मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

“सुन तस्करीमा उच्च प्रहरी अधिकारी र दलका ठूला नेताको मिलेमतो”

“सुन तस्करीमा उच्च प्रहरी अधिकारी र दलका ठूला नेताको मिलेमतो”


काठमाडौँ । साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका चूडामणि उप्रेती उर्फ गोरेलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । जिल्ला अदालत मोरङमा उनको बयान सकिएपछि उनलाई आइतबार नै पुर्पक्षका लागि जेल चलान गरिएको हो ।
 
उनले अदालतमा दिएको बयानमा सुन तस्करीमा आफू तल्लो तहको मान्छे भएको बताएका छन् । उनले बयानमा भनेका छन्, “सुन तस्करी गर्ने कार्य प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ठूला मानिसको मिलेमतोमा हुने गर्छ । को को संलग्न छन् यकिनका साथ भन्न सक्दिन । तस्करीबाट आउने सुन सबै इण्डिया जान्छ ।”
 
“म सुन तस्करीमा सहयोग गर्ने तल्लो तहको मानिस भएकाले लेखिएबमोजिमको विगो कायम हुने होइन,” उनले बयानमा भनेका छन्, “मभन्दा माथिल्लो लेभलका सुन तस्करीका नाइके, प्रहरीका उच्च अधिकारी तथा राजनीतिक दलका ठूला नेता पक्राउ परेका बखत नै सुन तस्करीको असली कुरा पर्दाफास हुनेछ । मृतक सनम शाक्यलाई कसैले अपहरण गरेको छैन । निजलाई मैले करेन्ट लगाएको छैन ।”
 
कमाएको पैसा सबै सकियो  
 
सुन तस्करीका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती गोरेले अहिले आफूसँग कुनै पनि सम्पत्ति नभएको बयान दिएका छन् ।
 
“मेरो घरमा ९ जनाको परिवार छ । मेरो आफ्नो धनसम्पत्ति केही छैन । बुबाको नाममा पूर्वतिर जग्गा जमिन छ । उर्लाबारीमा र काठमाडौंमा घर छ । मैले कमाएको रुपैयाँ सबै खाई मासिसकेको छु,” अदालतको बयानमा गोरेले भनेका छन् । 
 
उनकै नेतृत्वमा सन् २०१५ देखि अहिलेसम्म करिब ५२१ पटक गरी ३८ क्विन्टल सुन आयात भएको प्रहरी दाबी छ ।
 
उनीविरुद्ध १७ अर्ब बढी विगो दाबी गर्दै मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । उनको सुनुवाइ गर्दै पुर्पक्षका लागि जेल चलान गरिएको छ ।
 
गोरेले विमानस्थलबाट सुन बाहिर निकालेवापत एसएसपी श्याम खत्रीले किलोको ५० हजार लिने गरेको खुलासा गरेका छन् ।
 
सुन सीधै एसएसपी खत्रीको कोठामा जान्थ्यो 
 
अदालतमा दिएको बयानमा उनले भनेका छन्, “सुन सिधै तत्कालिन एसएसपी श्याम खत्रीको कोठामा जान्थ्यो । निजले अनुकूल समयमा सुन बाहिर निकाली हाम्रा भरियालाई दिन्थे । यो लाइन त्यति भरपर्दो नभएकाले धेरै दिन टिकेन । एसएसपी श्याम खत्रीको सरुवासँगै यो लाइनबाट सुन आएन ।
 
उनले निजको ड्राइभर र अंगरक्षकको प्रयोग गरी निजले चढ्ने गाडीमा सुन ल्याउँथे । अन्य प्रहरीले सुन ओसारेको मलाइ थाहा छैन । निज श्याम खत्रीले सुन बाहिर निकालेवापत प्रतिकिलो पचास हजार आफैँले बुझ्ने गर्दथे । यो लाइनबाट ४ सय किलोदेखि ५ सय किलोसम्म सुन आएको छ ।”
 
एयरपोर्ट बाहिरका प्रहरी अधिकृतलाई पनि रकम दिइन्थ्यो 
 
गोरेले अदालतमा दिएको बयानमा विमानस्थलभन्दा बाहिरका प्रहरीलाई पनि रकम दिने गरेको बताएका छन् ।
 
अदालतमा दिएको बयानमा उनले भनेका छन्– एयरपोर्टमा आउने सुन बाहिर ल्याउने एयरपोर्ट भित्रका प्रहरी एयरपोर्ट बाहिरका प्रहरी सबैको सहयोग चाहिन्छ । मेरा काका पर्ने डीआईजी गोविन्द निरौला एयरपोर्टको चिफ भएर गएपछि मैले लाइन मिलाइदिनुपर्यो भन्दा मलाई उल्टै गाली गरि धन्दा छाड्न भने ।
 
सो पछि छिरिङले एयरपोर्ट बाहिरको डीआईजीमार्फत भित्रका एसएसपी श्याम खत्रीसँग लाइन मिलाए । निज खत्रीले नै सुन बाहिर निकाल्थे र रकम बुझ्ने गर्थे । रकम वितरणको सम्पूर्ण फेहरिस्त मृतक सनम शाक्यले राख्थे । 
 
रजिष्टरमा उल्लेखित डीआइजी, एसपी, डीएसपी, पुलिस, ड्राइभर को को हुन् एकिन भन्न सक्दिन । एयरपोर्ट बाहिरका प्रहरी अधिकृतलाई पनि रकम दिइन्थ्यो । एसएसपी श्याम खत्रीले रकम बुझेर लाने गरेको मलाई थाहा छ । 
 
अन्य कुरा थाहा छैन । प्रहरीको माथिल्लो दर्जामा प्रतिवादी छिरिङले लाइन मिलाउने भएकाले धेरै कुरा निजलाई थाहा छ । रजिष्टरमा लेखिएको अक्षरहरु मृतक सनम शाक्यले लेखेको हो । सुन कारोबारको यकिन विवरण राख्न रजिष्टर खडा गरिएको हो ।”
 
उनले सुन प्रकरणको सबै हिसाब सनम शाक्यले नै राख्ने गरेको बयान दिएका  छन् । “म सुनको कारोबार गर्न बाहरि बाहिर हिँड्ने भएकाले हिसाव किताब राख्ने जिम्मा सनमले नै पाएका थिए,” उनले बयानमा भनेका छन्, “हाम्रो कुनै संगठित अपराध छैन । नामसमेत छैन । साथीभाइ  मिलेर लाइनको कामसम्म गरेको हो । कोही कसैको कुनै  पोष्ट छैन ।” -एजेन्सीहरुको सहयोगमा