मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

महिला र बालबालिकाको बेचबिखन रोक्न एकजुट बनौँ : प्रदेश प्रमुख कोइराला

महिला र बालबालिकाको बेचबिखन रोक्न एकजुट बनौँ : प्रदेश प्रमुख कोइराला


चितवन । प्रदेश नं ३ की प्रमुख अनुराधा कोइरालाले नेपालमा अझैसम्म बालबालिका र महिलाहरु बेचबिखनमा पर्ने घटना दुःखद रहेको बताएकी छन् । उनले महिला र बालबालिकाको बेचबिखन रोक्न सबै एकजुट हुनुपर्ने बताइन् । 
 
आदर्श नारी विकास केन्द्र चितवनको रजत महोत्सवका अवसरमा चितवनको नारायणगढमा आयोजित अभिनन्दन, सम्मान तथा रजत महोत्सव समापन समारोहमा उनले बेचबिखनविरुद्ध एकजुट हुन सबैलाई आह्वानसमेत गरिन् । 
 
प्रदेश प्रमुख कोइरालाले भनिन्, “प्रदेश प्रमुखको हैसियत तथा अभियन्ताको हैसियतले हात जोडेर भन्न चाहन्छु- हामी एकजुट हौँ सबै एकजुट भएर हामी लाग्यौँ भने नेपाललाई बालबालिका र महिला बेचबिखनमुक्त गराउन सक्छौँ ।” 
 
कार्यक्रममा उक्त संस्थाले महिला बालबालिकाको बेचबिखनविरुद्ध अभियान चलाएर उत्कृष्ट काम गरेकामा उच्च मूल्यांकन गर्दै कोइरालालाई दोसल्ला ओढाएर कदरपत्रसहित अभिनन्दन गरेको थियो । 
 
प्रमुख अतिथि कोइरालाले २१औं शताब्दीमा पनि बालबालिका र महिलाहरु बेचबिखनमा पर्नु लज्जास्पद रहेको उल्लेख गरिन् । उनले भनिन्, ‘बेचबिखनका घटना अन्त्य गर्न समाजका सबै पक्ष एकजुट हुनुपर्छ ।’ प्रमुख कोइरालाले माइती नेपालमार्फत आफू निरन्तर यस्ता घटनाको न्यूनीकरण अभियानमा क्रियाशील रहेको उल्लेख गरिन् । 
 
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले नारी सशक्तीकरणको क्षेत्रमा आदर्श नारी विकास केन्द्रले खेलेको भूमिका उल्लेखनीय रहेको बताए ।
 
कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले उक्त केन्द्रले सराहनीय काम गरेको भन्दै हिंसा र बेचबिखन रोक्न सबै लाग्नुपर्नेमा जोड दिइन् । 
 
आदर्श नारी विकास केन्द्रकी अध्यक्ष सरिता केसीको अध्यक्षता र महोत्सव संयोजक मीना खरेलको संयोजकत्वमा सम्पन्न कार्यक्रममा समाजलाई योगदान गर्ने चिकित्सक, समाजसेवीलगायतलाई सम्मान गरिएको थियो ।