मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दासढुंगामा मदन आश्रितको श्रद्धाञ्जली सभा

दासढुंगामा मदन आश्रितको श्रद्धाञ्जली सभा


चितवन । राजधानीमा एमाले र माओवादी केन्द्रका अध्यक्षहरु केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकीकरण चलिरहँदा चितवनको दासढुंगामा आयोजित एक कार्यक्रममा एमाले–माओवादी नेता कार्यकर्ता एकै ठाउँमा भेला भएर श्रद्धाञ्जली अर्पण गरे । 
 
एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २५औँ स्मृति दिवसमा दुवै पार्टीका नेता कार्यकर्ताले श्रद्धाञ्जली अर्पण गरेका थिए । 
 
श्रद्धाञ्जली कार्यक्रममा प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले मदन र जीवराजको शालिकमा माल्यापण गर्दै पार्टी एकताप्रति खुसी व्यक्त गरे । 
 
एमाले नेता केशवलाल श्रेष्ठले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको सिद्धान्त आजपर्यन्त उत्तिकै सान्दर्भिक रहेको प्रतिक्रिया दिए । 
 
माओवादी केन्द्रका चितवन इञ्चार्ज ईश्वरी भट्टराईले मदन भण्डारीको स्मृति दिवसकै दिनमा पार्टी एकता हुनु ऐतिहासिक भएको बताए । 
 
एमाले चितवनका अध्यक्ष एवम् प्रतिनिधिसभा सांसद कृष्णभक्त पोखरेलले मदन भण्डारी जिउँदै रहेको भए क्रान्तिको नाममा हजारौँ जनताले ज्यानको बलिदानी दिन नपर्ने बताए । 
 
विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउनेक्रममा मदन र आश्रित चढेको जीप दासढुंगामा खसेर दुर्घटनाग्रस्त भएको थियो । 
 
त्यसबेला एमालेले मदन भण्डारीको मृत्यु रहस्यमय भएको बताएको थियो । तर, एमालेले आजसम्म त्यसको अनुसन्धान गर्न औचित्य ठानेको छैन । 
 
भण्डारीकै पत्नी विद्यादेवी भण्डारी दुईपटक राष्ट्रपति बनिन् । तर, दासढुंगामा भएको घटनाका सम्बन्धमा चासो राखेकी छैनन् । वर्षको एकचोटी श्रद्धाञ्जली सभा गरेर जननेता भण्डारीको स्मरण गरिने गरिएको छ ।