अन्तर्वार्ता

‘सर्वेन्द्र निर्भीक भएकाले डराएको अवस्था थिएन'

995 पटक पढिएको

– रवीन्द्र खनाल, पूर्वमन्त्री

| 19th May 2018, Saturday | २०७५ जेष्ठ ५, शनिबार १०:४५
पूर्ब मन्त्री रबीन्द्र खनाल कुनै बेला नेपाली कांग्रेसको राजनीति गर्नुहुन्थ्यो । तर कांग्रेसबाट कहिल्यै अवसर पाउनुभएन । नेपाली कांग्रेस प्रतिबन्धित रहेको अवस्थामा पनि खनालले अवसर पाउनुभएन । २०४३ सालको राष्ट्रिय पञ्चायतको चुनावमा तनहुँको नेपाली कांग्रेसले उहाँलाई उम्मेदवार बनाउने निर्णय गर्यो । तर कांग्रेसको केन्द्रीय नेताकै कोपभाजनमा परेर त्यो अवसर उहाँले पाउनुभएन । त्यही कारण उहाँले कांग्रेस त्याग्नुभयो । कांग्रेस उहाँका लागि इतिहास भैसक्यो ।
 
राजनीति छाडेर पर्यावरणको क्षेत्रमा लागिरहेको अवस्थामा भने उहाँलाई मन्त्री पदको चिठ्ठा पर्यो । त्यो पनि राजाको सकृय शासनकालको समयमा राजाकै विश्वासमा उहाँ एक पटक शिक्षा र अर्कोपटक श्रम मन्त्री हुनुभयो । तत्कालिन राजा ज्ञानेन्द्रले मुलुक र जनताको हितकै लागि शासनसत्ता लिएको धारणा उहाँको छ । तनहुँको निकै बौध्दिक परिवारमा २०१० सालमा जन्मनुभएका खनालका एक भाई सुबीर खनाल अहिले पनि नेकाकै राजनीतिमा हुनुहुन्छ । उहाँका अर्का एक भाई सर्बेन्द्र खनाल नेपाल प्रहरीको सर्बोच्च पद प्रहरी महानिरीक्षक (अाइजिपी) हुनुहुनछ । 
 
बेलाबखतमा उहाँ अमेरिका आइरहनुहुन्छ । यसपटक नाती (छोरीको छोरा) को ब्रतबन्धको अवसर पारेर अमेरिकाको टेक्सस आउनुभएका खनालसँग हिमालय खबरले उहाँको विगत, शाही शासनकालको राजनीति, अहिलेको सरकार, शासन व्यबस्थाप्रति उहाँको धारणा जान्ने प्रयास गरेको छ । खनाल गैर आवासीय नेपाली संघ अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक गौरीराज जोशीका सहोदर ससुरा पनि हुनुहुन्छ । खनालकी कान्छी छोरी कायम जोशी क्षेत्रीय संयोजक गौरीकी धर्मपत्नी हुन् ।
 
हिमालय खबरसँगको कुराकानीमा खनालले राजासँग एउटै मन्त्रीपरिषदमा छँदाको स्मरणमात्र गर्नुभएको छैन । भाई आइजिपी भएपछि शान्ति सुरक्षामा अझै सुधार हुने अपेक्षा पनि राख्नुभएको छ । प्रस्तुत छ–खनालसँग हिमालयखबरका लागि रामचन्द्र भट्ट र विकासराज न्यौपानले गरेको कुराकानीका मुख्य अंशहरु ।
 
 
यतिखेर अमेरिकामा हुनुहुन्छ । तपाईको कतिऔँ भ्रमण हो यो ?
 
– मेरो यो सातौँ पटकको भ्रमण हो ।
 
भनेपछि पटक पटक आइरहनुहुन्छ ?
 
– अँ मेरा दुईटी छोरीहरु यहीँ छन् । सामान्यतया हामी बुढ्यौलीमा रहेका मानिसहरुलाई उनीहरुले गाह्रो अप्ठेरो पर्दा बोलाइरहने र हामीलाई पनि आउन मन लागिरहने कारणले गर्दा सामान्यतया आउने जाने क्रम चलिरहेको छ ।
 
यसपटक चाँहि किन आउनुभयो ?
 
– यसपटक चाँहि मेरी कान्छी छोरी कायम जोशीको छोराको ब्रतबन्ध थियो । त्यही सिलसिलामा आएको हुँ । यहाँ आइसकेपछि जेठी छोरीको घरमा पनि जानैपर्यो । त्यस्तै न्यूयोर्कमा भतिजीको बिहे पनि छ । त्यता पनि सहभागी हुनैपर्यो ।
 
तपाईका परिवारका सदस्य, आफन्तहरु त नेपालमा भन्दा पनि यता अमेरिकामा पो ज्यादा छन् कि जस्तो लाग्यो नि ?
 
– मेरो मात्र होइन अहिले त यस्तो खालको लहर चलिसक्यो कि प्रत्येक गाउँघरमा एक छाडेर अर्कोमा छोराछोरी विदेशमा नभएका त घरै भेट्न मुस्किल परिसक्यो । हामी नेपालको पाखुरीको यसरी बाहिरिएको अवस्था छ । मेरो पनि यसमा अपवाद भएन ।
 
यहाँको सिस्टम, वातावरण देख्दा अमेरिका कस्तो लाग्छ तपाईलाई ?
 
– अमेरिका जति बुझ्यो त्यतिनै कठिन प्रकृतिको देख्छु म । यसो हेर्यो सयौँ वर्ष अघिदेखि बनेको पध्दतीले यहाँ काम गरिरहेको छ । यहाँको निर्माण, भौतिक पूर्वाधारहरु त्यहि किसिमले तयार भएका छन् । अब संसारमा जे जति नबउदीयमान देशहरुले विकास गर्दै आइरहेका छन्, ती सबैको आधार चाँही अमेरिकानै हो भन्ने बुझाइ छ । ती देशहरुले अमेरिकाको यही बेसमा टेकेर प्रगति गरिराखेका छन् । त्यसो हुँदा अमेरिका मलाई निकै राम्रो लाग्छ ।
 
हाम्रो मातृभूमिलाई यस्तै बनाउन सकिदैन ?
 
– बनाउन पाए हुन्थ्यो भन्ने त कस्लाई नलाग्ला र ? त्यो स्वभाविकै हो । मलाई मात्र होइन धेरै पहिलेदेखि अमेरिका आतेजाते गरिराखेका राजनेता, प्रशासकहरु, सर्वसाधारण धेरैले विदेश भ्रमण गरिसकेका छन् । विदेश जाँदा सबैलाई आफ्नो मातृभूमिप्रति मायाँ ममता जाग्ने, अनि नेपाललाई पनि यस्तै बनाउन पाए हुन्थ्यो भन्ने एउटा सोच पलाउँछ । तर विदेशबाट फर्केर जब नेपालको माटोमा टेक्छ उसले विदेशमा जुन पद्धतीमा हिँडेको थियो त्यसलाई पुरै वेवास्ता गर्दै बाटोमै फोहोर मिल्काउने, थुक्ने गर्छन् । यहाँको संस्कार, पध्दती, आचरण, नैतिकता नेपालको भूमिमा टेकेपछि पुरै बिर्सिन्छन् । हामी नेपाल र नेपालीको पध्दती त्यही कारणले बिग्रिरहेको छ ।
 
जहाँसम्म यहाँकै जस्तो भौतिक पूर्वाधारको कुरा छ–पवित्र मनले इमान्दारीपूर्वक राजनीतिले परिस्थितीलाई डोहोर्यायो भने त्यति असजिलो भने छैन ।
 
तपाई पनि कुनै समय शासन व्यबस्थाको एउटा अंगमा हुनुहुन्थ्यो । यस्तैखालको पध्दती, पूर्वाधार बनाउन तपाईले चाँहि आफ्नो तर्फबाट के गर्नुभयो त ?
 
– मैले त्यतिखेर के के प्रयास गरेको थिएँ र त्यसबाट नतिजा के कस्तो निस्कियो भनेर मैले आफ्नै मुखबाट भन्दा चाहि त्यो अतिरञ्जना हुन पनि सक्छ । त्यो कुरा खोजीनीति सञ्चारमाध्यमले गरिदिँदा अझै बढी शोभनीय हुन्छ । मैले शिक्षा मन्त्रालयमा रहेर केही कामहरु गरेँ, नयाँ नियमावली निर्माण गरियो । म भन्दा पहिलेका मन्त्रीहरुको पालामा डाक्टरी अध्ययन गर्ने छात्रवृत्तिको कोटामा ठूलो चलखेल हुने गरेको थियो । धाँधली भयो भन्ने कुराहरु वर्षेनी आउँथ्यो । केही मित्रहरु त्यसैका कारण बदनामी पनि भएर जानुभयो । मैले त्यहाँ सम्हाल्न थालेपछि छात्रवृत्तिको क्षेत्रमा एउटा सिस्टम बसालिदिएँ । त्यसपछिका दिनहरुमा पैसाका चलखेल हुन नपाएका, नमिलेका थुप्रै उदाहरणहरु छन् ।
 
बुढानिलकण्ठ स्कुल दुर्गम भेगका बासिन्दाहरुका लागि पनि सुविधा पुगोस् भनेर तत्कालिन महाराजधिराजको अनुरोधमा बेलायत सरकारबाट बनेको शैक्षिक संस्था हो । त्यसको नाममा नाममा हुम्ला, जुम्ला, डोल्मा, मनाङ, मुस्ताङको कोटा काठमाडौं बसेर बसेर मोजमस्ती गर्ने प्रशासक, राजनीतिक नेताबाट भागभण्डा हुँदै आएको थियो । मेरै पहलमा नियमावलीमा संशोधन गरेर न्यूनतम रुपमा पनि दुईवर्ष त्यो जिल्लामा पढेकै हुनुपर्ने, जिल्ला शिक्षा कार्यालयबाट सिफारिस हुनुपर्ने प्रावधान राखियो । अहिले पनि धाँधली नभएर त्यही सिस्टममा चलेको देखिन्छ । त्यसले गर्दा मलाई सन्तोष लागेको छ ।
 
त्यतिखेर मेरै कार्यकालमा रिजल्ट नभएर थन्किएका हजारौँ अस्थायी शिक्षकहरु थिए । म भन्दा अघिल्ला मन्त्रीहरुले पनि गर्न सकेका रहेनछन् । जसको पालामा पनि रिजल्ट नहुने पद्धती बसेको रहेछ । किन नभएको भनेर कसैले सार्वजनिक नगर्ने । म पुगिसकेपछि सानो व्यक्तिगत स्वार्थका कारण अर्थात आफ्नो जिल्लाका आफ्नो मान्छे नआउने देखेर रोकिएको रहेछ । वाम निकट व्यक्तिहरु आउने भएपछि कांग्रेस निकट मन्त्रीहरुले रिजल्ट रोकेर राखेका रहेछन् । मैले शिक्षा मन्त्रालय छाड्ने दिन त्यो निर्णय गरिदिएँ । म पछिका हरिबहादुर थापाले त्यसलाई कार्यान्वयन गर्नुभयो ।
 
म पछि मन्त्री पदबाट बाहिरिँदा धेरै जिल्लाहरुमा जाँदा शिक्षकहरुले मलाई भगवानै मानेर खुट्टामा ढोग्न आएका धेरै अनुभवहरु मसँग छन् ।
 
म शाहीकालको अन्तिम मन्त्रीपरिषदको अन्तिम सदस्य हुँ म । त्यो भन्दा मलाई कुनै आत्मग्लानी हुँदैन । त्यतिखेर म श्रममा हुँदा श्रमिकको कल्याणकारी कोषको स्थापना गर्ने, श्रम ऐनमा संशोधन गर्ने आदी काम पनि गरेको थिएँ । अहिले त्यसैले काम गरिराखेको सुन्दा मनमा सन्तोष लाग्ने रहेछ ।
 
भनेपछि मन्त्री हुँदा देशलाई विकसित बनाउन योगदान गर्नुभएकै थियो होइन त ?
 
– अँ, विकसित बनाउन त नभनौँ एउटा पध्दती बसाउन सकेको योगदान गरियो । नेपालको दुर्भाग्य भनौँ या के भनौँ पुरै सिस्टम बसाउन सकिएन । भएका असल पध्दतीहरुलाई पनि हामीले टिकाइराख्न सकेनौँ । त्यही कारणले हामी पछि परिरहेका छौँ ।
 
नेपालमा हुँदा हिजोआज चाँहि दिनहरु कसरी बिताइरहनुहुन्छ ?
 
– उही सामान्यनै छ दैनिकी । पत्रपत्रिका पढ्ने, सामाजीक काममा संलग्न हुने गरेको छु । एक हिसाबले रिटायर्ड लाइफ जस्तै छ दैनिकी ।
 
भुतले खाजा खाने बेला अर्थात राजाले सकृयता बढाएको बेलामा मन्त्री हुनुभएको थियो । ती दिनहरु सम्झँदा अहिले कस्तो लाग्छ ?
 
– अहिलेको सन्दर्भमा ती कुराहरु राख्दा नयाँपुस्तालाई नपच्न पनि सक्छ । तर तथ्यलाई नछिपाई भन्नुपर्दा राजाले असल नियतले शासन लिइबक्सेको थियो र शासनलाई असल तरिकाले चलाउने लक्ष्य पनि थियो । तर यसमा राष्ट्रिय, अन्तर्राष्ट्रिय, अझै दूरदराजका शक्तिकेन्द्रको आँखाको तारो बन्ने परिस्थिती सिर्जना भयो । त्यसले गर्दा असजिला अवस्थाहरु आए । तर मलाई जहाँसम्म लाग्छ राम्रै गरौँ भनेर देशकै निम्ति सोचेर चालिएको कदम थियो त्यो ।
 
त्यतिखेर मन्त्रीपरिषदको बैठक बस्दा खेरि तपाईहरुलाई निकै सकस हुन्थ्यो होला है ? किनकी राजानै मन्त्रीपरिषदको अध्यक्ष अर्थात प्रधानमन्त्रीको भूमिकामा थिए नि हैन ?
 
– भरखर भरखरै राजासँग सम्पर्क/सम्बन्ध भएकालाई त त्यसो हुनु स्वभाविकै थियो । तर मेरो चाँहि महाराजधिराज सरकारसँग अधिराजकुमार हुँदाको बखतमै ‘ग्रीन मुभमेन्ट’ मा संलग्न भएको हुँदादेखिनै सम्बन्ध र सम्पर्क थियो । म उहाँलाई एउटा ‘इन्टिलेक्चुअल इन्भाएरमेन्टलिष्ट’ का रुपमा हेर्छु अझै पनि । त्यो हिसाबले परिचय पहिलेनै भएको हुँदा मलाई व्यक्तिगत रुपमा त सँगै बैठक बस्दा कुनै सकस त भएन । तर सामान्यतया अरुलाई भने अलिकति अप्ठेरै पनि महसुस हुनु स्वभाविक हो ।
 
राजासँग मन्त्रीपरिषदको बैठक कस्तो हुन्थ्यो ?
 
– मन्त्रीपरिषदको बैठकमा दुई प्रकारका एजेण्डाहरु जान्थे । पहिलो प्रकृया भनेको मन्त्रालयस्तरबाट टिप्पणी उठ्दै गएर सचिवबाट पेश हुने र अर्को मन्त्रीले ठाडै लैजाने । विशेष परिस्थितीमा मन्त्रीपरिषदका अध्यक्षबाट पनि प्रस्ताव आउने गरि तीन प्रकारका प्रकृयाहरु हुन्थे । त्यतिखेर सबै मन्त्रीहरु खुलुन्, सहज होस् भनेर, उनीहरुमा दह, सकस नहोस् भनेर बेलामौकामा बडो रमाइलो वातावरण पनि सिर्जना हुन्थ्यो । मन्त्रीपरिषदको बैठकपछि सँगै बसेर रङरोस गर्ने काम पनि हुन्थ्यो, ताकी सबै मन्त्रीहरु खुलुन्, उनीहरुका कुराहरु मुखरित होउन् भनेर । उनीहरु दबिएर कुरा भन्न अप्ठेरो नहोस् भन्नेमा महाराजधिराज सचेत हुनुहुन्थ्यो । कुनै मन्त्रीले राम्रा एजेण्डाहरु ल्याउँदा ‘गो–अहेड’ भन्ने खालका निर्देशनहरु पनि उहाँबाट बक्स हुन्थ्यो ।
 
तपाई मन्त्री हुने क्रम चाहि कसरी जुर्यो । किनकी तपाई राजनीतिमा त त्यसअघि देखिनुभएको थिएन ।
 
– होइन, म राजनीतिमै थिएँ । मेरो लामो राजनीति पृष्ठभूमि लामै छ । पहिले नेपाली कांग्रेसमै थिएँ । २०४३ साल, जतिखेर देशमा दलीय राजनीति निषेध थियो । त्यो अवस्थामा म कांग्रेसमा थिए । त्यतिखेर राष्ट्रिय पञ्चायतको चुनाव हुनेवाला थियो । कांग्रेसले अब विस्तारै स्थानीय सत्ता कव्जा गर्नुपर्छ भन्ने नीति लिएर राष्ट्रिय पञ्चायत, जिल्ला पञ्चायत, गाउँ/नगर पञ्चायतहरुमा आफ्ना उम्मेदवारहरु खडा गर्ने नीति लियो । २०३९ सालमा पनि यो नीति लिएको थियो । केही साथीहरुले चुनाव जित्नुभयो, केहीले हार्नुभयो । २०४३ को राष्ट्रिय पञ्चायतको चुनावमा पनि यसलाई निरन्तरता दिने कुरा भयो ।
 
मेरो जिल्ला तनहुँमा कांग्रेसको जिल्ला कार्यसमितिले म र विष्णुबीर आलेलाई उम्मेदवार बनाउने निर्णय गर्यो । तर व्यक्तिगत स्वार्थका कारण मलाई अघि बढ्न दिँदा कति मानिसहरुले आपूmलाई आघात पुग्छ भन्ने ठाने । ती मानिसहरु अहिले पनि कांग्रेसको उपल्लै पदहरुमा छन् । मेरा विरुध्द षडयन्त्र भयो र तारापति भट्टराईलाई उम्मेदवार बनाइयो । त्यसो हो भने ‘म पनि व्यक्तिगत रुपमा चुनाव लड्छु, कांग्रेस भित्रै र बाहिर म के हुँ भनेर देखाउन चाहन्छु‘ भनेर म उम्मेदवार भएँ । तत्काल कांग्रेस छाडेर म पनि चुनाव लडेँ । त्यो बेला तनहुँबाट दुई जना विजयी हुन्थे । म चाँही सातौँ भए । मेरो दुर्भाग्य के भयो भने श्रीभद्र खनाल नाताले मेरो भतिज पर्नुहुन्छ, तर उमेर मभन्दा बढी भएकोले दाजु भनेर सम्बोधन गर्छु । उहाँ पनि उम्मेदवार हुनुभएका कारण हामीबीच पनि भोट बाँडियो । त्यो अवस्थामा पनि मैले इज्जतपूर्ण भोट ल्याएँ । क्षेत्रप्रताप अधिकारी र नरबहादुर गुरुङले त्यतिखेर जित्नुभएको थियो ।
 
मैले त्यसरी कांग्रेस छाडेर बिस्तारै यही ग्रीन मुभमेन्टमा लागेको थिएँ । त्यही क्रममा यो मुभमेन्टका धेरै साथीहरु राजनीतिमा सकृय हुन थाल्नुभयो । जस्तै मैले महासचिव बनाएको हृदयेश त्रिपाठी राजनीतिमा सकृय हुनुभयो, गोबिन्द अधिकारी पत्रकारितामा सकृय हुनुभयो । धेरै साथीहरु बिभिन्न क्षेत्रमा माथिल्लै तहमा पुग्नुभयो । यही क्रममा मलाई महाराजधिराजले छानिबक्स्यो । कसरी छानिबक्स्यो त्यो त जान्दिन, तर सौभाग्यले परेँ ।
 
सहोदर भाई प्रहरी संगठनको माथिल्लो पदमा पुग्नुभएको छ ? कस्तो लागिरहेको छ ?
 
– इन्स्पेक्टर हुँदादेखिनै मेरो चाहना भाई सर्बेन्द्रलाई प्रहरी संगठनको माथिल्लो तहमा पुर्याउनुपर्छ भन्ने थियो । त्यो सपना पुरा भएको छ । उनको कार्यक्षमताकै कारणले त्यो ठाउँमा पुगेका छन् । भावी दिनहरुमा प्रहरी संगठनलाई मजवुत बनाउनेतिर राम्रोसँग काम गर्नेछन् भन्ने मलाई विश्वास छ । अहिले परिस्थिती अलिअलि त्यसतर्फ उन्मुख भएको पनि मैले महसुस गरेको छु ।
 
प्रहरी संगठनको निकै विवादमा पर्दै आएको छ । पहिलेनै तीनजना आइजिपीहरु सुडान काण्डमा परेर जेल गएका छन् । अहिले फेरि सुनकाण्ड चर्चामा छ । यो परिस्थितीले निकै कमजोर देखिएको संगठनलाई अघि बढाउन उहाँ सक्षम हुनुहोला ?
 
– सिङ्गो प्रहरी संगठनमात्र सबै चिज होइन । त्यसलाई परिचालन गर्ने राजनीतिक नेतृत्वको पनि यस्तो कुरामा त्यत्तिकै हात हुन्छ । राजनीतिक नेतृत्व, गृह प्रशासन सक्षम र निरपेक्ष ढंगले लाग्ने हो भने प्रहरी संगठनबाट प्रशस्त काम हुन्छ । गृह प्रशासन र राजनीतिक नेतृत्व इमान्दार हुने भने सुनकाण्डमात्र होइन धेरै काण्डहरु समाधान हुन कुनै कठिनाई छैन ।
 
उहाँलाई प्रहरी संगठनको प्रमुख हुन नदिन धेरै चलखेल पनि भए नि ? जस्तै कुमार घैटेका इन्काउण्टरलाई लिएर उहाँलाई खुइल्याउने प्रयास पनि भएको थियो । गगन थापा जस्तो व्यक्तित्वनै घैँटेको इन्काउन्टर मानव अधिकार विपरित भयो भनेर मानव अधिकार आयोगमा जानुभयो । त्यो अवस्थामा उहाँ आइजिपी हुनुहोला जस्तो लागेको थियो ?
 
– अपराधी, समाजमा शान्ति सुरक्षा खल्बलाउनेलाई राजनीतिक नेतृत्वले समर्थन गर्नु, संरक्षण गर्नुनै दुर्भाग्य हो । तर त्यसो भयो भन्दैमा शान्ति सुरक्षा, अमनचैन कायम गर्ने सिलसिलामा आत्तिएर समर्पण गर्नु अर्को नालायकीपन हो । सर्बेन्द्रको पहिलेदेखिकै बानी हठी स्वभावको स्पष्टवक्ता, निर्भीक स्वभावको भएको हुँदा ती घटनाबाट उनी हतास भएको, डराएको अवस्था थिएन ।
 
उहाँले के चाहि गरिदिएको खण्डमा तपाईहरुको खनाल परिवारको इज्जत अझै बढ्ने, देशमा शान्ति सुरक्षाको अवस्था सवल हुने र प्रहरी संगठनको छवी पनि सुधार हुनेथियो भन्ने लाग्छ ?
 
– विस्तारै कामहरु भैरहेको जस्तो लाग्दैछ । फिल्डमा काम गरेर जनतालाई शान्ति सुरक्षा दिने तल्लो स्तरका प्रहरीहरुको लामो समयदेखि रोकिएका बढुवाहरु भैरहेको जस्तो देखिन्छ । उनीहरुको आत्मबल बढाउन सुरुवात त्यहाँबाट भएको महसुस मलाई पनि भएको छ । पहिलो कुरा आफ्नो संगठनलाई सुदृढ बनाइसकेपछि अर्थात घर मजवुत भैसकेपछि घर बाहिरको सरसफाइको काम क्रमश हुँदै जाला भन्ने आशा लिएको छु ।
 
प्रसङ्ग बदलौँ । समकालिन नेपालको राजनीतिमा केही गर्लान् भनेर आशलाग्दो नेता कोही छन् ?
 
– मैले देखेको पनि हो, मानेको पनि हो । तर त्यस्तो मानिसलाई काम गर्न दिँदा रहेनछन् । अहिले मैले भन्दाखेरि ‘ए यो पनि यस्तो’ भनेर पनि भन्लान । मलाई व्यक्तिगत रुपमा भन्नुपर्दा बाबुराम भट्टराई असाध्यै मन पर्छन् । उहाँको भिजन पनि थियो, काम गर्ने आँट पनि थियो । काम पनि गरेर देखाएका हुन् । श्रीमतीसँग जोडेर अनेक तर्क–वितर्क आउँछ । तैपनि व्यक्तिगत रुपमा मानिस बडो इमान्दार र स्वच्छ रहेको मैले पनि महसुस गरेको थियो । तर प्रारम्ध भनौँ या परिस्थितीले भनौँ उहाँलाई साथ दिएन । उहाँ पाखा पर्नुभयो ।
 
अहिले एक हिसाबले ‘बेनिफिट अफ डाउट’ भनौँ या के भनौँ मधुमासै छ । तर यो मधुमासमा पनि एउटा राम्रै संकेत खड्ग ओलीले पनि प्रकट गरेर देखाउनु भएको छ । यही रुपमा रहने हो भने मलाई उहाँको सुरुवाती चरण पनि मन परिरहेको छ । 
 
मोदीको भ्रमणको सन्दर्भमा उहाँ (केपी ओली) लम्पसार पर्नुभयो भन्ने कुरा पनि उठीरहेको छ । कस्तो लाग्छ ?
 
– हामी बैदेशिक कुटनीतिमा धेरै कमजोर हुँदै गएको संकेत हो यो । मैले यो भन्दा फेरि गलत अर्थ नलागोस् । पहिले पहिले अर्थात राजाको पालामा भद्रता सहितको कुटनीतिक सम्बन्ध हुन्थ्यो । व्यबहार पनि त्यही अनुसारको मेन्टेन हुन्थ्यो । त्यसो हुँदा बिभिन्न देशका राजदुतहरु पनि राजनीतिमा त्यति कृयाशील हुन पाउँदैनथे । परराष्ट्र मन्त्रालयबाटै सबै कुरा डील हुन्थ्यो । यी कुराहरुले नेपालको कुटनीतिक छवी पनि उच्च थियो । तर अहिले केही वर्षयता हाम्रो कुटनीतिक अवस्था चाहि स्खलनको अवस्थामा छ । 
 
यो अवस्थामा यो प्रकारको यात्रा हुन लागिरहेको अवस्थामा कतिपय कुराहरु सिस्टमभन्दा माथि पनि हुनसक्छ । किनकी छिमेकी मित्रराष्ट्र हाम्रा लागि अति आवश्यक दूर गराउन नमिल्ने भएकोले उसँगको विगतको तिक्तताहरु पन्छाउँदै अगाडी बढ्ने क्रममा केही कुराहरु तलमाथि भएका हुनसक्छन् । म चाँही अहिलेको सन्दर्भमा त्यति ठूलो इस्यु बनाउनुपर्छ भन्ने देख्दिन । किनकी भारतलाई पन्छाएर हामीले कुनै पनि प्रकारको विकास गर्छु भन्नु महाभुल हुनेछ । यसको अर्थ यो पनि होइन कि हामी पूर्ण रुपमा समर्पितै हुनुपर्छ । जे भन्यो त्यही मान्नुपर्छ भन्ने दाश मनोवृत्ति पनि राख्नु हुँदैन । अहिले परराष्ट्र मन्त्रालयमा राम्रै नेतृत्व छ । विस्तारै त्यहाँ पनि सिस्टम बस्न खोज्या हो कि भन्ने मैले अनुभव गरेको छु ।
 
केपी ओली नेतृत्वको सरकारले के गरेको खण्डमा मुलुकको इज्जत प्रतिष्ठा पनि बढ्ने र अनुचित वैदेशिक हस्तक्षेपमा कमि आउने देख्नुहुन्छ ?
 
– मुल कुरा परराष्ट्र सम्बन्धलाई अघि बढाउँदा ‘डिकोरम’ लाई मेन्टेन गर्ने एउटा सिस्टम बस्नुपर्छ । त्यो बस्ने बित्तिकै धेरै कुराहरु समाधान हुन्छन् । जब समानस्तरमा काम कुराहरु हुन्छन् त्यहाँ क्लिनचिटमा काम गर्न पनि सहज हुन्छ । तपाई र म बसेर कुराकानी गर्दा तपाई अग्लो हुनुहुन्छ भने मैले टाउको उभोँ लगाएर हेर्नुपर्ने हुन्छ । दुबैजना एउटै सतहको सोफामा बस्ने परिस्थिती सिर्जना हुनुप¥यो । अनि त्यसपछि वार्ताका परिस्थिती सहज हुन्छन् । तल र माथि भयो भने वार्ता सहज हुनसक्दैन । त्यसक्रममा अलिकति गियरअप हुन लाग्या हो कि भन्ने कता कता महसुस गरिरहेको छु ।
 
पूर्ब राजासँग अहिले पनि भेटघाट हुन्छ ?
 
– हुन्छ ।
 
के कस्ता कुराहरु हुन्छन् भेटघाटमा ?
 
– यो परिस्थितीका बारेमा तत्कालिन राजा पूर्बसूचितनै हुनुहुन्थ्यो । धेरै समय बित्यो, एउटा सन्दर्भलाई यहाँ उल्लेख गर्दा गोप्यता भंग गर्नेछैन भनेर लिएको शपथको उल्लंघन हुनेछैन भन्ने ठानेको छु ।
 
इण्डियाबाट डिमाण्डको पोको बोकेर एकजना वरिष्ठ राजनीतिज्ञ नेपाल आएका थिए । त्यो केही चिजहरु थिए । राजामा जानकारी भयो । राजबाट मन्त्रीहरुलाई पनि जानकारी दिइबक्स्यो । त्यो पत्रका विषयमा बैठकमा कुरकानी भयो । पक्ष–विपक्षमा कुराकानी भयो । त्यही दिनको क्याबिनेटमा उहाँबाट त्यो देशको नामै उल्लेख नगरि हुकुम भयो–‘कुनै विदेशी शक्तिसँग झुक्न मेरो पैतृक धर्मले दिँदैन । जहाँसम्म त्यो शक्तिसँग लडेर शासन गर्ने भनेको जनताको रगतसँग होली खेलेर शासन गर्नु हो । त्यो मेरो रहर होइन । जनताकै बीचमा कुरा सुनेर शासन गर्ने हाम्रो पद्धती हो । कुनै दिन यस्तो आउला, जनताले बुझ्लान् कि हामी के कति कारणले अप्ठेरो परिस्थितीमा थियौँ भनेर बुझ्नेछन् । यसरी हामीलाई विस्थापन गर्न खोजिएको थियो भन्ने कुरा बुझ्नेछन्, थाहा पाउनेछन् । त्यो अवस्थामा म रहिरहे भने मलाई, नभए नातीलाई जनताले स्विकार्लान् मैले बुझेको छु’ भनेर हुकुम भयो । उहाँ त्यतिखेर विदेशी शक्तिका अघिल्तिर लत्रिनुभएको भए यो अवस्थानै हुनेथिएन ।
 
मैले तपाईलाई यति जानकारी दिएर गोप्यता भंग त गरेँ । साथमा भंग गरेकोमा क्षमा पनि चाहन्छु ।
 
अन्तिममा तपाईलाई भन्न मन लागेको कुनै कुराहरु छन् ?
 
– पारिवारिक भ्रमणको सिलसिलामा रहेको मलाई तपाईहरुले खोजेर आफ्ना कुराहरु राख्ने अवसर दिनुभयो त्यसका लागि म आभारी छु । म राजनीतिक जीवन छाडेर नितान्त सामाजीक जीवनमा रहेको प्यासिभ मानिसलाई खोजेर तपाईहरु यहाँसम्म आउनुभयो हार्दिक धन्यवाद । र एउटा मैले भन्नै पर्ने कुरा के छ भने जबसम्म हामीले पद्धतीको विकास गर्दैनौ तबसम्म नेपाललाई प्रगतिपथमा लैजान सक्दैनौ । पद्धती विकासको क्रममा अहिले मलाई कताकता आशा भने जागेको छ ।