विचार / ब्लग

पिकनिक थलोमा पस्न दुई माइलसम्म गाडीका लाइन

780 पटक पढिएको

– विकास राज न्यौपाने

हिमालयखबर | 30th May 2018, Wednesday | २०७५ जेष्ठ १६, बुधवार १४:४६
‘मेरी बास्सै’ टेलिसिरियलमा सीताराम कट्टेल उर्फ धुर्मुसले एउटा मज्जाको थेगो प्रयोग गर्थे । ‘तपाई त, तपाईजस्तो मान्छे अहिलेसम्म देख्या पनि थिइन, देख्नु पनि नपरोस्,’ थेगो यही थियो । हुनत धुर्मुसले टेलिसिरियलबाट बिदा लिएर अहिले अर्कै क्षेत्रमा व्यस्त छन् । हाँस्य कलाकार मनोज गजुरेलको शव्द सापटी लिनुपर्दा धुर्मुस अहिले ‘विकासे कलाकार’ भएका छन् । तीन वर्षयता सरकारले नगरेको काम गर्दै समाजमा छुट्टै पहिचान बनाउन तल्लिन छन् ।
 
धुर्मुसका बारेमा कुनैबेला छुट्टै सन्दर्भमा छुट्टै लेख्नेछु । तर यतिखेर चर्चा गर्न लागेको विषय भने अलिक फरक छ । 
 
अमेरिका आएपछि अधिकांश नेपालीले निजी जीवनमा त्यति ध्यान दिँदैनन् । बिहानदेखि रातिसम्म काममै जोतिनुपर्ने वाध्यताले गर्दा समय निकाल्न पनि साह«ै कठिन हुन्छ । आफ्नो समय निकाल्यो बच्चाहरुको मिल्दैन । अनि पतिको समय मिल्दा पत्नीको मिल्दैन । पत्नीको मिल्दा पतिको मिल्दैन । 
 
‘यसपटकको ‘मेमोरियल डे’ चाहि अलि विशेष रुपमा मनाउनुपर्छ है’ रामचन्द्र भट्ट दाईले ले दुई साता अघिनै प्रस्ताव गर्नुभएको थियो । किनकी मेमोरियल डेमा लगातार तीन दिनसम्म सार्जजनिक छुट्टी हुन्छ । मे महिनाको अन्तिम सोमबार मेमोरियल डे पर्ने भएकोले शनिबारदेखि सोमबारसम्म छुट्टीनै हुनेभयो । ग्याँस स्टेसन, निजी स्टोरहरुमा काम गर्नेभन्दा बाहेक अरु सबै ठाउँमा यो दिन छुट्टी हुन्छ ।
सुरुमा नेपालमा पत्रकारितामा संलग्न भएर यता आउनुभएका र यही आएर सञ्चारमाध्यमसँग संबन्धित सबै साथीहरुलाई बोलाउने छलफल भयो । नेपालमा पत्रकार महासंघको केन्द्रिय सदस्य भैसक्नुभएका सञ्जय घिमिरे, शैलेश आचार्य, तारा बराल, बिटु केसी, नारायण सापकोटा, भगवान खड्का लगायत सबैसँग कुराकानी भयो । 
 
भनाई छ नि–भ्यागुता खोजेर धार्नी पु¥याउन थालियो भने त्यो संभव हुँदैन । त्यही भएर पत्रकारिता गर्ने सबै साथीहरु मध्यबाट छानेर हिमालयखबरसँग संबन्धितलाईमात्र यसपटक सहभागी गराउने कुरा भयो । सबैलाई समेट्नेगरि पछि वृहद कार्यक्रम गर्नेगरि यसपटक हिमालयखबरसँग संबन्धित र शुभेच्छुक साथीहरुलाई खबर गरियो । 
 
नेपालबाट मेरा बुबा–आमा पनि आउनुभएको कारणले गर्दा छोटो दुरीकै कुनै ठाउँमा दिनभरि बसेर रमाइलो गर्ने, खाना खाने ठाउँको खोजी हुन थाल्यो । 
 
स्थान खोज्ने जिम्मा सञ्जय दाई र मेरो भागमा प¥यो । एक बिहान हातमा ब्रोस्योर, नक्सा बोकेर म सञ्जयदाई  रामचन्द्र दाईको अपार्टमेन्टमा पस्यौँ । ‘ल, पिकनिकको लागि यो जोपुल लेक ठीक लाग्यो । नजिकै पनि छ । बोटिङ गर्न पनि पाइने रहेछ । ठाउँ गज्जबकै रहेछ,’ हामी दुबैले एकै स्वरमा ब्रिफिङ ग¥यौँ । तर बिहान सबेरै गएर ठाउँ नरोक्ने हो भने दिउँसो त पाइला राख्ने ठाउँ समेत नहुने रहेछ ।  
पिकनिकको लागि ठाउँ त तय भयो । खानेकुराको तय गर्नुपर्ने भयो । सहभागी हुनेजति सबै परिवारले एकएक आइटम घरमै बनाएर पटलग गर्ने निधो भयो । आइतबार पिकनिक जानुछ शनिबार साँझसम्म के खानेकुरा लैजाने कुनै अत्तोपत्तो छैन । पिकनिक जाने भनेर निधो भैसकेका साथीहरु पनि बिदा मिलेन भन्दै अन्तिममा सहभागी नहुने भएपछि तनाव थपियो ।
 
बाँकी खानेकुरा कसरी मिलाउने त ? रेष्टुरेन्टमा अर्डर गर्ने सहमति भयो । भोली पिकनिक जानुछ । राति अर्डर गरेर कसरी संभव होला र ? ‘तपाईहरुले भनेपछि म भोली बिहान चाँडैनै कुकलाई बोलाएर बनाइदिन्छु नि । के के टेन्सन यार यहाँ चिन्तामणि भएपछि,’ उही पुरानै शैलीमा फिस्टेल रेष्टुराँका चिन्तामणि बरालले भने । 
 
बिहान ९ बजे जोपुल लेकमा पुग्नुपर्ने थियो ठाउँ रोक्नका लागि । तर निस्कँदानै ९ः३० भैसक्यो । स्टोरमा पसेर कोइला, पानी, आइस किन्न थाल्दा अर्को आधा घण्टा उँडीहाल्यो । 
 
जोपुल लेक ग्राण्डपेरी सिटीमा पर्छ । पार्कमा पस्नुभन्दा आधा माइलबाटै गाडीको लाइन लाग्यो । प्रवेश शुल्क तिर्नका लागि लाइन रहेछ । २० मिनेटमा हामी गेटमा पुगियो । ‘एउटा गाडीको २० डलर’ प्रवेश शुल्क लिन बसेको कर्मचारीले भने । हामीलाई प्रवेश शुल्कको भन्दा पनि गाडीको भीड देखेर पिकनिक गर्ने ठाउँ नपाइएला कि भन्ने चिन्ता बढ्यो । 
‘सेड (टहरो) भएको ठाउँ बाँकी छ ?’ मैले कर्मचारीलाई सोधेँे । कर्मचारीले आश्चर्यचकिन मुद्रामा हेर्दै भन्यो–‘मान्छे, टहरोहरु त एक वर्ष अघि देखिनै आजका लागि बुकिङ भैसकेका छन् । यतिखेर आएर कहाँ पाइन्छ ?’ 
 
‘अनि अरु ठाउँ खाली होला त ?’ हाम्रो जिज्ञासा ।
‘म केही भन्न सक्दिन । अहिलेसम्म यो साइडको पार्कमा मात्र एकहजार गाडी पसिसके,’ उसले भन्यो । 
 
जे भएपनि जानु त प¥यो । हामीले सल्लाह गर्दै गाडी अघि बढायौँ–‘यहाँ ठाउँ पाइएन भने ग्रेपभाइन लेक जिन्दाबादा ।’ तर ग्रेपभाइनमा पनि अन्तिम समयमा आएर कहाँ मिल्थ्यो र ? केही सीप लागेन भने अपार्टमेन्टको स्विमिङपुल छेउमा गर्ने पिकनिक । हाम्रो सल्लाह यस्तै भयो ।
 
हामी जोपुल लेक किनारका तीनवटा ठूला पार्कहरु मध्य लियन क्रिक पार्कमा पस्यौँ । आम्मामा, कुनै ठाउँ खाली छैनन् । ताल छेउ त टेन्ट हालेर सबै बसिसकेका छन् । एक माइल अघि बढेपछि तालबाट अलिकति टाढा रुखैरुख भएको भित्र खाली ठाउँ देखियो । हामी गाडीबाट झ¥यौँ । 
‘अब यही ठाउँ कव्जा गर्नुपर्छ बुझ्नुभो सुभाष भान्जा, रामचन्द्र दाइ,’ मैले भने । दिउँसो घाम चर्किएर साह्रै गर्मी हुन्छ । यहाँ रुखैरुख भएकोले सजिलो पनि हुन्छ भन्ने सोचेर सामान त्यही झारियो । नजिकै स्पेनिसहरुले मासु पोल्दैथिए । हामीले ६/७ वटा गाडी समेत राख्न मिल्नेगरि ठाउँ कव्जा ग¥यौँ ।
 
साढे १० बजे स्पटमा पुगियो हामी । तर साथीहरुको आउने अत्तोपत्तो छैन । त्यही क्रममा ताल छेउ घुम्न थालियो । टेन्ट गाडेर बसेका एकजना गोरे भन्दैथियो–‘यो ठाउँ कव्जा गर्न म राति ४ बजे आइपुगेको ।’ 
 
अमेरिका आइसकेपछि धेरै ठाउँमा पिकनिक गइयो । तर जोपुल ताल छेउको जस्तो भीड कहिँकतै देखेको थिइन । हुनतः अमेरिकामा यस्ता लामो छुट्टीका समयमा पिकनिक स्पटमा भीड त हुन्छ नै । तर जोपुल लेकमा जे देखियो सुरुमै उल्लेखित धुर्मुसले भनेजस्तै–नत देखेको थिएँ, नत देख्नुनै परोस् । 
 
दिउँसो १२ बजेतिर ‘खुइइए...’ गर्दै शैलेश दाई र अमृत कट्टेल आइपुगे । शैलेश दाई थकित मुद्रामा देखिनुभयो । ‘यस्तो पनि हुन्छ ? कहाँकहाँ पुगिएन ? गेटमा पस्ने गाडीको लाइन दुई माइल परसम्म छ,’ दाई कराउँदै हुनुहुन्थ्यो । 
नेभिगेसनले पनि गलत स्थान देखाएछ । उता ९८ डिग्रीको गर्मी, दुई माइल लामो लाइनलाई खप्न नसकेर हामीले सहभागिताका लागि अनुरोध गरेका हरिबोल भण्डारी लगायत एनआरएनको टीमनै फर्किएछन् ।
 
नेपालमा पोखरालाई तालैतालको शहरका रुपमा लिइन्छ । तर अमेरिकामा हरेक सिटीपिच्छे ठूला तालहरु अनगिन्ती छन् । तिनको संरक्षण गरेको देख्दा मनै आनन्दित हुने । 
 
ग्राण्डपेरी सिटीले संरक्षण गरेर राखेको जोपुल लेकमा आइतबार कम्तिमा पनि पाँच हजार गाडी प्रवेश गरे । जताततै गाडीनै गाडी । मान्छे सरह गाडीको संख्या । एउटा गाडीको प्रवेश शुल्क २० डलरका दरले एक दिनमै एकलाख डलर सिटीले आम्दानी गरेको छ । भित्र बोटिङ गरेको, प्रति टहरोको एकसय ७५ का दरले हुने आम्दानी अझै धेरै । 
 
केही वर्ष अघि नेपालमा पोखरा गएको थिएँ । भदौ (अगष्ट) को महिना थियो । फेवाताल छेउको होटलमा बसेको थिएँ म । फेवाताल पुरै जलकुम्भी झारले छोपिएको थियो । फेवाताललाई भँजाएर खाने नगरपालिकादेखि लिएर धेरै एनजिओ थिए । तर ताललाई सफा राख्नेतिर कसैको ध्यान थिएन । 
गत वर्ष तत्कालिन सांसद तथा हालका पर्यटन मन्त्री रबिन्द्र अधिकारीले जलकुम्भी हटाउने मेसिन ल्याएको खबर सार्वजनिक भएको थियो । आशा गरौँ नेपालको फेवाताल, बेगनास ताल र रारातालमा पनि जोपुल तालको जस्तै भीड हुनेछ कुनैदिन । तर त्यसको लागि ताललाई नियमित संभार र संरक्षण गर्न भने जरुरी हुन्छ । 
 
जोपुल लेक छेउमा समुद्रको किनार जस्तो बनाएर स्विमिङ गर्न मिल्ने, पिकनिक गर्नका लगि टहरो, ठाउँठाउँमा आराम गर्ने बेन्चहरु, शौचालय, पिउने पानीको व्यबस्था छ । जोपुलमा मात्र होइन अमेरिकाका सबै ताल, पार्कहरुमा यी सुविधाहरु हुन्छन् । त्यही भएर प्रवेश शुल्क तिर्न पनि अप्ठेरो नमानि मानिस आउँछन् । 
 
असाध्यै गर्मी, माछाबजारको जस्तो भीडभाडका बीच पिकनिक असाध्यै रमाइलो भयो । जति साथीहरु सहभागी हुनुभयो आत्मियता बढ्यो, पारिवारिक हार्दिक अझ निकट भयो । जो साथीहरु छुट्नुभयो एउटा अवसर गुमेको महसुुस भयो ।