अन्तर्वार्ता

पाकेट खर्च जोगाएर समाजसेवा गर्दै लता

299 पटक पढिएको

केशव भट्टराई | 10th May 2018, Thursday | २०७५ बैशाख २७, बिहीवार १०:०२
आधुनिक युवापुस्ता घूमघाम र रमाइलोमै समय बिताउन चाहन्छ । रमाइलोका नाममा कतिपय युवा कूलतमा फस्दै गएका छन् । तर, पूर्वी चितवनको खैरहनी १ चैनपुरकी २६ वर्षीया लता शर्मा सिलवाल भने बालबालिकाको हितमा व्यस्त भएकी छन् । 
 
अरुको दुःख र अभाव देख्न नसक्ने स्वभावकी उनी कहिले वृद्ववृद्वाको सेवामा देवघाटधाम पुग्छिन् त कहिले बालबालिकालाई शैक्षिक सामग्री लिएर विभिन्न विद्यालय पुगिरहेकी हुन्छिन् । 
 
विद्यालय उमेरमा आफूसरहका साथीहरुले कापीकिताब किन्न नसक्दा उनले खाजा नखाएरै पनि सहयोग गर्थिन् । सहयोगी बन्नुपर्छ, अरुका लागि पनि सोच्नुपर्छ भन्ने उनको बाल्यकालको भावना अझै पनि जारी छ । 
 
शहीद स्मृति बहुमुखी क्याम्पस, रत्ननगरमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत उनले हालै कालिका नगरपालिका ८ स्थित आधारभूत विद्यालय देवीटारका ५० जना विद्यार्थी भाइबहिनीका लागि शैक्षिक सामग्री वितरण गरिन् । उसो त उनले सो विद्यालयमा शैक्षिक सामग्री तथा झोला वितरण गरेको नै पाँचौँपटक हो । 
 
विद्यालयका प्रधानाध्यापक अर्जुनप्रसाद रिजाल भन्छन्, ‘यस विद्यालयमा १६२ विपन्न तथा गरिब विद्यार्थी पढ्छन् । स्टेशनरी तथा शैक्षिक सामग्री सबैलाई आवश्यक परिरहेकै हुन्छ । लता बैनीले विद्यार्थीको समस्या बुझेर पटकपटक शैक्षिक सामग्री वितरण गर्छिन् ।’ यस्तै परोपकारी सोच युवामा आइदिने हो भने समाज विकास हुन बेर नलाग्ने उनी बताउँछन् । 
 
तीन वर्षअघि एन्जल्स फाउण्डेसन स्थापना गरी लताले आफ्नै पाकेट खर्चमार्फत् बालबालिकालाई सहयोग गर्दै आइरहेकी छन् । उनी भन्छिन्, ‘विपन्न बालबालिका देख्दा उनीहरुलाई पनि आफूलाई जस्तै लेख्न, पढ्न रहर लाग्दो हो भन्ने सोच्छु अनि जसरी भए पनि सहयोग गर्छु ।’
 
कंकाली माविमा प्राथमिक तह र नेशनल बोर्डिङ स्कुल, पर्साबाट एसएलसी उत्तीर्ण गर्दा उनले घरबाट खाजा खान दिएको पैसा साथीहरुलाई किताब कापी किन्न र भोकभोकै रहेका बालबालिकालाई टन्न खुवाउनमै खर्च गरिन् । 
 
बाबु नारायण सिलवाल भन्छन्, ‘सानैदेखि बालबच्चासँग घुलमिल हुने, मानवीय भावना र करुणाका कारण गाउँभरिका बच्चाहरु उनीसँग झुम्मिन्छन् । दुःखीहरुको दुःख देख्नै नसक्ने स्वभावका कारण सामाजिक सेवामा उनको रुचि छ ।’
 
उनी भन्छन्, ‘छोरीको स्वभाव बुझेर एउटा संस्था खोलिदिएको छु । उनले चाहेको बेला विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण हुँदै आएको छ ।’
 
आफ्नै पकेट खर्च तथा परिवार र आफन्तले दिएको पैसाबाटै मानवीय सहयोग गर्न थालेपछि अहिले लताको घरपरिवार तथा विदेशमा रहने आफन्तजनले उनको अभियानमा सहयोग गर्न थालेका छन् । 
 
सिलवाल परिवारका उनी साइँली छोरी हुन् । उनका एउटा दाजु छन् । दुई दिदीको बिहे भइसकेको छ । सबैजना युरोप अमेरिकामै जमिसकेका छन् । आमाबुबा र एक बहिनीका साथ चैनपुरमा बस्दै आएकी उनको सेवा भावनाले परिवारका सबै खुसी छन् ।  
 
बाबु नारायण भन्छन्, ‘छोरीले बिहे गर्न पनि मान्दिनन् । सामाजिक सेवा भनेपछि मरिहत्ते गर्छिन् । अब हाम्रो खुसी पनि उनकै इच्छा पूरा गराउनेमात्र हो ।’
मानवीय सेवा गर्दा मन प्रसन्न हुने लता बताउँछिन् । उनी भन्छिन्, ‘परोपकार जति ठूलो धर्म अरु केहीमा छैन, बाँचौँ र बचाऔँ भन्ने भावनाका साथ अघि बढ्ने हो । जीवनभर सामाजिक कर्म गर्ने नै रहर छ ।’ 
 
‘परिवारमा राम्रो ठाउँमा बिहे गरिदेओस् भन्ने छ । मेरो रहर भने सामाजिक क्षेत्रमै सेवा गर्ने छ’, उनी भन्छिन्, ‘मेरा लागि बालबालिकाको लागि सेवा गर्नु नै ठूलो हो, अहिले नै बिहे मेरो प्राथमिकतामा परेको छैन ।’ 
 
उनी शैक्षिक सामग्री वितरणका लागि धादिङदेखि मकवानपुरको मनहरीसम्म पुगेकी छन् । पूर्वी चितवनका दर्जनौँ विद्यालयमा उनले शैक्षिक सामग्री, झोला, खाद्यान्न सामग्री तथा पोसाक पु¥याएकी छन् । 
 
देवघाटको वृद्वाश्रममा हरेक वर्ष मातातीर्थ औंशीमा पुग्ने गर्छिन् । देवघाटमा आमाहरुसँग दुःखसुख साँट्दा उनलाई असाध्यै पीडा महसुस हुन्छ । छोराबुहारीले सेवा गर्न छाडेर वृद्वाश्रममा छाड्ने प्रवृत्ति उनलाई कत्ति मन पर्दैन । भन्छिन्, ‘वृद्वाश्रम समाधान होइन रहेछ । जीवनको उत्तराद्र्धमा त परिवारकै सदस्यको पो भूमिका हुनुपर्छ ।’  
 
उनी बालबालिकाका लागि निःशुल्क कोचिङ कक्षा सञ्चालन गर्ने योजनामा छिन् । भन्छिन्, ‘विद्यालय बन्द रहेको बेला र साँझबिहान कोचिङ कक्षा सञ्चालन गर्ने तयारीमा छु । मैले हासिल गरेको शिक्षा बालबालिकाकै हितमा लगाउँदा खुसी लाग्छ । मैले दिन सक्ने कुरा यही नै हो ।’