मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ह्यारी भण्डारीले भने–‘नेपाली समुदायको भाग्य बनाउन चुनाव उठेको हुँ’ (भिडियो सहित)

ह्यारी भण्डारीले भने–‘नेपाली समुदायको भाग्य बनाउन चुनाव उठेको हुँ’ (भिडियो सहित)


हिमालयखवर संवाददाता
ड्यालस (टेक्सस) – अमेरिकाको मेरिल्याण्ड विधान सभामा डेमोक्रेटिक पार्टीको तर्फबाट प्रारम्भिक चरणको प्रतिस्पर्धामा रहेका ह्यारी भण्डारी नेपाली समुदायको भाग्य निर्माण गर्न आफु लागिरहेको उल्लेख गरेका छन् ।
 
आइतबार टेक्ससको ड्यालसमा आयोजित अन्तरकृया कार्यक्रममा भण्डारीले भविष्यको अनुमान गर्ने नभै नेपाली समुदायका लागि भविष्य बनाउन आफ्नो उम्मेदवारी रहेको बताए । ‘म हाम्रो समुदायको भविष्यको पूर्वानुमान होइन, भविष्य आफैँले बनाउनुपर्छ भनेर यो अभियानमा अघि बढेको हुँ,’ नेपाली समुदायसँग भने । 
 
गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको मेनस्ट्रिम इन्ट्रिगे्रेसन कमिटीको संयोजनमा भएको अन्तरकृया कार्यक्रममा भण्डारीले आफु १३ वर्ष अघि अमेरिका आउँदादेखि अहिलेसम्मको उतारचढावका बारेमा बताएका थिए । ‘मेरो अमेरिकी यात्रा पनि लगेज र सपनासँगै सुरु भएको थियो, सुरुमा मैले पनि धेरै वर्ष ग्याँस स्टेशनमा काम गरेँ । हाम्रो समुदायको उपस्थिती देखाउनका लागि म अमेरिकाको मुलधारको राजनीतिमा लागेको हुँ,’ उनले भने ।
 
पश्चिम नेपालको पर्वत जिल्लामा जन्मेका भण्डारीले मेरिल्याण्ड विधान सभा–८ मा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार हुन प्रारम्भिक चुनावमा प्रतिस्पर्धा गरिरहेका छन् । मेरिल्याण्ड विधान सभाको उम्मेदवार हुन उनले आउँदो जुन २६ मा हुने डेमोक्रेटिक पार्टीको प्रारम्भिक चुनाव जित्नुपर्ने हुन्छ । जुन २६ को चुनाव जितेमा उनी आउँदो नोभेम्बरमा हुने विधान सभा चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।
 
यसपटक आपूm विजयी हुनेमा भण्डारी आशावादी छन् । ‘हामीले हा¥यौँ भने हाम्रो पुस्तालेनै हार्छ, त्यसैले यसपटक हामीले जग बसाल्दैछौँ,’ उपस्थित नेपाली समुदायका अगुवाहरुसँगको अन्तरकृयामा उनले भने । नेपालीमुलका मानिसहरुको स्थायित्वका लागि पनि अमेरिकाको सबै ठाउँबाट राजनीतिको मुलधारमा आउन जरुरी रहेको उनले औँल्याए । 
 
‘अमेरिकामा नेपाली समुदाय पछि परियो भने अमेरिकी ड्रिम पछि पर्छ, हामीले अमेरिकी सरकार समक्ष यो कुरा भन्न सक्नुपर्छ,’ उनले भने ।
 
कार्यक्रममा एनआरएन अमेरिकाका बोर्ड अफ डाइरेक्टर डा. अर्जुन बञ्जाडेले नेपालीहरु जुन ठाउँमा बसेका छन् त्यहीको स्थानीय राजनीतिमा सकृय हुन जरुरी रहेको ठहर गरेर एनआरएनले सहयोगका लागि कमिटी गठन गरेको उल्लेख गरे । उनले अमेरिकामा नेपालीमुलका बाबुआमाबाट जन्मेका बाहेक ३१ हजार ८ सय ४८ ले न्याचुरलाइजेसनको माध्यमबाट नागरिकता लिइसकेको जानकारी दिए । 
 
यही जन्मेका २५ हजार समेत गरि अमेरिकामा ५० देखि ६० हजारको हाराहारीले नागरिकता लिइसकेको हुँदा स्थानीय राजनीतिमा पनि नेपालीहरु अब अघि आउन जरुरी रहेको उनले उल्लेख गरे ।
 
डा. बञ्जाडेद्वारा प्रस्तुत विवरण अनुसार अमेरिकामा ग्रीनकार्ड प्राप्त नेपालीहरुको संख्या ९० हजार ८ सय रहेको र पाँचवर्षमा नागरिकताको लागि आवेदन गर्न सकिने प्रावधानले गर्दा नागरिकता लिनेको संख्या आगामी दिनमा अझै बढ्ने अवस्था छ ।
 
कार्यक्रममा एनआरएन अमेरिकाजका क्षेत्रीय संयोजक गौरीराज जोशी, एनआरएन आइसिसीका सल्लाहकार हरिबोल भण्डारी, एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनिल साह, टेक्सस च्याप्टरका अध्यक्ष भानु खरेल, नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापा, तरुण पौडेल लगायतले ह्यारी भण्डारीलाई जिताउनका लागि नेपाली समुदायहरु लाग्नुपर्ने आवश्यकतामा जोड दिएका थिए । 
 
अन्तरकृया कार्यक्रमपछि भण्डारीको चुनावी अभियानका लागि अर्थ संकलन कार्यक्रम समेत आयोजना गरिएको थियो । त्यस अवसरमा ११ हजार ३ सय २७ डलर संकलन भएको थियो । नगद, चेक, गोफण्ड, क्रेडिट कार्ड मार्फत उक्त रकम संकलन भएको हो । 
 
भण्डारीको सहयोगार्थ सबैभन्दा बढी रकमको सहयोग एनआरएन अमेरिकाजका क्षेत्रीय संयोजक गौरीराज जोशीले गरेका छन् । जोशीले दुईहजार पाँचसय डलर सहयोग गरेका छन् । 
 
ड्यालसका थुप्रै व्यक्ति तथा संस्थाहरुले भण्डारीको चुनावी अभियानका लागि स्वस्फूर्त रुपमा सहयोग घोषणा गरेका थिए । 
 
चुनावी अभियानका लागि एकलाख ७० हजार डलर आवश्यक पर्ने भण्डारीले जनाएका छन् । अमेरिकामा चन्दा दिनका लागि यहीको नागरिकता वा पिआर प्राप्त व्यक्ति हुनुपर्छ ।