मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

गणतन्त्र दिवसमा ढुंगेलसहित ८१६ कैदीको कैद मिनाहा

गणतन्त्र दिवसमा ढुंगेलसहित ८१६ कैदीको कैद मिनाहा


काठमाडौं । ११ औँ गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले ८१६ कैदीको बाँकी कैद मिनाहा गरेकी छन् ।
 
राष्ट्रपति कार्यालयले सोमबार राति जारी गरेको विज्ञप्तिमा ०७५ साल जेठ १४ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मन्त्रिपरिषद्को सिफारिसमा एघारौं गणतन्त्र दिवस, ०७५ को उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका तेम्बा शेर्पासमेत ८१६ जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको छ ।’
 
राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा तत्कालीन माओवादीका नेता बालकृष्ण ढुंगेलको नाम उल्लेख नभए पनि उनको नाम कैद माफी हुने सूचीमा रहेको स्रोतले जनाएको छ ।  
 
द्वन्द्वकालमा उज्जनकुमार श्रेष्ठको हत्या गरेको भन्दै ढुंगेललाई सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । जिल्ला अदालतको फैसलाअनुसार साढे सात वर्ष जेल सजाय भोगेपछि उनी पुनरावेदन अदालतले सफाई दिएर छुटेका थिए र चुनावसमेत लडेका थिए । तर, सर्वोच्चले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको धेरै समयपछि मात्र उनलाई पक्राउ गरेर जेल चलान गरिएको थियो । गत कात्तिक १४ गते पक्राउ परेका उनी ४० प्रतिशत कैद भुक्तान गरेपछि असल चालचलन भएकाको बाँकी कैद माफी हुने प्रवाधान टेकेर सरकारले मुक्त गर्न सिफारिस गरेपछि जेलमुक्त हुन लागेका हुन् । उनी आज मंगलबार जेलमुक्त हुँदै छन् । 
 
उनको कैद सजाय माफी हुन लागेको समाचार सार्वजनिक भएपछि सर्वोच्चमा अर्को मुद्दासमेत परेको छ । सर्वोच्चले सोमबार त्यससम्बन्धी फाइल झिकाउने आदेश दिएकै दिन नै राष्ट्रपतिबाट उनको बाँकी कैद मिनाहा गर्ने निर्णय भएको हो ।