 
खत्रीको बयान बिहीबारबाटै सुरु भएको छ । खत्रीको बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । खत्रीले थुनछेक बहसका लागि अधिवक्ता हेमराज पन्तलाई राखेका छन् ।
 
सुन तस्करीको रहस्य खुल्ला त ?
 
मुख्य अभियुक्त भनिएका गोरेले तस्करी सुनको सेटिङको सबै दोष एसएसपी खत्रीको टाउकोमा खन्याएका थिए । अब खत्री आफैं अदालतमा उपस्थित भएका छन् । यस्तो अवस्थामा खत्रीको बयानलाई अर्थपूर्ण रुपमा हेरिएको छ । खत्रीले गोरेले लगाएका अभियोगलाई स्वीकार गर्लान् या नयाँ तथ्य ल्याउलान्, त्यो पनि चासोको विषय बनेको छ । 
 
गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले गोरेको समूहले विभिन्न समयमा गरी ३८ क्वीन्टल सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । साढे ३३ किलो सुन गायब र सनम शाक्य हत्या प्रकरणमा अभियुक्तमध्ये चर्चित नाम हो- एसएसपी श्यामबहादुर खत्री । यो प्रकरणमा आफ्नो नाम जोडिएपछि उनी फरार थिए । खत्री यसपटकमात्रै सुन तस्करीमा जोडिएका भने होइनन् । 
 
खत्री यसअघि २०७३ पुस २१ गते केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बरामद गरेको सुन काण्डमा पनि पक्राउ परेका थिए । पछि उनको निलम्बन फुकुवा भएको थियो । 
 
त्यतिबेला पनि नेपाल आएको साढे ३३ किलो सुन गोरेकै भएको अनुसन्धानबाट खुलेको भए पनि उनको वास्तविक नाम र ठेगाना पत्ता लगाउन नसक्दा उनलाई फरार अभियुक्त तोकिएको थिएन ।
 
प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी शैलेश थापाका अनुसार पछिल्लो पटक एसएसपी खत्रीले गत चैत १३ गतेदेखि वैशाख ११ गतेसम्मको बिदा लिएका थिए । खत्री वैशाख १२ गते हाजिर हुनुपर्ने हो । तर, बिदा लिएयता एसएसपी खत्री सम्पर्कविहीन भएका थिए । उनी गायब भएपछि उनको खोजी व्यापक बनाइएको थियो । खत्रीको खोजीका लागि प्रहरीको विशेष व्युरो र सीआर्इबीको टोली नै खटाइएको थियो ।