मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संघीयता डुब्न सक्ने खतरा छ : मुख्यमन्त्री पौडेल

संघीयता डुब्न सक्ने खतरा छ : मुख्यमन्त्री पौडेल


चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय र प्रदेश सरकारले आफ्नो भूमिका देखाउन नसके संघीयता डुब्न सक्ने खतरा रहेको बताएका छन् । 
 
नेपाल राष्ट्रिय वाणिज्य संघ रत्ननगर र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रत्ननगरले सौराहामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री पौडेलले स्थानीय र प्रदेश सरकारले संघीयता संस्थागत गर्न ध्यान नदिए संघीयता डुब्न सक्ने खतरा औंल्याएका हुन् । 
 
प्रदेश सरकार कानुन र जिम्मेवारीका हिसाबले अन्यौलमा परेको भन्दै यस्तो अन्यौलको अवस्था लामो समयसम्म कायम राख्न नहुने बताउँदै उनले भने, “हामीले जनतालाई संघीयताको अनुभति हुने गरी आफ्नो भूमिका देखाउन सक्नुपर्छ ।” 
 
संघीय कानुन समयमै बन्न नसक्दा र नयाँ संरचनामा काम गर्ने मेसो नहुनुले संघीय सरकारले काम गर्न नसकेको उनको गुनासो थियो । 
 
संघीय सरकारको बारेमा केन्द्रीय सरकार जिम्मेवार नभएको भन्दै उनले भने, “प्रदेश सरकारलाई जहाँ पनि तगारो छ । हामीलाई काम गर्ने मेसो नै छैन ।”
 
उनले आगामी आर्थिक वर्षलाई प्रदेश सरकारले लगानीको वातावरण बनाउन उद्योग वर्ष घोषणा गर्ने तयारी गरेको बताएका छन् । एक वर्षभित्र उद्योग दर्ता गरेर काम गर्ने उद्योगलाई पाँच वर्षसम्म कर नलिने नीति प्रदेश सरकारले ल्याउन लागेको उनले बताए ।  
 
भ्रष्टाचारीलाई जेल हाल्नुपर्छ 
 
कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दावादोर्जे लामाले भ्रष्टाचारीहरुलाई जेल हाल्नुपर्ने बताएका छन् । भ्रष्टाचारकै कारण मुलुक समृद्ध हुन नसेको भन्दै उनले भ्रष्टाचारीलाई खोजी–खोजी जेल हाल्नु पर्ने बताए । 
 
उनले राजनीतिक लडाइँको अन्त्य भइसकेकाले अबको लडाइँ विकास र समृद्धिमा केन्द्रित हुनुपर्ने बताए । भ्रष्टाचारका कारण मुलुकले विकासको गति लिन नसकेको भन्दै उनले भ्रष्टाचारको जालोलाई जरैबाट उखालेर फाल्नुपर्नेमा जोड दिए । 
 
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रत्ननगरका अध्यक्ष पुरु खनालको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वनले नगरको समृद्धिका लागि सुशासन र भौतिक पूर्वाधार निर्माणलाई जोड दिइएको बताए ।