मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

हेर्दाहेर्दै नेकपामा विलिन भए एमाले–माओवादी

हेर्दाहेर्दै नेकपामा विलिन भए एमाले–माओवादी


काठमाडौँ । ‘के एकता होला र ?’ चुनावी गठनबन्धनको घोषणापछि जनस्तरमा मात्र होइन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का कतिपय नेता–कार्यकर्तामा उब्जने यो प्रश्नको औचित्य अब समाप्त भएको छ । 
 
निर्वाचनपछि जुनसुकै बेला चाँडै एकता हुने जनाउँदै आएका दुई पार्टीका शीर्ष नेताले आज बिहानदेखि आन्तरिक र आपसी बैठक तथा बाँकी प्रक्रिया पूरा गरेर साँझ मुलुकको शक्तिशाली दल नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० को विधिवत् घोषणा गरेका छन् । 
 
निर्वाचनका लागि तालमेलको घोषणा भएकै स्थान राष्ट्रियसभा गृहको हलमात्र होइन, परिसर र प्रदर्शनीमार्गस्थितको सडकसम्म खचिखचाउ भएका कार्यकर्ता, समर्थक र सर्वसाधारणका बीच नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ६ बुँदे एकता घोषणासँगै समृद्धि र स्थिरतको नयाँ युग आरम्भ भएको उद्घोषसहित एमाले र माओवादी केन्द्र एकापसमा बिलय भएका हुन् । 
 
जनताको बहुदलीय जनवादको मार्गदर्शनमा शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धाको राजनीति र सशस्त्र युद्धको मोर्चाको पृष्ठभूमि बोकेका दुई ठूला कम्युनिष्ट पार्टीहरु समाजवादउन्मुख जनताको जनवादको कार्यदिशासहितको एकतामा पुग्नु नै उल्लेखनीय घटना सावित भएको छ । 
 
मदननगर बल्खुस्थित तत्कालीन एमालेको पुरानो कार्यालयमा जननेता मदन भण्डारी र जीवराज आश्रितको २५ औंँ स्मृति दिवसको कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी एकता संयोजन समितिको बैठकमा सम्मिलित अध्यक्षद्वय ओली र प्रचण्डसहितका नेता साँझसम्म एकता प्रक्रिया र त्यसपछिका उत्सवहरुमा व्यस्त रहनुभयो । 
 
संयोजन समितिको बैठकपछि एमालेको बालुवाटार र माओवादी केन्द्रको प्रचण्ड निवास खुमलटारमा बसेका अलगअलग केन्द्रीय बैठकले पार्टी एकताको सहमतिलाई अनुमोदन गरी अन्तरिम विधान र राजनीतिक दस्तावेज पारित गरेका थिए । त्यसअघि शीर्ष नेताहरुले बालुवाटारमा बलियो मानिने रुखका विरुवा रोपेर एकताको नयाँ सन्देश दिइसकेका थिए । 
 
एमालेको केन्द्रीय कमिटी बैठक सकिएलगत्तै माओवादीको सचिवालय सदस्य दुवै दलको संयुक्त बैठकका लागि बालुवाटार गए । औपचारिक बैठक शुरु नहुँदै दुवै तर्फका नेताहरु एकापसमा बधाई साटासाट र खुशीयाली बाँड्न व्यस्त हुन थालेका थिए । उनीहरुले आपसमा हात मिलाउने, अंकमाल गर्ने र तस्बीर खिचाउने काम गरिरहँदा एकताको घोषणा भइसकेको जस्तो देखिन्थ्यो । 
 
संयुक्त बैठकमा नेकपाको केन्द्रीय कमिटी सदस्यकारुपमा शपथ ग्रहण गरेपछि भने पार्टीगतरुपमा घुलन भइसकेको थियो । 
 
तीव्ररुपमा विकसित भएको घटनाक्रमसँगै निर्वाचन आयोगमा नेकपा दल दर्तापछि राष्टिय«सभा गृहमा घोषणासभा भयो, जहाँ कार्यक्रमका लागि तोकिएको समयभन्दा धेरै अगाडि सहभागी र सञ्चारकर्मीको भीड लागिसकेको थियो । 
 
प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीसहितका नेता, रक्षा र गृहमन्त्री तथा अन्य मन्त्रीहरुसहितका नेताको आगमन र ऐतिहासिक कार्यक्रम भएकाले सुरक्षा व्यवस्था गर्न सुरक्षा निकाय परिचालित थियो । 
 
अध्यक्ष ओलीले यो एकता केबल ठूलो दल वा बहुमतको दम्भका लागि नभएको बताउँदै आफूहरु पानीमा अक्सिजन र हाइड्रोजनमा घोलिएर झैँ हेर्दा हेर्दा एमाले र माओवादी केन्द्रको विघठनसँगै नयाँ पार्टीमा रुपान्तरित भएको बताए । 
 
अर्का अध्यक्ष प्रचण्डले आजको एकता आफूहरुको बलिदानको उपज भएको र यस घटनालाई ऐतिहासिक फड्कोका रुपमा लिनुपर्ने बताइरहँदा सहभागीको तालीको गडगडाहटले सभागृह गुञ्जिएको थियो । 
 
वरिष्ठ नेता माधवकुमार नेपालले दुई पार्टीको एकता, सहकार्य र संघर्षको लामो इतिहासतर्फ संकेत गर्दै ‘यो साना दुःखले आज्र्याको एकता होइन’ भन्दा दुवै दलको ऐतिहासिक विकासक्रम र शृखंलाको स्मरण गराएको थियो । रासस