विचार / ब्लग

छोराछोरी पिटेर अमेरिकामा जेल नभोगौँ

6034 पटक पढिएको

– रामचन्द्र भट्ट

हिमालय खबर | 2nd May 2018, Wednesday | २०७५ बैशाख १९, बुधवार ०७:०७
‘छोराको पाखुरामा हानेको एक थप्पड मेरा निम्ति जीवनभरिकै सबैभन्दा महंगो र पीडादायक सावित भयो,’ एक मित्रले गत साता सुनाए । उनी सितिमिति कोहीसँग पनि खुलेर कुरा गर्दैनन् । सधैँभरि केही हराएजस्तो, केही गुमाएजस्तो उनको अनुहारले देखाउँथ्यो । 
 
‘के भयो र त्यस्तो ?’ मैले जिज्ञासा राखेँ । 
 
लामो सुस्केरा हाले उनले । निकै बेरपछि बोल्न सुरु गरे । ‘त्यो दिन बिहान बाबुलाई स्कुल पठाउने तयारी गर्दैथिए । उसलाई पिउनको लागि दुध ठिक पारेँ मैलै । स्कुलबस आउने बेला भैसकेको थियो । उसले दुध पिउन भन्दा मोबाइलफोनमा खेल्नतिर ध्यान दियो,’ उनी भन्दैगए–‘मलाई रिस उठ्यो । ‘छिटो दुध पिउ, बस आउने बेला भैसक्यो’ भन्दै पाखुरामा एक थप्पड हानेँ । उ रुँदै मैले पिटेको कुरा स्कुलमा भन्दिन्छु भन्दै दुध पियो ।’
 
आधा घण्टापछि अपार्टमेन्टको ढोकामा कसैले ढकढकायो । उनकी पत्नीले ढोका खोलिदिइन् । स्कुल गएको छोरा फर्केको रहेछ । ‘बाहिर सरहरु आउनुभएको छ, जानुस् अरे,’ छोराले भनिनसक्दै पुलिसहरु अपार्टमेन्टमा प्रवेश गरे । 
 
‘तिमीले छोरालाई कुटेछौ । अब हामीसँग हिड्’ भन्दै पुलिसले दुबै हात पछिल्तिर लगेर हतकडी लगाए । खुट्टामा समेत साङ्ग्लो बाँधे । 
 
‘यहाँको कानुन कति कडा रहेछ भन्ने कुरा बल्ल थाहा पाउँदैछु । मेरो छोराको कुरा पुरै सुनुवाई भयो । मैले दुध नखाएको हुनालेमात्र खेलाँची गरेर एक पटक बिस्तारै पिटेको हो भन्दा पनि उनीहरुले मलाई छाडेनन्,’ ती साथीले सुनाए ।
 
उनी एक साता जेल परे । छोराको मायाँले गर्दा हानेको एक थप्पडले उनलाई अमेरिकी जेलको नमिठो अनुभव भोग्न वाध्य गरायो । 
 
नेपालबाट आएको एक वर्षमात्र भएको थियो । भरखरै काम सुरु गरेका थिए । कसरी टिक्ने भन्नेमै समस्या भएको बेलामा जेल जानुपरेपछि कस्तो होला ? नत भाषानै राम्रोसँग बुझिन्छ ? नत कानुननै थाहा छ । 
 
नेपालमा बाउ–आमाले जसरी आपूmलाई हप्काई दप्काई गरेर र कुनैबेला काम बिगार्दा दुईचार थप्पड हानेर हुर्किएका मेरा ती साथीले सात बर्षिय छोरालाई हानेको एक थप्पड निकै महंगो पर्न गयो ।
 
जेलमा पुग्नुभन्दा पहिलेनै बच्चा लिनका लागि भनेर चाइल्ड केयर अफिसबाट मानिसहरु जम्मा भैसकेका रहेछन् । ‘बच्चालाई तिमीले राम्रो हेरविचार गरेका रहेनछौँ । बच्चालाई पिट्न पाइदैन । 
 
तिमीले बच्चालाई पिटेछौ, अब तिम्रो बच्चा हामी लैजान्छौँ,’ उनीहरुले भनेको कुरा अहिलेसम्म ती साथीको दिमागमा ताजै छ ।
 
आपूmबाट गल्ती भएको स्विकार गरे उनले । अबदेखि नपिट्ने भन्दै छोरालाई त फिर्ता पाए । 
 
जेल परेको कुरा एकजना आफन्त बाहेक कसैलाई थाहा भएन । अहिले पनि धेरैलाई उनी त्यसरी जेल परेका थिए भन्ने कुरा सहकर्मी, अरु नेपाली समुदायका धेरैलाई जानकारी छैन । 
 
‘मेरो बाबालाई ल्याइदे, नभए म पनि स्कुल आउँदिन’ भनेर छोराले स्कुलमा भनेपछिमात्र तेस्रो दिन उनी जेलबाट छुटे । तर महंगो धरौटीमा । 
 
दुईहजार पाँचसय डलर धरौटीमा उनी छुटे । तर हरेक महिना बालबालिकालाई कस्तो व्यबहार गर्नुपर्छ ? के के गर्नुपर्छ भन्ने बारेमा उनले क्लास लिनुपर्छ । ४५ मिनेटको त्यो क्लास लिन उनले काममा छुट्टी लिएर ४५ मिनेट ड्राइभिङ गरेर पुग्नुपर्छ । क्लास लिन नगएमा भने फेरि जेल जानुपर्छ । 
 
फेरि अर्को पटक छोरामाथि हात हालेमा नेपाल फर्काउने (डिपोर्टेशन) हुनेगरि उनलाई यसपटक अदालतले सफाइ दिएको छ । तर यो घटनाको पीडा उनले पाइला पाइलामा भोगिरहनुपर्नेछ । 
 
अमेरिकाको पश्चिमी राज्य नेभेडामा एक नेपाली पिएचडीका लागि आएका थिए । छोरीले चकचक गरेपछि उनले एक थप्पड गालामा हाने । तर त्यही थप्पड उनका लागि तीन दिन जेल बस्ने कारक बन्यो । 
 
पिएचडीको छात्रवृत्ति झण्डैझण्डै गुमेको अवस्था भयो । नेपाली समुदायको ठूलो प्रयासपछि उन त्यो संकटबाट मुक्त त भए । तर त्यो घटनाले गर्दा उनले अहिले पनि पाइला पाइलामा हैरानी भोगिरहनु परेको छ । तीन महिनासम्म छोरीलाई कस्तो व्यबहार गरिरहेको छ भनेर अरु मान्छे घरमा जाँच गर्न आउँथे । 
 
अमेरिकामा छोराछोरी हुर्काउन त्यति सहज छैन । जतिसुकै बदमासी गरेपनि सहनुको विकल्प हुँदैन बाबुआमासँग । त्यसैले त बदमासी नगरुन् भनेर पहिलेदेखिनै आफूसँग जहाँ पनि लैजाने, किनमेल गर्न, मानिससँग घुलमिल, व्यबहार गर्न सिकाउने गरिन्छ । 
 
तर नेपाली समुदायमा भने बाहिर निकाल्दा जाडो, गर्मीले बच्चा बिरामी हुन्छ भनेर लिएर हिँड्ने चलन छैन । जसले गर्दा सानैदेखि धेरै कुरा सिक्नबाट बंचित हुन्छन् । जब बाहिर निस्कन पाउँछन् अनि चकचके हुन्छन् ।
 
नेपाल जस्तै ठानेर भरखरै आएका बाउआमाले बच्चाले भनेको नमानेमा कुट्ने, लछारपछार गर्ने, गाली गर्ने गर्छन् । तर त्यसो गर्नु यहाँको कानुनको दृष्टिमा बच्चामाथिको हिंसा हो । अमेरिकी कानुनमा कुनैपनि हिंसा स्विकार्य छैन । 
 
यहाँ बालबालिकालाई स्कुलमा आपतकालिन अवस्था, कसैले दुव्र्यबहार गर्दा, कसैले कुट्दा ९११ मा कल गर्न सिकाइएको हुन्छ । घरमा परिवारका सदस्यहरुबाट समेत आफूमाथि दुव्र्यबहार भएमा त्यो नम्बरमा कल गर्न सिकाइन्छ । त्यसले गर्दा बालबालिकाहरुसँग व्यबहार गर्दा बडो संवेदनशील हुन जरुरी हुन्छ । आपूmले जन्माएको छोराछोरी त हुन् नि भन्दैमा कुटपिट, गाली गर्न पाइदैन ।
 
बालबालिकालाई कसरी व्यबहार गर्ने भन्ने कुरा नजान्दा नेपालीहरुले अनाहकमा दुख पाएका धेरै कथाव्यथासँग परिचित छन् नेपाली समाज टेक्ससका पूर्ब अध्यक्ष कृष्ण लामिछाने । ‘बालबालिकालाई प्याट्ट पिट्दा पनि घरमा पुलिसका आएका धेरै घटनाहरु छन् । कति त जेलमै पनि पुगेका छन्,’ उनले भने । हप्तेपिच्छे कोर्टमा हाजिर हुनेगरि छुटेर आएकाहरु पनि छन् । 
 
टेक्ससकै टएकजना नेपाली महिला आप्mनी छोरी बिग्रिइ भनेर सुधार्नका लागि गरेको व्यबहारले उनी लामो समय जेल बस्नुप¥यो । अभिभावकको अनुमति बेगरनै छोरी उसको साथीकोमा बसिछन् ।
 
 दुईदिन पछि आफ्नो अपार्टमेन्टमा आउँदा आमाले गाली गर्दै ‘तँ ..... कहाँ गएकी थिइस् ?’ भन्दै गाली गरेर लखेट्न थालिन् । उनले लखेटेकोमात्र भए त त्यति ठूलो विषय हुनेथिएन । तरकारी काट्दै गरेको अवस्थामा हातमा रहेको त्यही हतियार बोकेर लखेटेको हुँदा तत्काल पुलिस आएर पक्राउ गरे । केही समय जेल बसेर महंगो धरौटीमा उनी छुटिन् । 
 
अमेरिकामा १४ वर्षभन्दा कम उमेरका बालबालिकालाई एक्लै घरमा छोड्न पाइदैन । बालबालिकालाई हेरबिचार गर्ने मानिसको साथमा मात्र घरमा छोड्न पाइन्छ । १६ वर्षभन्दा माथिकालाई मात्र दिनमा छोड्न पाइन्छ । त्यो पनि रातको समयमा एक्लै छाड्न पाइदैन । 
 
बालबालिकालाई कुटपिट र यातना त झनै दण्डनीय कार्य हो अमेरिकी कानुन अनुसार । चाहे माया गरेर कुटिएकै होस् या सुधार्नका लागि । आफ्नै छोराछोरीले गल्ती गर्दा पनि दुईचार झापड हान्न नपाउनु ? भन्ने खालको सोचाई र व्यबहार अमेरिकामा राख्न पाइदैन । 
 
बालबालिकालाई यातना, दुव्र्यबहार गर्नेलाई कस्तो कारवाही हुने भन्ने विषयमा अमेरिकामा राज्यपिच्छेनै फरक फरक कानुनहरु छन् । सामान्यतया बालबालिकालाई यातना दिने, कुटपिट, अङ्गभङ्ग जस्ता कार्य गर्ने माथि कम्तिमा एक वर्षदेखि लिएर जन्मकैदसम्म हुने कानुनी व्यबस्था छ । जस्तो कि, टेक्ससमा बालबालिकालाई यातना दिने, कुट्नेलाई कम्तिमा ६ महिनादेखि लिएर ९९ वर्षसम्म कैद हुने कानुनी व्यबस्था छ । 
 
बालबालिकलाई गर्ने व्यबहारलाई अमेरिकाले असाध्यै महत्व दिएको छ । किनकी बालक अवस्थामा बच्चाहरुको ख्याल गरियो भने त्यसबाट स्वस्थ, निरोगी र सवल नागरिक पैदा हुन्छ । सवल नागरिकबाटै भोलीको सवल देश हुने हुनाले अमेरिकाले बालबालिकाका विषयमा असाध्यै संवेदनशीलता अपनाएको छ । 
 
स्कुलमा शिक्षक, शिक्षिकाहरुले पनि विद्यार्थीलाई कुट्ने, गाली गर्ने भन्ने कुरा कल्पनाभन्दा पनि बाहिरको विषय हो । विद्यार्थीहरुलाई मानसिक रुपमा पढ्नका लागि शिक्षकहरुले दवाव दिन्छन् । तर होमवर्क नगरेको भन्दै कुट्ने, मानसिक यातना दिने काम हुँदैन । जसरी शिक्षकबाट यस्तो व्यबहार हुन्छ अभिभावकबाट, जन्म दिने आमाबाबुबाट पनि सरकारले त्यस्तै व्यबहारको अपेक्षा गरेको हुन्छ । 
 
अमेरिकामा रहेका नेपाली समुदायका अभिभावकहरु, तपाइहरुले पनि चाहे जानाजान होस् या अञ्जानमा आफ्नै बालबालिकालाई पनि हानी हुने गरि कुनै काम नगर्नुहोला । बच्चाहरुलाई हात छोड्ने काम पनि नगर्नुहोला ।
 
बच्चाहरुले ९११ मा फोन गरेर पुलिस बोलाइदिए भने जिन्दगीभरि पछुताउनुपर्ने अवस्था आउनसक्छ । फोन गर्नु पनि पर्दैन स्कुलमा साथीहरु, शिक्षक–शिक्षिकासँगको कुराकानीमा अभिभावकले पिटेको कुरा गरे भनेमात्र पनि मान्नुस तपाइको जीवन नर्कमा धकेलियो । किनकी अमेरिकामा कुनै पनि अपराधमा जेल पर्नु भनेको बाँकी जीवन खोटो सिक्का जस्तै हुनपुग्छ । तसर्थ संयमित होउँ र सभ्य बनौँ, बालबालिकालाई पनि संयमित र सभ्य बनाउँ ।