मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

टिपरले स्कुटरलाई ठक्कर दिँदा आमा छोरासहित तीनको ज्यान गयो

टिपरले स्कुटरलाई ठक्कर दिँदा आमा छोरासहित तीनको ज्यान गयो


भक्तपुर । “नरुनुस् न आमा, नरुनुस् न दादा ।” स्कुल पोशाकमै रहेकी बालिकाले भक्तपुर अस्पतालको चौरमा आफू रुँदै आफ्ना आफन्तको आँसु पुछिदिँदै गरेको देख्दा अस्पताल परिसरमा झुम्मिएकाको आँखा रसाएका थिए । 
 
दुर्घटनामा आमा र भाइ गुमाएकी लोकन्थलीकै ओम ज्ञान मन्दिरमा कक्षा १० मा पढ्ने १५ वर्षकी अनुजा घिमिरे स्कुलबाटै अस्पताल आएर रुँदै अरुलाई नरुन आग्रह गरेको देख्दा त्यहाँ नरुने कोही थिएन । 
 
काभ्रेको साँगाबाट तीव्र गतिमा आएको बा३ख ६६७४ नंको टिपरले अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–९ पलासेमा बा५६प १२२७ नं को स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीन जनाको घटनास्थलमै ज्यान गएको हो । 
 
घटनामा मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली बस्ने ५० वर्षीय स्कुटर चालक हरिबहादुर कटुवाल, दोलखा मेलुङ गाउँपालिका– ६ घर भई विगत १६ वर्षदेखि लोकन्थलीमा पसल सञ्चालन गरेर बस्दै आएकी ३६ वर्षीया सविता घिमिरे र उनको छोरा १३ वर्षीय अरविन घिमिरेको मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । 
 
शवलाई भक्तपुर अस्पतालमा पठाइएको, ठक्कर दिने टिपरलाई प्रहरी वृत्त जगातीमा राखिएको र फरार रहेका चालकको खोजी भइरहेको उहाँले जानकारी दिए । 
 
साँगामा रहेको नेपाल प्रहरी आवासीय माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने छोरा बिरामी भएको खबर आएपछि छिमेकी हरिबहादुरलाई लिएर स्कुल पुगेर छोरालाई उपचारका लागि लैजाँदै गर्दा टिपरले ठक्कर दिएको थियो । छोराको उपचार नै गर्न नपाई आमा छोराको एकैपटक ज्यान गयो । 
 
लोकन्थलीमै घर बनाउने सपना बोकेर दुई महिनाअघि मलेशिया गएका श्रीमान् केशव घिमिरेले एकैसाथ श्रीमती र छोरा मात्रै गुमाएनन्, आजै साँझ ५ बजे अमेरिका जान लागेका सविताको भाइ कुमार काफ्लेको यात्रासमेत यही शोकले रोकिएको मध्यपुरथिमि नगरपालिका वडा नं १ का वडा अध्यक्ष सुरज खड्काले बताए । 
 
हरिबहादुरको अवस्था पनि उस्तै छ । जेठी छोरी, एक छोरा र श्रीमती अष्ट्रेलियामै बस्छन्, कान्छी छोरी अमेरिकामा बस्छन् । नयाँ घर बनाउन अष्ट्रेलियाबाट फर्केका हरिबहादुरको यही घटनामा मृत्यु भएपछि उहाँको आमा र बुबाले अस्पतालमा आफ्नो आँशुलाई रोक्नै सकेनन् । 
 
“खाना खाएर म छिट्टै फर्कन्छु है आमा भनेर हिँडेका छोराको यो हालत भयो” भन्दै आमा जानकी कटुवाल सँगै रुँदै अस्पतालमा पुगेका कसैको आँशु थामिएन । 
 
सविताको दाजु नवराज काफ्लेले टिपर चालकलाई पक्राउ नगरेसम्म शव नबुझ्ने र कडा कारबाही गर्न माग गर्नुभयो । कुनै पनि बहानामा चालकलाई उन्मुक्ति दिने प्रयास गरिए चुप लागेर नबस्ने उनले बताए । 
 
अस्पतालमा भेला भएकाहरुले टिपरलगायत मालबाहक सवारी साधनलाई राति ९ बजेपछि बिहान ४ बजेसम्म मात्रै सञ्चालन गर्ने व्यवस्था गर्न सरकारसँग माग गरे । साथै ज्यानै जाने गरी दुर्घटना गराउने चालकलाई ज्यान मुद्दा नै लगाउनुपर्ने माग उनीहरुले राखेका छन् । 
 
प्रहरी नायब उपरीक्षक श्रेष्ठले घटनाको प्रारम्भिक अनुसन्धानबाट टिपर चालकको ठूलो लापरबाही देखिएको प्रतिक्रिया दिए । उनले चालकलाई पक्राउ गरी कानूनी कारबाही अगाडि बढाउने पनि बताए । रासस