विचार / ब्लग

अपुष्ट खबर नछाप्दैमा यत्रो रँडाको

829 पटक पढिएको

- रामचन्द्र भट्ट

हिमालयखबर | 28th May 2018, Monday | २०७५ जेष्ठ १४, सोमबार २१:४४
राजधानीमा रहेर सँगै पत्रकारिता गरेका पूर्ण (पीबी) पोखरेलले गत साता अलिकति कटाक्ष र अलिकति जिज्ञासा राखे । जस्ताको त्यस्तै उल्लेख गर्नुपर्दा उनको भनाई थियो–‘त्यहाँ पनि पत्रकारिता गर्दो रहेछस् हैन ? डलर त टन्नै कमाउँछस् होला ?’ उनको पहिलो वाक्य जिज्ञासामुलक थियो भने दोस्रो व्यङ्ग्यात्मक । 
 
‘हेर पिबी, अमेरिकामा हामीले गर्ने पत्रकारिता भनेको एक प्रकारको सामुदायिक सेवामात्र हो । मेरो पत्रकारितालाई पनि त्यसैगरि बुझिदेउ,’ मैले जवाफ दिएँ । मेरो जवाफले साथीको जिज्ञासा शान्त भयो या भएन त्यो त प्रष्ट भएन । उनले हाँस्दै भने–‘ए, त्यहाँको पत्रकारिता चाहि समाजसेवाको अङ्ग भएछ ।’
 
यो कहानी लेख्नुको कहाँ र के तादम्यता ? शायद पाठकहरुलाई स्वभाविक रुपमा जिज्ञासा जाग्नेछ । कतिपय सामाजीक सञ्जालमा उठेका कुराहरु प्रति चुपचाप लागेर बस्दा पनि ‘मौनं स्विकृती लक्षणम्’ भनेझै हुने देखियो । कतिपयले कानेखुशी गरेका, एक आपसमा हुँदै समाजका बिभिन्न तहतप्काका व्यक्तिसम्म पुगेका कुराहरु प्रति चुप लागेर बस्नु त्यसप्रति ‘इग्नोर’ गरेको ठहरिने भयो । 
 
म अमेरिका आएको साढे पाँच वर्ष पुग्यो । त्यसअघि मैले १५ वर्ष नेपालमा पत्रकारिता गरेँ । नेपालदेखि लिएर अमेरिका, स्पेन, चीन, दक्षिण अफ्रिका, सिंगापुर, बैंककमा भएका पत्रकारितासँग संबन्धित धेरै तालिमहरुमा सहभागी भएँ । 
 
अमेरिका आएपछि निकै समय म चुपचाप बसेँ । स्पष्ट भाषामा भन्नुपर्दा म अमेरिकामा ‘घण्टा हान्ने’ काममा व्यस्त भएँ । पत्रकारिताप्रति माया र मोह भएपनि अमेरिकामा यसबाट मेरो जीविकोपार्जन हुनसक्दैन भन्ने ठहर भयो । म बिस्तारै मिडिया, मिडियाका साथीहरुबाट टाढिएँ । किनकी मलाई थाहा थियो–‘अमेरिकामा अंग्रेजी मिडियामा प्रवेशका लागि मसँग न्यूनतम योग्यता अंग्रेजी भाषामा पोख्तता छैन । जुन भाषामा पत्रकारिता गर्ने हो त्यही भाषामा दक्षता र पोख्तता नभैकन यो पेशामा टिक्न त परको कुरा हो प्रवेश पनि सहज छैन ।’
 
एक बिहान काठमाडौंबाट किरण भण्डारीले मेसेन्जरमा खबर पठाए । ‘हामी नागरिक र रिपब्लिकामा काम गरेका पूर्ब सहकर्मीहरु मिलेर सेतोपाटी अनलाइन निकाल्दैछौँ । तिमीले अमेरिकाबाट सहयोग गर्नुपर्यो,’ उनको आग्रह थियो । 
 
मैले तत्कालै हुन्छ या हुँदैन भन्न सकिन । मसँग काम गरेका धेरै पूर्ब सहकर्मीहरु किरण भण्डारी, मनोज दाहाल, गिरिश गिरी, पोष्ट बस्नेत आवद्ध थिए सेतोपाटीमा । सबैभन्दा महत्वपूर्ण तथ्य चाहि मेरा पूर्ब सम्पादक नारायण वाग्ले, अमित ढकालले नेतृत्व गरेको ‘सोलिड टीम’ थियो सेतोपाटीमा । 
 
केही सातापछि भण्डारीले फेरि पनि मेसेन्जरमा खबर पठाए । त्यसबेला चिलिमे आयोजनाका बारेमा प्रकाशित एउटा रिपोर्टिङका विषयमा मैले अनलाइनमा कमेन्ट गरेपछि उनले खबर पठाएका थिए । 
 
त्यसपछि मैले सेतोपाटीको लोभलाग्दो टीमलाई इग्नोर गर्न सकिन । मैले कहिले सिलिकन भ्यालीबाट त कहिले ओक्लाहोमाबाट सेतोपाटीका लागि खबर, लेख पठाउन थालेँ । एक हिसाबले भन्नुपर्दा पत्रकारितामा मेरो पुनः प्रवेश भयो । मैले सेतोपाटीका लागि अमेरिकाबाट समाचार, लेख लेख्न थाल्दा अहिले अमेरिकामा सेतोपाटीको हुँ भनेर परिचय दिनेहरू कोही पनि जोडिएका थिएनन् । नत साथीहरूले सेतोपाटी जान्दथेँ, नत त्यहाँ काम गर्ने सम्पादकदेखि लिएर तत्कालिन टिप्पणीकार, पत्रकारलाइ चिन्दथे नै । अमेरिका संस्करण त झण्डै एक वर्षपछि सम्पादक अमित ढकाल वासिङटन डिसी अाउँदा तयार भएको कन्सेप्ट थियो । जसका लागि धेरै चरणमा कुराकानीहरू भएका थिए । 
 
नेपालमा छँदा मेरो पेशा पत्रकारिता थियो । तर अमेरिकामा मेरो पत्रकारिता सोखका लागि भयो । समाजमा चिनिनका लागि भयो । सामाजीक संघसंस्थाहरुले गरेका सामुदायिक गतिविधिलाई बाहिर ल्याइदिने माध्यमका रुपमा हुन थाल्यो । 
 
पत्रकार त नभनिहालौँ । सानोतिनो खबर लेख्ने, लेख लेख्ने लेखकका रुपमा आउनै पर्ने वाध्यता हुनुमा अर्को कारण पनि रह्यो । जमघटहरुमा साथीहरु, आफन्तहरुले मेरो परिचय गराउँदा भन्थे–‘उहाँ नेपालमा पत्रकार हुनुहुन्थ्यो । राम्रो लेखहरु लेख्नुहुन्छ ।’
 
मलाई भित्रभित्र लाग्थ्यो–‘यो कुरा चाँही उहाँहरुले नभनिदिए पनि हुन्थ्यो ।’ कार्यक्रमहरुमा बोलाउन थाले साथीहरुले । कार्यक्रममा बोलाउनुको तात्पर्य समाचार लेखिदिओस्, आफ्नो संस्था र कार्यक्रमको हाइलाइट होस् भन्ने स्वभाविक रुपमा हुन्थ्यो । यसले गर्दा पनि मेरो परिचय पत्रकारका रुपमा हुन थाल्यो । समाचार, लेखमात्र होइन मैले लेख्ने फेसबुकका स्टाटसलाई पनि समाजका सदस्यहरुले समाचार/लेखका रुपमा लिन थाले । ‘तपाईको आजको लेख त गज्जबकै थियो नि,’ भेटघाटमा साथीहरुले भन्छन् । मैले कुनै लेख नलेख्दा पनि कुन लेखको कुरा साथीहरुले गर्छन भनेर बुझ्दा फेसबुकको स्टाटसलाई उनीहरुले लेखका रुपमा बुझ्दा रहेछन् ।
 
बुझेको पत्रकारिताः
२०५९ सालको सन्दर्भ हो । जतिखेर म नेपाल प्रेस इन्स्टिच्युटमा पत्रकारिताको एक वर्षे डिप्लोमा तालिम लिँदैथिएँ । त्यतिखेर म नेपाल समाचारपत्रमा रहेर काठमाडौंमै समाचार लेख्थेँ । 
एसियन एअरको लुक्लाबाट उँडेको हेलिकोप्टर बेपत्ता भएको केही महिना भैसकेको थियो । हराएको हेलिकोप्टरका बारेमा अनेकन हल्लाहरु थिए । कोही भन्थे– हेलिकोप्टर जंगलमा खसेर बेपत्ता भयो । कोही भन्थे, माओवादीले अपहरण गरेर लगे ।
 
भारतको पश्चिम बंगाल राज्य अन्तरगत पर्ने सिलगुडीबाट नेपाली भाषामा एउटा दैनिक पत्रिका निस्कन्थ्यो । ‘सुनचरी’ नामक त्यो पत्रिकामा एसियन एअरको हेलिकोप्टरलाई माओबादीले अपहरण गरेर बिहारमा लगेको र त्यहाँ सशस्त्र तालिम दिनका लागि प्रयोग भैरहेको खबर प्रकाशित भयो । त्यसमा बिहार प्रहरीका एक उच्च अधिकारीको भनाई पनि थियो ।
मैले काठमाडौंमा त्यो पत्रिकाको फोटोकपी मगाएँ । वेपत्ता हेलिकोप्टरका पाइलटकी पत्नीसँग कुराकानी गरेँ । त्यही आधारमा समाचार बनाएँ । भोलीपल्ट नेपाल समाचारपत्रको पहिलो पेजमा एङ्कर समाचार प्रकाशित भयो । त्यसले एकखाले तरङ्ग पैदा गर्यो सरकारमा । 
 
समाचार प्रकाशित भएकै एक सातापछि प्रेस इन्स्टिच्युटको क्लास सकेर निस्कदै थिएँ । प्रशिक्षक हस्त गुरुङले बोलाए । उनको कोठामा गएँ म । ‘के हावादारी समाचार लेखेको ? त्यस्तो सुनचरी जस्तो दुईपैसे पत्रिकाको भरमा यतिठूलो समाचार बनाउने ? हेलिकोप्टर भन्ने कुरा बच्चाको खेलौना हो र लुकाएर लुक्ने ?’ उनले मेरो सातो लिए । 
 
पत्रकारितामा भन्ने गरिन्छ– कुनै पनि समाचार पूर्ण हुन पाँचवटा डब्लु र एउटा एचको जवाफ हुनैपर्छ । पाँचवटा एच (What, Who, Where, When, Why) र एउटा एचमा How पर्छ । जबसम्म समाचारमा यी कुराहरुको जवाफ हुँदैन त्यो समाचार हुँदै होइन । यी जवाफ भैकन पनि पत्रकार आफै पनि कन्भिन्स नभएसम्म समाचार बनाउनुहुँदैन भन्ने सिद्धान्त रही आएको छ ।
 
मैले लेखेको हेलिकोप्टरको समाचारमा यी सबै कुराका जवाफ थिएनन् । आफैँ पनि दुविधामा थिएँ । सम्पादकलाई यो खबर दिने बित्तिकै गज्जबको समाचार भन्दै लेख्न प्रेरित गरेका थिए ।आज पनि कुनै समाचार लेख्नुभन्दा अघि १५ वर्ष अघिको त्यो घटना सम्झिन्छु । जुन समाचार एउटा हावादारी समाचारका रुपमा चित्रित भएको थियो । जसबाट मैले मेरो करिअरमा ठूलो पाठ सिकेको पनि थिएँ ।
 
केही दिनयता ड्यालसको नेपाली समुदाय ‘तरङ्गित’ भएको छ । तरङ्ग आफैँ आउँदैन । शान्त नदी, पोखरीमा कसैले ढुङ्गा हान्यो भने तरङ्ग पैदा हुन्छ । कसैको चलखेल हुनुपर्छ तरङ्ग पैदा हुनका निम्ति । 
 
बलात्कारको इस्यु उठेको छ समाजमा । स्थानीय व्यबसायीहरुले विद्यार्थी भिसामा आएका नानीहरुलाई उनीहरुको वाध्यताको फाइदा उठाउँदै दुर्व्यबहार गरेको, सेक्सुअल ह्यारासमेन्ट गरेको कुरा बाहिर आएको छ । 
 
यी घटनाहरु कति सत्य छन् या सत्य होइनन् भन्ने कुरा या त पीडितलाई जानकारी छ । यात पीडकलाई मात्र छ । चर्चालाईनै आधार मान्ने हो भने नेपाली समाज टेक्ससका पदाधिकारीसम्म पनि यो कुरा उजुरीका रुपमा पुगेको छ । 
 
बलात्कार, सेक्सुअल ह्यारसमेन्टका कुरा अमेरिकी समाजमा असाध्यै संवेदनशील विषयहरु हुन् । यति गंभीर विषय कुनै बेला कोहीसँग रहेको बापबैरी दुस्मनी साँध्ने अवसरका रुपमा प्रयोग पनि हुनुहुँदैन । नत यो विषयमा नेपाली समाज टेक्ससले ‘मिल्ने र मिलाउने’, ‘क्षतिपूर्ति’ का नाममा कानुन हातमा लिन मिल्छ । यदी भएको रहेछ भने पीडित कानुन व्यबसायीको साथ लागेर न्यायालयसम्म पुग्नैपर्छ । अमेरिकी न्यायालयले जे गर्छ पीडकले त्यो सजायँ भोग्नैपर्छ ।
 
पीडितले न्याय पाउनैपर्छ । काम गर्न राखिएको मानिसलाई मालिक होस् या अरु कसैले गलत दृष्टि, आशयले हेर्न मिल्ने कुरै होइन । यदी त्यस्तो कसैले गरेको छ भने कारवाहीको भागीदार उ हुनैपर्छ । तर, नत पीडित सार्वजनिक भएको छ, नत पीडकको नामनै कतै उल्लेख छ । नत घटना विवरणनै कहिँ कतै बाहिर आएको छ ? यस्तो परिस्थितीमा पत्रकारिताको अाधारभूत सिद्धान्त फाइभ डब्लु, वान एचको जवाफ पूर्ण रूपमा नअाउने समाचार/लेख लेख्छ भने पत्रकारिताको परिभाषाभित्र त्यो पर्दैन । कुनै फिल्म निर्मातालाई एउटा स्क्रिप्टका लागि सानो अंश हुनसक्ला । तर त्यसले पत्रकारिताको कुनै पनि विधा (समाचार, फिचर, लेख, व्लग) लाई त्यसले समेट्दैन । मैले माथिनै उल्लेख गरिसकेँ–समाचारका निम्ति पाँचवटा ‘डब्लु’ र एउटा ‘एच’ ले खोजेको जवाफ चाहिन्छ चाहिन्छ । यसमा सम्झौता हुनैसक्दैन । 
 
प्रमाण नभएका, हावादारी समाचार नलेखेका आधारमा अहिले ड्यालसमा केही व्यक्तिहरु हामी विरुद्ध विषवमन गर्दै हिँडेका हामीले देखेका छौँ । सामाजीक सञ्जालहरुमा तिनका कुण्ठाहरु छरपष्ट छन् । 
 
ड्यालसको नेपाली समुदायका केही व्यक्तिहरुले हामीप्रति अस्वाभाविक चासो दर्शाएको देख्दा आश्चर्य चकित छु म । ए बाबा, ल हामीले समाचार/लेख लेखेनौँ रे । तिनलाई के को टाउको दुखाई ? अहिले नेपाली भाषामा हजारौँ अनलाइनहरु छन्। नभए आफ्नै लगानी गरेर तिनले सञ्चालनमा ल्याएपनि भैहाल्यो । 
 
समाचार लेखियो भनेर, गलत कुरा प्रकाशित भयो भनेर चिन्ता र चासो व्यक्त गर्ने धेरै व्यक्ति, समुहहरु मैले भेटेको छु । तर प्रमाण नभएको, पीडित व्यक्ति सार्वजनिक भएर ‘म पीडित हुँ, फलानो व्यक्ति पीडक हो । पीडित सार्वजनिक नभैकन वा प्रहरीले सार्वजनिक नगरेसम्म, या पीडितलेनै मलाई न्याय दिलाइदिनुस्’ नभनिकन दुनियाको कुन आमसञ्चार माध्यमले बलात्कार, ह्यारासमेन्टको समाचार प्रकाशित गर्न मिल्छ ? हामीमाथि त समाचार लेखेन भनेर चासो दिने, गाली गर्नेहरु पो भेटिए । यस्तो संवेदनशील विषयमा धेरै पटक सोचेर लेख्नुपर्छ भन्नु भन्दा पनि लेखेन भनेर गाली गर्नेहरु पनि देखिए । 
 
मलाई नामै किटेर लेख्न पटक्कै इच्छा छैन । हामीले प्रकाशित गरेको विमल बरालको ‘बेबी सावरको अनुभव’ शिर्षकको व्लगमा एकजनाले कमेन्ट गर्नुभयो । म उहाँलाई म बडो विद्वान मान्छु । सामाजीक सञ्जालमा पनि आफूलाई असाध्यै ‘संयमित र भद्र’ रुपमै प्रस्तुत हुनुहुन्छ । उहाँको कमेन्ट देख्दा म चकित भने परिन । उहाँ पनि आफूलाई ‘पत्रकार’ भन्नुहुन्छ । पत्रकार हुँ भन्दै नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सदस्यताका लागि दुई वर्ष अघि आवेदन पनि दिनुभएको थियो । 
 
सारा दुनियाका ठेक्का हिमालय खबरले लिनसक्दैन । अझै म भन्छु–बलात्कार र सेक्सुअल ह्यारसमेन्टका कुरामा हामी अतिनै संवेदनशील छौँ । कसैले कुनै कुनामा लुकेर कसैमाथि आरोप लगाएको भरमा हामी समाचार/लेख लेख्न सक्दैनौँ र लेख्दैनौँ । पीडित व्यक्तिले पत्रकार सम्मेलन आयोजना गरेर, त्यसमा हिमालयखबरलाई आमन्त्रण गरेर, हाम्रो प्रतिनिधिको उपस्थिती त्यो पत्रकार सम्मेलनमा रहेर पनि हामीले समाचार बनाएनौ भने हाम्रो नियतमाथि मज्जाले शंका गर्दा हुन्छ । तर, पीडित को हो भन्ने सम्म पनि नखुलेको घटनामा हामी समाचार लेख्दैनौ । 
 
जो जो मित्रहरूले हामीले समाचार नलेखेको भनेर टिप्पणी गरिरहनुभएको छ । उहाँहरूले अाफ्नो फेसबुक वालमा पीडितको नाम सार्वजनिक नगरेपनि पीडकको नाम र घटना विवरण लेखिदिए समाजलाइ ठूलै कल्याण पुग्नेथियो । 
 
अनि अर्का मित्रको पनि नाम सार्वजनिक गर्दिन म । यहाँको नेपाली समाजले उहाँलाइ कसरी लिन्छ ? कसरी मुल्यांकन गर्छ म त्यसको वास्ता गर्दिन । म चाँही उहाँलाइ विद्वान मान्छु, सम्मान गर्छु । 
 
यति सम्मान गरिएका व्यक्तिले शुक्रबारको लेख्नुभएको फेसबुक स्टाटसमा जाउँ । उहाँले ‘दुई चमत्कारी पत्रकारहरु’ भनेर कस्लाई इंगित गर्न खोज्नुभएको हो ? म फेसबुकका स्टाटस अमूर्त र अर्थ्याउँदै बुझ्न कोशिष गर्नुपर्ने खालको लेख्दिन । अरूबाट पनि त्यस्तै अपेक्षा राख्दछु । उहाँले कस्लाइ इंगित गर्नुभएको हो एकीन छैन । तर हामी कुनै चामत्कारिक पनि होइनौँ, जादूगर पनि होइनैाँ । हामीले कसैलाई हामी ठूला पत्रकार हौँ भनेर भन्दैनैाँ । हामी हाम्रो पहिचान पत्रकारका रूपमा भन्दा सामान्य मानिसका रूपमा दिन रूचाउँछैाँ । मलाई चाहि कसैले पत्रकार नभनिदेओस् भनेर अपेक्षा राख्ने मानिस हुँ । हामीले समाचार/लेख लेखेर चमत्कार हुन्छ भनेर दावी पनि गरेका छैनौँ । 
 
मेरो विनम्र अनुरोध–कृपया मैले वा हिमालयखबरसँग अावध्द कोही कसैले मोलमोलाई गरेको हो भने पनि नाम सहित उल्लेख गरेर लेखिदिनुस् । जसले गरेको हो उसको नामै किटिदिनुस् । त्यसो गर्नुभयो भने तपाईजस्तो समाजसेवी मानिसले समाजलाई अर्को ठूलो सेवा गरेको ठहरिनेछ । तर, तपाईसँग त्यस्ता चमत्कारीको नाम छैन भने चाँही हावामा गोली नछाड्नुहोला । कुनै बेला कुन फोरममा कस्ले असहयोग गरेको बदलामा लेख्नु भएको हो भने त्यसले हामीजस्ता कसैको कुनै पनि आश र त्राश नभएकालाई केही असर पर्नेवाला छैन । 
 
हाम्रो व्यबसायीकताः
एकजना व्यबसायीले तीन महिना अघि यो टिप्पणीकारसँग भने–‘खै अमेरिकाका अन्त राज्यका पत्रकारहरुले विज्ञापन माग्छन् । अलिअलि सकेको सहयोग पनि गरिरहेको छु । तपाईहरु त माग्दा पनि माग्नुहुन्न ?’
 
उनको आशय हामीले विज्ञापन मागिदेओस् र सकेको सहयोग गर्न पाइयोस् भन्ने थियो । हामीले ‘हुन्छ, हामी आउँछौँ नि विज्ञापन लिन’ भन्दै कुरालाई अन्तै मोड्यौँ । अहिलेसम्म उनीकहाँ हामी विज्ञापनका लागि भनेर गएका छैनौ ।
 
नाम उल्लेख नगरौँ । अमेरिकाको एउटा नेपाली संस्थाका प्रमुखसँग टेम्पटेसन रेष्टुराँमा भेट भयो । उनले धेरै पहिलेदेखि भेट्न खोजिरहेको भन्दै गोप्य कुराकानी गर्न भन्दै बाहिर लिएर गए हामीलाई । 
 
गाडीबाट एउटा खाम निकाल्दै लामो समयदेखि त्यो हिमालय खबरका लागि भनेर राखेको र अहिले लिइदिन अनुरोध गरे । हामीले सिधै अस्विकार गर्याै । दिन खोज्ने व्यक्तिले निकै असजिलो माने । हामीले सरी भन्दै अरुनै कुराकानी गरेर स्थितीलाई सहज बनायौँ । 
 
हामीसँग यस्ता धेरै उदाहरणहरु छन् । जसले हाम्रो डिग्निटीलाई गल्न दिएका छैनौँ । हिमालयखबर टीममा पत्रकारिताको सिद्धान्त, मर्म नबुझेका कोही छैनन् । नेपाल टेलिभिजनको महाप्रबन्धक, गोरखापत्रको प्रधान सम्पादक भैसक्नुभएका तारा बराल हामीसँगै हुनुहुन्छ । २०४६ साल अघिनै मिसन पत्रकारितामा लागेर जेलनेल भोग्नुभएका शैलेश राज आचार्य हामीसँगै एकाकार हुनुहुन्छ । नेपाली आर्थिक पत्रकारिताको खम्बा विजय घिमिरे हाम्रो प्रधान सम्पादक हुनुहुन्छ । विमल बरालदेखि बिटु केसीसम्म, डोल्मा लामादेखि नातीबाबु भट्टसम्म सबैले नेपालमै पत्रकारितामा पहिचान बनाउनुभएको थियो । हाम्रो टीममा जे जति साथीहरु छौँ ती सबै पत्रकारितामा एउटा पहिचान बनाएका छौँ । 
 
हामी अमेरिकामा बाँच्नका कोही व्यबसायमा संलग्न छौँ । पत्रकारितालाई कमाई खाने भाँडोका रुपमा अघि सारेर बाँचेका हामीमध्य कोही पनि छैनौँ । पत्रकारितालाइ अमेरिकामा जीवन धान्ने पेशा बनाएर त्यसैबाट निर्वाह गर्ने हामीमध्य कोही पनि छैनैाँ ।
 
कोही ‘घण्टा हानेर’ भएपनि इज्जतपूर्ण रुपमा जीवन बिताइरहेका छौँ । कसैलाई रुवाएर, धम्क्याएर, हरेक संघसंस्थाका चुनावमा ‘मसँग यति भोट छ । यति दिए जिताइदिन्छु’ भन्ने हैसियत हामीसँग छैन र त्यो गर्ने सोचले पत्रकारितामा लागेका हामीमध्य कोही छैनौ । 
 
‘मोलमोलाईमा लाग्ने’ आदत भएको भए शायद रामचन्द्र भट्टले यतिखेर काठमाडौं डेटलाइनमा समाचार र लेखहरु लेखिरहेको हुने थियो । मोलमोलाई गर्ने स्वभाव भएको भए रामचन्द्र भट्टको काठमाडौंमा एउटा बङ्गला हुन्थ्यो, गाडी हुन्थ्यो । त्यही स्वभाव नभएकै कारणले यतिखेर ड्यालसमा छ । 
 
अन्त्यमा, मेरो विनम्र अनुरोध–संवेदनशील विषयमा लेख्नुपर्दा हामी असाध्यै सचेत र संवेदनशीलनै हुन्छौँ । किनकी हाम्रो सानो कमजोरीले कसैले वर्षौ लगाएर आर्जन गरेको पहिचान र ख्याति क्षणभरमै धुलिसात हुनु हुँदैन । भनाई छ नि–मुखबाट निस्केको थुक, बन्दुकको नालबाट निस्केको गोली र आमसञ्चारको माध्यममा लेखिएका कुराहरु फिर्ता हुँदैनन् । फिर्ता नहुने भएपछि शव्दको चयनमा पहि त्यही अनुसारको ख्याल राख्न सकिएन भने पेशागत मर्यादा पनि रहँदैन ।