राजनीति / समाज

मुख्यमन्त्री राउतको अभिव्यक्तिप्रति प्रदेशसभामा बचाउ र विरोध

183 पटक पढिएको

15th May 2018, Tuesday | २०७५ जेष्ठ १, मंगलवार ०९:१५
जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरमा नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्री लालबाबु राउतले दिएको आपत्तिजनक अभिव्यक्तिप्रति प्रदेशसभामा चर्काचर्की भएको छ । 
 
मधेस केन्द्रित दल संघीय समाजवादी फोरम र राजपा नेपालले मुख्यमन्त्रीको अभिव्यक्तिको बचाउ गरे भने नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले विरोध जनाएका थिए । 
 
वैशाख २८ गते नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्री राउतले प्रदेश २ केन्द्र सरकारको विभेदका कारण पछि परेको र विभेदकारी संविधानका विरुद्ध आफूहरुको संघर्ष जारी रहेको अभिव्यक्ति दिएका थिए ।
 
मंगलबारको प्रदेशसभा बैठकमा संघीय समाजवादी फोरमका सांसद रामआशिष साहले मुख्यमन्त्रीले प्रदेशको गरिमा र जनताको भावनाअनुसार बोलेको भन्दै यसमा टीका टिप्पणी नगर्न आग्रह गरे । उनले मुख्यमन्त्रीको भनाइप्रति भइरहेका टीका टिप्पणी तर्कसंगत नरहेको बताए । 
 
राजपा नेपालकी सांसद डिम्पलकुमारी झाले मुख्यमन्त्रीको भनाइको विषयमा पहाडीहरुले मात्र नराम्रो टिप्पणी गरेको आरोप लगाएकी छन् । उनले भनिन्, ‘मुख्यमन्त्रीको विषयलाई लिएर केही पहाडीहरुले गरेको टिकाटिप्णीको घोर भ्रत्सना गर्छु । मुख्यमन्त्रीले प्रदेशमा कुरा राख्दा पहाडी मुलुकका केही ब्यक्तिलाई टाउको किन दुखेको हो रु’
 
सांसद झाले मुख्यमन्त्रीको अभिव्यक्ति प्रदेश २ को जनताको पक्षमा ठीक भएको भन्दै केन्द्र सरकारलाई पनि टाउको नदुखाउन आग्रह गरिन् ।
 
नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरीले भने मुख्यमन्त्रीको अभिव्यक्ति बेठीक भएको बताए । ‘गाजल आँखामा लगाउदा राम्रो देखिन्छ, त्यही गाजल अनुहार लाग्यो भने कालोमोसो बन्छ’ उनले भने ‘प्रदेशको समस्या विदेशी पाहुनाको अगाडि राख्नु कति उचित कुरा हो रु’
 
सांसद चौधरीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपालको प्रदेशको नेपालको समस्याबारे जानकारी गराइराख्नुपर्ने आवश्यकता नै नभएको बताए ।
 
कांग्रेस सांसद शोभा लामाले सांसद डिम्पल झाले पहाडी समुदायप्रति गरेको टिप्पणीको विरोध जनाइन् ।‘माननीयज्यूले पहाडीको किन टाउको दुख्यो भन्नू राम्रो होइन, मधेसमा पहाडी बसेका छन्, पहाडमा मधेशी बसेका छन् । त्यसरी दिने अभिव्यक्तिले बिखण्डन ल्याउँछ’ उनले भनिन् ।
 
नेकपा एमालेकी सांसद मञ्जु यादवले नरेन्द्र मोदीको नागरिक अभिनन्दनमा राष्ट्रिय गान नबजाएकोमा विरोध जनाइन् । ‘औपचारिक कार्यक्रम थियो । राष्ट्रिय गान किन बजाइएन । कस्को गल्ती हो रु’ उनले प्रश्न गरिन् ।
 
प्रदेशसभाको बैठकमा सांसदहरुले भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणबारे संसदमा जानकारी नगराएकोमा विरोध जनाएका थिए । उनीहरुले मोदीको भ्रमण तयारी, स्वागत र सत्कारमा लागेको खर्चको हिसाब बुझाउन पनि माग गरेका छन् । 
 
मोदी भ्रमणको बेला कार्यकर्ता पोस्ने काम भएको भन्दै यथार्थ हिसाब बुझाउन सांसदहरुले प्रदेश सरकारसँग माग गरेका छन् ।
 
कांग्रेस, एमाले र माओवादी सांसदहरुले भाजपा सांसद कृति आजादले मोदी जनकपुर फिर्ता माग्न गएको भनी दिएको अभिव्यक्तिको प्रदेशसभाले आपत्ति जनाउनुपर्ने धारणा पनि राखेका थिए । उनीहरुले अभिनन्दन कार्यक्रममा मैथिली भाषा प्रयोग नगरिएको र उपमहानगरपालिकाले अभिनन्दन गर्दा प्रदेश सरकारका मन्त्रीले कार्यक्रम उद्घोषण गर्नु कत्तिको उचित हो भनी प्रश्न गरेका थिए । एजेन्सी